-विदुर दाहाल
मौसम अकस्मात बदलिन्छ । पानी पर्छ, फेरि घाम लाग्छ । मौसमको भर हुँदैन । जवानी पनि त्यस्तै हो । क्षणभरमै यता–उता पल्टिन्छ । उथलपुथल हुन्छ । त्यसैले, भन्ने गरिन्छ, ‘मौसम र जवानीको भर हुँदैन ।’
केही समय अगाडि डिजिटल प्लेफर्ममा एउटा आलेख पढें, जुन मानिसहरूले रुचाइएको देखिन्थ्यो । ३ हजारदेखि ३५ सय शेयर भएको थियो । आलेखमा समाजमा फैलिएको विकृतिको मूल जड पुरुषलाई ठानिएको थियो । पढ्दापढ्दै मनमा प्रश्न उठ्यो– रक्सी, चुरोट, जुवा, तास वा भ्रष्टाचार आदि केबाट विकृति भित्र्याए ? खुल्दुली लिँदै लेख पढें ।
लेखमा भनिएको थियो– पुरुष परस्त्रीसँग लागे, घर बिग्रियो, समाजमा विकृति आयो । मनले तुरुन्तै प्रतिवाद गर्यो– प्राकृतिक यौनका लागि महिला पनि चाहिन्छ । तर, लेखमा महिलाको पक्ष मौन थियो । दोष मात्र पुरुषलाई थोपरिएको थियो ।
एउटा कोणबाट पुरुष जिम्मेवार हुनु जरुरी छ । जिम्मेवारी पुरुषको मात्र हुँदैन । प्राकृतिक यौनका लागि पुरुष एक्लैले केही गर्न सक्दैन भन्ने कुरा यथार्थ हो ।
सामान्यतः गैरजिम्मेवार पुरुषबाहेक अरू पुरुष आफ्नो घर बिगार्न चाहँदैनन् । उनीहरू सामाजिक जिम्मेवारीले थिचिएका हुन्छन् । रुन र हाँस्नसमेत पटक–पटक सोच्नुपर्छ उसले । कर्तव्य र जिम्मेवारीले थिचिएको पुरुषलाई मात्र यौनका बिषयमा दोष लगाएको अलि सुहाएन ।
पुरुषले चाहँदैमा श्रीमतीबाहेकको यौन सजिलै उपलब्ध हुँदैन । सहमति अनिवार्य हुन्छ । त्यसैले, यौनको सवालमा दोष एकतर्फी लगाउनु असन्तुलित दृष्टिकोण हो । फ्रायडको यौन मनोविज्ञान र मास्लोको आवश्यकता सिद्धान्त सम्झिँदा, यौन मानव जीवनको आधारभूत चाहना हो । महिला र पुरुष दुवैमा जवानीको समयमा यौन चाहना उत्तिकै हुन्छ । प्रस्तुतिमा मात्र फरक हुन्छ– पुरुष आक्रामक, महिला सुषुप्त । फरक त्यत्ति हो ।
पुरुषले जबरजस्ती गर्न सक्छ तर सहमतिबिना शारीरिक सम्पर्क असम्भव हुन्छ । त्यसमा महिलाको पनि जिम्मेवारी हुन्छ । पुरुषको प्रलोभनमा संकेत दिने महिला नै हुन् । एउटी वयस्क माहिला पुरुषजत्तिकै क्षमता र बुद्धि भएकी हुन्छिन् भन्ने ठानिन्छ ।
धेरैजसो अवस्थामा महिलाको भूमिकामा बहस नै हुँदैन । बिदेसिएका श्रीमान्को अनुपस्थितिमा महिलाले आफ्नो यौनिक आवश्यकता पूरा गरेको सन्दर्भचाहिँ आउँदैन । प्रश्न उठाइँदैन । समाजको पुरुषले मात्र घर बिगार्छन्, यौनका मामिलामा पुरुष खराब हुन् भन्ने दृष्टिकोण असन्तुलित छ ।
यौनिक चाहना दुवै लिंगको हो । पुरुष मात्र दिनरात यौन सोचिरहन्छन् भन्नु सत्य होइन । महिला पनि त्यस्तै सोच्छन् । यौनका लागि पुरुष मात्र दोषी भन्ने सोचमा सत्य छैन ।
यौन प्राकृतिक कुरा हो । यसलाई दबाउँदा कुण्ठा र विकृति जन्मिन्छ । पूर्वीय समाजको आदर्श कल्पना गर्ने अनि व्यवहारमा पश्चिमी स्वच्छन्दता देखाउने ! हुनत हाम्रा पूर्वीय दर्शन कृष्ण चरित्र तथा महाभारतमा पनि यौनका रोचक प्रसंग नभएका होइनन् । त्यहाँ पुरुष मात्र दोषी देखिँदैनन् ।
पुरुषलाई सधैं दोषी देख्ने र महिलालाई निर्दोष बनाउने समाजले समाधान होइन, समस्या बढाउँछ । यौनमा सहभागी महिला पनि हुन्छन् । विवाहित वा अविवाहित । तर, समाज पुरुषलाई मात्र दोषी देख्छ । यो अन्याय हो ।
लेखाइको मूल सन्देश यत्ति हो कि यौन सम्बन्ध परस्परिक हुन्छ । एक पक्षलाई दोष लगाएर समस्याको समाधान हुँदैन । यौन सम्बन्ध चेतना, भावना र परिस्थितिसँग जोडिएको हुन्छ । एक पक्षीय दोषारोपणले यो घट्दैन । पुरुष मात्र होइन, महिला पनि त्यत्तिकै जिम्मेवार हुन जरुरी छ यस मामिलामा ।