२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

कथा : भू. पू. प्रेमिका

२०८२ जेठ १० गते ०६:२०
कथा : भू. पू. प्रेमिका

-सुधीरकुमार सुमन

अस्तिसम्म कति गजल, कथा पोस्ट गर्छस् यार ! तेरो कथा र गजल पढ्दापढ्दा वाक्क लागिसक्यो भनेर म्यासेज गर्ने गथ्र्यो । आज कताकताबाट बाटैमा भेट भयो ।

‘ओहो कथाकार ! कता हिँडिस् ?’, उसले व्यंग्यात्मक शैलीमा सोध्यो ।

‘ह्या, तँ पनि नजिस्का न यार ! कहिलेकाहीँ यसो मनको सन्तोक न हो साहित्य भनेको त । आत्मसन्तुष्टि’, मैले मुसुक्क हाँस्दै जबाफ फर्काएँ ।

‘ल हिँड्, चिया खाँदै गफ गरौंला ।’

उसले चिया अफर गर्‍यो ।

दुवै जना चिया खान रेस्टुराँतिर लागियो ।

उसले फेरि उही कुरा निकाल्यो । ‘साँच्ची, आजकल तेरो कथा पढेर मलाई पनि कथामा चाख लाग्न थालेको छ यार ! आफ्नै भोगाइ जसरी लेख्छस्’, उसले फुरुक्क पार्नेगरी भन्यो ।

‘हैन, तैंले कथा पनि पढ्छस् र भन्या’, मैले पनि पुराना कुरा सम्झाउँदै उसलाई घोचेर भनें ।

‘नजिस्की न मूला ! साँचो भन्या’ हो भन्या’ बरु अब यसो आफ्नो कथा पनि लेख्ने गर । पछि अटोबायोग्राफी निकाल्नुपर्छ ।’

‘हैट्, के कथा छ र हौ मेरो जीवनमा ? केको कथा लेख्नु ?’, मैले जबाफ फर्काएँ ।

‘कथा त खोज्ने हो नि यार ! तेरी त्यो कलेज लाइफमा थिई त ब्ल्याक ब्युटी गल्फ्रेन्ड, तेसैलाई पात्र बना न । आफैंले भोगेका कुराहरू लेख्न पाउँदा अलि जीवन्त पनि लाग्दो हो । काल्पनिक कथा मात्र कति लेख्छस् ?’

‘ह्या, के कुरा गरेको होला ? अब यो बूढेसकालमा आएर कता त्यो तन्नेरी हुँदाकी प्रेमिका सम्झिएर कथा लेख्नु यार ! अब त ती यादहरू पनि मेटिइसके दिल र दिमागबाट’, मैले अल्छी मानेको जसरी जबाफ फर्काएँ ।

‘साँच्ची, कता होली है त्यो काली ? कस्ती भैहोली ? नाति–नातिनाकी धनी भैसकी होली । जे होस्, तिमीहरूको जोडी कलेजमा सबैले रिस गर्ने जोडी थियो यार ! कति त जलेर खरानी नै भए होलान्’, ऊ मलाई विगत सम्झाउन हरतरहको कोसिस गर्दै थियो । सकेसम्म ऊबाट छुट्टिनु नै राम्रो जस्तो ठानेर साथीसँग बिदा मागेर लागें घरतिर ।

बाटोमा जति भुल्न खोजे पनि त्यही साथीले सम्झाइदिएको कालीको याद आएको आयै भयो । एक मनले त भुलिसकेको विगत किन कोट्ट्याउनु ? ब्यर्थै मनलाई सकस मात्र जस्तो नलागेको पनि होइन, तर पनि त्यो कालीको अनुहार मात्र दिमागमा घुमेको जस्तो भयो । हजारपल्ट भुल्न खोज्दा लाखपल्ट सम्झिन्छ रे ! साँच्चिकै त्यस्तै महसुस हुन थाल्यो मलाई ।

हुन पनि खुब राम्री थिई मेरी काली । बदाम जस्ता आँखा, रेशमी कपाल, गुलाफको पत्र जस्ता ओठ, हिमाल जस्ता दन्त लहर । मलाई मात्र होइन, सारा कलेजलाई मोहित पार्नेजस्तो थियो । मसँग लभ पर्दापर्दै पनि ५–७ जनाले पत्र पठाइसकेका थिए । उसलाइ केटाहरूले पठाएको पत्र हेरेर खुब हाँस्ने गथ्र्यौं हामी ।

बिहान कलेज सुरु भएदेखि बेलुकासम्म हामी सँगै हुन्थ्यौं । क्लासमा पनि सरले पढाएका बेला मा म ऊसँग जिस्किरहन्थें । ‘कति चलेको तोर्पे ! खुरुखुरु पढ न’ भनेर कापीले टाउकोमा हान्ने गर्थी । म कहिल्यै सुध्रिने नाम लिन्नथें । म सधैं फेल हुने गर्थें, ऊ टपर थिई क्लासको । सबै कुरामा निपुण थिई काली ।

मलाई माया पनि खुब गर्थी । नोट बनाउन, प्राक्टिकल सिट बनाउन मैले कहिल्यै कलम उचाल्नुपरेन । मेरो सबै काम उसैले गरिदिन्थी । मेरो कलेज जाने ध्येय नै कालीलाई भेट्नु हुन्थ्यो । पढाइ त बालै भएन नि भन्थें बेलाबेला कालीले गाली गर्दा ।

‘म फेल भएर के भो त ? तँ छँदै छस् नि इन्जिनियर । पालिहाल्छेस् नि !’ भनेर जिस्क्याउँथें ।

त्यसो भन्दा ऊ फरक्क फन्केर बाटो लाग्थी । दिनभर फकाउन सास्ती खेप्नुपथ्र्यो । उसो त कालीसँग झगडा गर्दा पनि आनन्द लाग्थ्यो मलाई । उसलाई जिस्क्याउँदा अपार आनन्द आउँथ्यो मनमा ।

‘कति झगडा गर्छस् है मसँग ?’, बेलाबेला ऊ गुनासो सुनाउँथी ।

‘नठोसी त आगो पनि बल्दैन रे यार ! त्यै माथि बुढाबुढीको झगडा परालको आगो’ भन्दै नाक चिमोटिदिन्थें । ऊ मख्ख पर्थी ।

‘यस्तो धेरै माया नगर है काली ! पछि केही तल–माथि परेर छुट्नुपर्‍यो भने गाह्रो हुन्छ नि फेरि’, मैले एक दिन ठट्टैठट्टामा भनेको थिएँ ।

‘के रे ? छुट्टिने रे ? बरु पानी बग्न छाड्ला, हावा बहन छाड्ला, आकाश र ताराको सम्बन्ध टुट्ला, म तँलाई कहिल्यै मबाट टाढा हुन दिने छैन बुझिस् ?’, ऊ मेरो छातीमा मुन्टो राखेर बडो भावुक भएकी थिई त्यो दिन । छुट्टिने कल्पनाले म पनि बडो दुखी हुने गर्थें । कालीको त झन् कमलो मन, कस्तो हुँदो हो ?

राति कालीको आवाज नसुनी निद्रा नलाग्ने अर्को रोग थपिएको थियो । कालीलाई पनि निद्रा लाग्थेन अरे भन्थी । बेलुका कालीको ‘हेल्लो’ सुन्नका लागि १ रुपैयाँ हुँदा पनि फोन घुमाउँथें । त्यही १ रुपैयाँमा करिब १ मिनेट गफ गर्दा पनि संसारको सबैभन्दा धेरै खुसी भेटिएको जस्तो हुन्थ्यो ।

हुनत मैलेभन्दा धेरै फोन कालीले नै गर्थी । कुनै बेला दुवैको मोबाइलमा ब्यालेन्स नहुँदा पनि होस्टलको साथीको मोबाइलबाट ‘गुड नाइट’ भन्नका लागि पनि फोन गर्ने गर्थी ।

हरेक शनिबार घुम्न जान्थ्यौं हामी । कहिले पशुपतिमाथिको जंगल, कहिले गोदावरी । कहिले स्वयम्भूको डाँडा । हरेक मन्दिरहरूमा आँखा चिम्म गरेर के–के मागेको जस्तो गर्थी । मलाई पनि उसले जे–जे गरी, त्यही गर भनेर अह्राउँथी ।

‘ह्या, म त कम्युनिस्ट, नास्तिक मान्छे’ भनेर हावामा उडाइदिन्थें ।

‘हेर तोर्पे, तैंले भगवान्लाई हेला गरेका कारण नै हाम्रो पिरती छुट्यो भने म तँलाई जिउँदो छाड्दिनँ बुझिस’, एक दिन त्यसो भन्दा उसले नराम्रोसँग धम्क्याएकी थिई मलाई ।

‘म त अहिले पनि मृत नै त छु नि यार ! मेरो आत्मा त तँभित्र छ । यो शरीर त केवल रोबोट जस्तै भएको छ’, मैले उत्तर फर्काएको थिएँ उसलाई ।

बाटोमा कालीका बारेमा सोच्दासोच्दा कति बेला घर आइपुगेछ, पत्तै भएन । छोरा–बुहारी अस्ट्रेलियावासी भएपछि उजाड बनेको घरमा हामी श्रीमान्–श्रीमती र नाति मात्र थियौं । नाति पनि लैजान्छु भन्दै थिए, मेरै करकापले छाडेर गएका ।

घरभित्र पस्दा पनि कालीको सम्झनाले छाडेको थिएन मलाई । एक मन त त्यो कालीको याद दिलाइदिने साथी सम्झेर खुब रिस उठेको थियो । अर्को मन कथा लेख्दिम् क्या हो कालीसँगको पिरतीको भन्ने पनि सोचिरहेको थिएँ ।

मन खुब बिचलित भएको थियो । श्रीमतीले टेबलमा चिया राख्दा पो झसंग भएँ । कल्पनामा पो हराउन थालिएछ ! कालीको यादले आक्रान्त पारेछ । यो बुढेसकालमा तन्नेरी हुँदाको दिन सम्झिँदा मन पनि आनन्ददायक हुँदो रहेछ कता–कता ।

बेलुका खाना खाएर श्रीमती र नाति सुत्न हिँडे । मचाहिँ साँच्चिकै हाम्रो प्रेम कहानी अक्षरले लेख्न तम्सिएँ । कल्पना गरेको जस्तो सजिलो नहुँदो रहेछ आफ्नै कहानी लेख्दा । कहिलेकाहीँ मन खुसी हुन्थ्यो, कहिले दुखी हुन्थ्यो । कनीकुथी सम्झेकोजति क्षणलाई टिपोट बनाएँ । भोलि फूलबुट्टा भरेर कथा बनाउनुपर्ला सोचेर डायरी बैठक कोठामा नै छाडेर म पनि सुत्नतर्फ लागें ।

राति धेरै बेरसम्म बसेको हुनाले होला, बिहान ८ बजेतिर मात्र निद्रा खुल्यो । आँखा मिच्दै बाहिर निस्किएँ । नाति केटो त चिरिच्याट्ट परेर बसेको रहेछ ।

‘हैन केटा ! कताको साइत हो ? आज बिदा छ क्या हो ?कता जान लाइस् एकाबिहानै ?’, त्यो बालकलाई मैले एकैचोटि धेरै प्रश्न सोधें ।

‘हजुरआमाले भन्नुभा’को अब हामी हजुरआमाको माइतमा गएर बस्ने अरे ! हजुर मात्र यो घरमा बस्ने अरे ! अब स्कुल पनि उतै भर्ना गरिदिने अरे !’ नातिले एकै सासमा सबै कुरा सुनायो ।

मैले सरसर्ती बैठक कोठामा आँखा डुलाएँ । मेरो हिजोको डायरी टेबलमा थिएन ।

‘खोइ त तेरी हजुरआमा ?’, मेरो मुखबाट एकैचोटि प्रश्न फुस्कियो ।

‘हजुरआमा त कोठामा कपडा लगाउन जानुभा’को छ ।’

उत्तर सकिन नपाउँदै म कोठामा छिरिसकेको थिएँ । भित्र मेरी गोरी कालीको कहानी पढेर सुँक्सुकाउँदै थिइन् ।

ADV

सम्बन्धित खबर