– गोविन्दबहादुर कुँवर
म हाम्रा बा आमाका पाँच सन्तान मध्ये म दोस्री हुँ । मेरा एक दाइ, दुई बहिनी र एक भाइ छन् । उनीहरुको सुख दुःखको आ–आफ्नै रमाइलो संसार छ । मेरो पनि आफ्नै संसार छ, तर मेरो संसार अरुको जस्तो रंगीन छैन । अझ मेरो संंसारमा त सेतो र कालो बाहेक अरु रंग नै छैन । सेतो भन्दा नि कालो रंग बढ्ता छ भन्दा पनि हुन्छ ।
हजुर आमाहरुको पालामा ८/१० वर्षमै बिहे हुन्थ्यो रे । आमाहरुका पालामा १२/१५ हुन्थ्यो रे । छोरी पर नसर्दै कन्यादान गरेमा धेरै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वास थियो रे । बाल विवाहमा लगाइएको प्रतिबन्ध र शैक्षिक चेतनाको फलस्वरुप आज भोलि बिहेबारी बीस वर्ष पारी भन्छन् । मेरो विवाह पनि बीस वर्षको उमेरमा भयो । मेरो मागी विवाह हो । मलाई मेरै फुपु दिदीले माग्नु भएको हो । मेरो फुपु र केटाको मामाघर एकै ठाउँमा रहेछ । आफ्नै दिदी माग्न आएपछि बाले सजिलै मलाई दिनु भएको थियो ।
दिदीले गरेको कुरामा बालाई विश्वास नहुने कुरा भएन । विवाह अघि हामीले एक अर्कालाई देख्न पाएनौ । हाम्रा अविभाकहरुले त्यो आवश्यक ठान्नु भएन । म बाआमाको आँगनबाट अन्मिएर एक दिन पराइको घर गएँ ।
उमेरले पखेटा लगाउँदै गए पछि मेरो मनमा घर संसारका अनेकन रंगीन सपनाहरु थिए । सानो चिटिक्क परेको घर थियो । कमलको फूलजस्ता नानी र बाबु थिए । शितल छहारीजस्ता सासु आमा र ससुरा बा थिए । पैसाको कमी भए पनि मनको धनी मायालु जीवन साथी थिए । पराइ घरमा मेरा दिनहरु बित्न थाले । सुरु सुरुमा अग्घोर अतेर लागे पनि पछि पछि बानी पर्दै गयो ।
हामी छोरी मान्छेलाई सानैदेखि, “एक दिन तैँले यो घर छोडेर जानुपर्छ”, भनेर सम्झाइएको हुन्छ । मानसिक तयारी गराइएको हुन्छ । त्यसलाई वाध्यताको रुपमा स्वीकार्नु बाहेक अरु विकल्प सामान्यता हुँदैन ।
घर सजिलै थियो । छरछिमेकमा पनि मजस्तै मेरै उमेरका छोरी बुहारीहरु थिए । उनीहरुसँग मेलापात, घाँस दाउरा गर्दा रमाइलो हुन्थ्यो । हाँस खेल गरिन्थ्यो । वनपात जाँदा साथीहरु मिलेर सुख दुःखका, माया प्रीतिका गीत गाउँथ्यौँ । हामी बुहारीहरु त माइतीलाई सम्झेर पनि गीत गाउँथ्यौँ । सबैको भावना उस्तै हुन्थ्यो ।
उनको सानैदेखि रक्सी खाने बानी रहेछ । मैले कति सम्झाए र छुटाउने प्रयास गरेँ । म कति रुन्थेँ, रिसाउँथे, कहिले भोकै पनि सुत्थेँ उनको मन पग्लन्छ कि भनेर । तर, म सफल हुन सकिनँ । नानीदेखि लागेको बानी एक/दुई दिन छोडे पनि फेरि खाइहाल्थे । मेरो केही लागेन । मैले हार खाएँ र जेसुकै होस् भनेर कराउन छोडेँ । तैपनि जिन्दगी ठिकठिकै चलिरहेको थियो । मैले जिन्दगीसित सम्झौता गरेकी थिएँ । आफूले आफैँलाई चित्त बुझाएकी थिएँ ।
बिहे गरेको पाँच वर्षपछि हाम्री छोरी जन्मिन् । म आमा बनें । यतिन्जेल सन्तान नहुँदा कता–कता मलाई सियोले चस्स–चस्स घोचेजस्तो पनि हुन्थ्यो कहिलेकाँही । कतै सन्तान नहुने त हैनन् भनेर पीरजस्तो पनि लाग्थ्यो कहिले त । पतिका कारण सन्तान नभए पनि पत्नीलाई नै दोषी ठहर्याउँछ, हाम्रो समाज । मसँगै बिहे भएर आएका धेरैजसो दिदी बहिनी आमा बनिसकेका थिए ।
आमा हुनको खुसी र गौरव बोधले जस्तै प्रसव वेदना पनि सहन गर्ने शक्ति प्राप्त हुँदो रहेछ । यो मैले आफैँले अनुभव गरेँ । मैले प्राकृतिक रुपले नै छोरीलाई जन्म दिएँ । म सुत्केरी भएको केही दिन पछि, उनी बिरामी भए । उपचार गरे पछि केही ठीक हुन्थ्यो, फेरि उस्तै हुन्थ्यो । यो क्रम चली रह्यो ।
पछि स्थानीय अस्पतालकोे सिफारिसमा उनलाई काठमाडौंको शिक्षण अस्पतालमा लगियो । ससुराबाले लिएर जानुभयो । शिक्षण र टेकु अस्पतालमा गरी दुई महिना उनलाई अस्पतालमा भर्ना गरेर राखियो ।
निको भएर घर आएको केही समय पछि उनले भने, ‘मेरो कारणले घरमा ऋण लाग्यो । म अब पैसा कमाउन जान्छु । छोरीको पनि भविष्य हेर्न पर्यो ।’
मैले, नजानूस् यहीँ दुख गरेर बाख्रा पाठा पालेर, खेतीपाती गरेर भए पनि कमाउँला भनेँ । बुबा आमा पनि बृद्ध हुनहुन्छ । बालखा छोरी लिएर म कसरी बस्न सक्छु र ? भनेर धेरै सम्झाएँ । तर, उनले मेरा कुरा सुनेनन् । सासू ससूराले उनलाई टीका लगाएर छिटै आएस् भनेर आशिष दिँदै विदा दिनुभयो ।
उनी गएको केही हप्तापछि मलाई ससुराबाले भन्नु भयो, “बुहारी तिमी पनि एकफेर शिक्षण अस्पताल जाऊ । आफ्नो र नातिनीको स्वास्थ्य परीक्षण गरेर आऊ ।”
हामी भालिपल्टै साइत गरेर गयौँ । शिक्षण अस्पताल गएर स्वास्थ्य परीक्षण गरायौँ । दूर्भाग्य ! हामी आमा छोरी दुबैमा नै एचआइभी पोजिटिभ देखियो ।
मैले कथम् आफूलाई एचआइभी पोजिटिभ भएपनि छोरीलाई नहोस् भनेर कति पुकारेँ भगवानलाई ! तर, छोरीलाई पनि एचआइभी पोजिटिभ भएको सुने पछि मैले मानसिक सन्तुलन नै गुमाउन पुगेको थिएँ । मलाई मैले टेकेको जमिन नै भासिएको आभाष भएको थियो । मलाई आफ्नो भन्दा पनि छोरीको पीरले सतायो ।
मेरा सबै सपनाहरु काँचको सिसाजस्तै चकनाचुर भए । तर, छोरीका लागि भए पनि म बाँच्नु थियो । त्यो दिन सम्झँदा आज पनि मेरो मुटु भक्कानिएर आउँछ । उनी कमाउन भनेर हिँडेको पनि एक दशक बढी भैसकेको छ । यो अवधिमा न उनी आए, न उनको केही पत्तो खबर आयो । अब त उनी फर्केर आउलान् भन्ने आशा पनि लाग्न छोडिसकेको छ तर, आँखा साँझ परे पछि एक पटक तगेरा तिर नहेरी घरभित्र पस्न मान्दैनन् ।
उनी बिहे नहुँदै संक्रमित रहेछन् र सायद आफ्नो पोल खुल्ने डरले घरबाट भागेका रहेछन् । उनलाई मेरो र समाजको अगाडि मुख देखाउन पनि लाज लाग्यो होला । उनी सायद पश्चातापले पिल्सिएका थिए की !
एकातिर उनकै कारण एचआइभी संक्रमित जीवन बाँच्नुपरेको छ भने अर्काेतिर सँगै बाँच्ने सँगै मर्ने बाचा तोडेर, मलाई एक्लै छोडेर हिँडिदिँदा मेरो जिन्दगी झनै दुरुह र कष्टकर भएको छ । दोहोरो धोका खानेमा परेकी छु म । एकल, त्यसमाथि एचआइभी संक्रमित महिलालाई समाजले कसरी हेरेको छ र कुन स्थानमा मलाई राखेको होला तपाईँहरु आफैँ सोच्न र अनुमान गर्न सक्नुहुन्छ । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । पहिलो जुनीमा मैले पाप गरेको भएर त्यो पापको सँजाय आज आएर भोग्दैछु । यस्तो पनि लाग्यो कति दिनसम्म त मलाई ।
मेरा छिमेकी र साथीसंगी आफन्तले एचआइभी पोजिटिभ हो भन्ने थाहा पाए पछि म र मेरी नानुलाई कति लाञ्छना लगाए र भेदभाव गरे । त्यो पीडाबाट आजसम्म पनि मुक्ति पाउन सकिएको छैन ।
अब त बानी पनि परिसक्यो । बिस्तारै समाजमा पनि परिवर्तन आएको छ । सचेतना बढेको छ, पहिलेको तुलनामा केही सहजता पनि महसुस भएको छ ।
मलाई अनन्तः दुख छ, तर कुनै अपराधबोध भने छैन । मेरा कारणले म संक्रमित भएको हैन । मैले छोरीलाई संक्रमित बनाएको पनि हैन । मलाई यत्ति थाहा छ, म छोरीका लागि पनि बाँच्नु पर्छ । छोरीका लागि मैले संसारका सबै खाले चुनौतीहरुको सामना गर्नुपर्छ । म त्यसका लागि सधैँ तयार रहनेछु । म बा, आमा, फुपु, सासु, ससुरा कसैलाई पनि दोष दिन चाहन्न । उहाँहरु सबैले मेरा भलो नै चाहेको हो ।
मेरी फूपू दिदी मलाई, “त्यो घरमा नबस । मेरो घरमा आऊ म तिमीलाई पाल्छु” ,भन्नुहुन्छ । उहाँलाई हुनसम्म पछुतो भएको छ । तर, जेजस्तो भए पनि म कर्म घर छोडेर कहाँ जान सक्छु र ? फेरि म एकलै पनि छैन । आमा बुआको लागि म गर्हुङ्गो बोझ भएकी छु । मैले कुनै दिन उहाँहरुलाई खुसी दिन सकिन ।
मैले एक दिन फोनमा कुरा गरिन भने आमा रुनुहुन्छ । म आमाको कोखीको स्थायी घाउ बनेकी छु । सायद विधताले नै मेरो भाग्यमा यस्तै लेखेको होला भनेर चित्त बुझाउँछु । अरु उपाय पनि के नै छ र ?
बरु मलाईजस्तो अरु कसैलाई नपरोस् भनेर एच आइ भीको सचेतना अभियानमा लाग्ने गरेकी छु । अझै पनि कुनै दिन उनी फर्केर टुप्लक्क घर आउँछन् कि जस्तो लाग्छ । जतिसुकै बैगुन भए पनि, माया त लाग्छ नि । तर, लागेर के गर्नु ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies