अरूमा आफू र आफूमा अरू
हुनुको बोध नहुँदै
उम्रँदै, उम्लँदै फैलिइएका तीक्ष्णताले
निम्त्याएको बोझको
भारी बोकेर समयको उकालो चढिरहेको
एउटा मानिस
विश्रामको पर्खाइमा थकित छ ।
कठै ! कथित मनुष्य !
भौँतारिँदै कता हरायो ?
अँध्यारिँदै गरेको कालमा टल्किरहेका
विद्युतीय राता आँखाहरूको नजरमा
मनुष्य स्वयं एउटा बोझ हो ।
‘यही बोझले म मरें भने
मैले तर्ने वैतरणी के अझै बगिरहेको होला ?’
उसको यो निराशाले भरिएको प्रश्न हास्यास्पद छ
तर, उसको वरिपरि हाँस्न सक्ने कोही छैन ।
धुमिलो रातो, कैलो आकाश
हेरेर आफू र आफू जस्तै अरूको
निमोठिएको भूतको सम्झनामा
मूच्र्छा परिरहेको त्यो मानिस पाखण्डी हो ।
(भावशून्य स्वरमा)
‘महोदय !
तपाईंकै छायाले पनि तपाईंप्रति
दया र माया राख्दैन
रातको अँध्यारोमा
छायाको साथ खोज्नु मूर्खता हो ।
एउटै आकारका दुई वस्तु उस्तै देखिँदैमा
उस्तै अर्थ राख्दैनन्
तपाईंले माया गरेर हुर्काएको बच्चाले पनि
तपाईंलाई माया नगर्न सक्छ
यसमा बिलौना गर्नु तपाईंको बोधोपन हो ।
(मानिसलाइ अँध्यारो कोठाभित्र घचेट्दै)
अनि, तपाईंलाई हुनु भनेको के हो थाहा छ ?