दिनेश ठाकुर/मध्यान्ह
नेपालगञ्ज : नेपालगञ्ज महोत्सवमा गायक गोपाल जिएमको प्रस्तुतिले दर्शकहरुले आँशु थाम्न सकेनन् । गायक जिएमको ‘साउदी मेलेसिया’ बोलको गीतमा दर्शकहरु रोएका थिए । स्टेजमा चढ्ने बित्तिकै वाहवाही पाएका गायक जिएमले विदेश गएका छोराहरुको सम्झनामा गीत गाएपछि महोत्सवका दर्शक रोकएका हुन् ।
महोत्सवमा उनले ‘नेपालगञ्ज घुमाउँछु कि धनगढी घुमाउँछु’, ‘माया गर्छु सक्कली विश्वास गर नक्कली’लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको गीतमा नेपालगञ्ज महोत्सवका दर्शकहरु झुमी झुमी नाचेका थिए ।
गायक संजिव सिंह राणाले ‘ए मेरो मामा’, ‘लुकी लुकी हेर्ने बानी परेको’, ‘मुग्लीनको बाटोमा धुलो उडाउँदै’लगायतका गीत गाएका थिए भने सि.ए. साउदले विभिन्न नेताहरुको क्यारिकेचर, प्रस्तुत गरेका थिए ।
महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतिसँगै स्थानीय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुति रहेको थियो । महोत्सवमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, विभिन्न थारु परिकारका स्वाद लिन सकिनेलगायतका विभिन्न मनोरञ्जन लिन सकिने संयोजक नन्द बुढाले जानकारी दिए । कार्यक्रमको सञ्चालन अनुप बुढा मगर, बर्षा पाण्डे र अशोक रावलले गरेका थिए ।
यस्तै मंगलबार चर्चित गायिका रचना रिमाल, भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवानलगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक टिमका संयोजक बुढाले जानकारी दिए ।
यस्तै महोत्सवमा हरेक दिन हुने प्रदेशस्तरीय डान्स आइडल प्रतियोगितामा संस्कृति शर्मा प्रथम भएकी छिन् । यस्तै गृष्मा राणा दोस्रो, सुस्मिता शर्मा तेस्रो र पोनिता सुनार चौथो भएका छन् । प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३०, २०, १० र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
काठमाडौं : विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् ।
सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनौट भएको थियो । निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् ।
‘विश्वका दर्शकहरुको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो । अब हामी घरेलु दर्शकको पनि प्रतिक्रियाका लागि उत्सुक छौं । त्यसैले नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले फिल्म सार्वजनिक प्रदर्शन गर्ने निर्णय गरेका छौँ ,’ निर्माता पोखरेलले भने ।
निर्देशक फिडेल देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘ सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो चलचित्र समसामयिक समाजको ऐना पनि हो । यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’
चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।
फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।
दिनेश ठाकुर/मध्यान्ह
नेपालगञ्ज : गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच बीचमा’ गीतले नेपालगञ्ज महोत्सवमा तहल्का मचाएको छ । नेपालगञ्जमा जारी छैटौं नेपालगञ्ज महोत्सवको ११औं दिन महोत्सवमा आएका दुर्गेशको प्रस्तुतिले महोत्सवमा रौनकता थपेको थियो । दुर्गेशले महोत्सवमा गाएको ‘भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बीच बीचमा, भाग भाग, जय सम्भु जय सम्भु’लगायतका प्रस्तुतिमा महोत्सवका दर्शकहरु रमाइरमाइ नाचेका थिए ।
गायक चन्द्र शर्माले गाएको चर्चित गीत 'बाच्छीले धान खायो'मा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवमा दुर्गेशसहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । आइतबार महोत्सवमा आएका चर्चित अभिनेता सौगात मल्ल, हास्य कलाकार कमलमणि नेपाललगायतले एक पछि एक बेजोड प्रस्तुति दिएपछि महोत्सवका दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए ।
यस्तै सोमवार चर्चित गायक गोपाल नेपाल जीएम, गायिका तथा उद्घोषिका शोभा त्रीपाठी र मंगलबार चर्चित गायिका रचना रिमाल, भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवानलगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी दिए । यस्तै महोत्सवमा हरेक दिन प्रदेशस्तरीय डान्स आइडल प्रतियोगिता तथा सगरमाथा डान्स ग्रुपको समेत बजोड प्रस्तुति रहने संयोजक बुढाले बताए ।
काठमाडौं : चर्चित गायक निर्मलराज पौडेल १५ वर्षपछि पुन: गायनमै फर्किएका छन् । उनको गायनमा पुनरागमन ‘छम्म नाचौं, छप्प नाचौं’ बोलको गीतबाट भएको हो । श्रव्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायाँकन गरिएको छ । विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
गीतमा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिष्ट, गम्भीर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका पौडेल एडगुरु नामले समेत परिचित छन् । उनको यो पछिल्लो गीतमा निर्मलराज पौडेलको शब्द तथा स्वर, मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायाँकन तथा माधव थापाले छायाँकन तथा व्यवस्थापन गरेका छन् ।
पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले संगीत दिएका छन् । ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा शुरु गरेका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उनका ह्याप्पी लाइफ, सलल बगेको गण्डकीलगायतका गीतहरु चर्चित छन् ।
हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा तथा क्षेत्रप्रति आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक प्रकाशन गरेका थिए ।
काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रो जय होस्’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सही कुमार तामाङको शब्द, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।
प्रभात पल ठकुरी, त्रिशना छेत्री, रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’मा नरेन्द्र कुमार सिंहको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन, जीवन शाहीको कथा निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ ।
काठमाडौं : ‘मोडल हन्ट नेपाल २०२३’को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौंमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेलतर्फको उपाधि चुमेका हुन् ।
शुक्रबार साँझ होटल सोल्टीमा आयोजित एक समारोहका बीच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणापहेली फष्ट रनरअप र शौनाक मल्ल सेकेन्ड रनरअप बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअप र मोनिका बुढाथोकी सेकेन्ड रनरअप घोषित भए ।
नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगितामा मोस्ट पपुलर छिरिङ फुंस्टोक गुरुङ र मोनिका बुढाथोकी, फोटो जेनिक रिया मेहता र सोहज खान, कमर्सियल मोडल लक्की राणापहेली र क्रिस्टिना ढुंगाना, पब्लिक च्वाइस रोनिश खड्गी र सहारा केसी, बेष्टवाक आवाज कार्की र सुजल बम, मोस्ट स्टाइलिस लिसा बर्नवाल, आंसुतोष थापा, बेष्ट पर्सनालिटी सुनिल अधिकारी र अनिसा मैनाली, फिटनेश मोडल रोनिश खड्गी, बेष्ट फिगर मेधना श्रेष्ठ भए । प्रतियोगितामा स्पेशन रिकगननेसन अवार्ड सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी)ले प्राप्त गरे ।
प्रतियोगिताको यो आठौं संस्करण हो । प्रशान्त ताम्राकार (अभिनेता, कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सोफिया भुजेल (मिस युनिभर्स २०२२), समर्पण कार्की (मिष्टर नेपाल २०२३) र मदन रौनियार (प्रवन्ध निर्देशक जोय पपाय) यो संस्करणको निर्णायकमा रहेका थिए ।
दक्ष तथा अनुभवी विभिन्न प्रशिक्षकबाट व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन, ग्रुमिङ क्लास लगायत प्रशिक्षणसहित प्रतियोगी फाइनल प्रस्तिस्पर्धामा उत्रिएका थिए ।
स्वदेश तथा विदेशका विभिन्न प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताका विजेतामध्ये मेल रोनिशले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्नेछन् भने फिमेल आयुष्माले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्नेछिन् । दुवै विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरका अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गरेको आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
फेसनमय वातावरणमा विभिन्न सांगीतिक तामझामसहित आयोजित प्रतियोगिताको क्रेज युवायुवतीमा बढ्दो रहेकाले आगामी वर्षमा पनि यो प्रतियोगिताले निरन्तरता पाउने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपालमा स्थापित र सक्रिय ब्याण्डहरूमध्ये चर्चित 'स्त्री ब्याण्ड'ले कतारमा धमाका मच्चाएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको 'न्यु इयर धमाका'मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुतिले धमाका मच्चाएको हो ।
आफ्नो सांगीतिक प्रस्तुति दिन पहिलो पटक कतार आइपुगेको ब्याण्डले बिहीबार रातिदेखि बिहान २ बजेसम्म प्रस्तुति दिएको थियो । अंग्रेजी, नेपाली तथा हिन्दी भाषामा चर्चित गीत प्रस्तुत गरेको ब्याण्डको प्रस्तुतिमा उपस्थित नेपाली तथा विदेशी नागरिक झुमेका थिए । ब्याण्डको मेन भोकलिष्टमा निशा खपाङ्गि, ड्रमर विमला गुरुङ, लिड गिटारिष्ट इसा विश्वकर्मा, रिदम गिटारिस्ट मुस्कान चौगुठि र बेस गिटारिष्टमा रेनु श्याङ्बो रहेका छन् ।
ब्याण्डले आज शुक्रवार साँझ र आउँदो आइतबार साँझ पनि प्रस्तुति दिने तालिका रहेको कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए । कार्यक्रमका लागि दिउसो दिउँसो ४ बजेबाट ढोका खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । महिलाका लागि निःशुल्क र पुरुषका लागि कतारी रियाल ५० प्रवेश शुल्क लाग्ने अर्यालले जानकारी दिए ।
तिलु शर्मा पौडेल
दोहा कतार
नेपालमा स्थापित र सक्रिय ब्याण्डहरूमा परिचित नाम हो 'स्त्री ब्याण्ड' । यो ब्याण्डको विशेषता भनेकै भोकलिष्टदेखि गितारिष्ट र ड्रमर सबै युवती रहनु हो । नेपालसहित भारतका केही शहरमा आफ्नो प्रस्तुतिद्वारा धमाका मच्चाएको यो ब्याण्ड आफ्नो सांगीतिक प्रस्तुति दिन पहिलो पटक कतार आइपुगेको छ । ब्याण्डको मेन भोकलिष्टमा निशा खपाङ्गि, ड्रमर विमला गुरुङ, लिड गितारिष्ट इसा विश्वकर्मा, रिदम गितारिष्ट मुस्कान चौगुठि र बेस गितारिष्ट रेनु श्याङ्बो रहेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एण्ड बारले आयोजना गरेको "न्यु एयर धमाका"मा ब्याण्डले आफ्नो प्रस्तुति दिने भएको हो । आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेको ब्याण्डले बिहीबार, शुक्रबार साँझ र आइतबार साँझ गरी तीन दिन प्रस्तुति दिने कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
आज बिहीबार साँझ हुने कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ l महिलाका लागी निःशुल्क र पुरुषका लागी कतारी रियाल ५० प्रवेश शुल्क लाग्ने जानकारी अर्यालले दिए । उनीहरूको स्वागतका लागि कतारको हमाद विमानस्थलमा क्लब सञ्चालक रमेश केसी सहित सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : गायक जीवन विसीको स्वर रहेको ‘आखिर किन दिल तोडेउ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘रानी म्युजिक सोलेशन’ युट्युब च्यानलमार्फत बुधवार सार्वजनिक गरिएको हो ।
गीतको शब्द जाजरकोटका सिद्धार्थ रोयल ठकुरीले कोरेका छन् भने गीतमा संगीत जीवन विसी तथा एरेन्ज विशाल निरौलाको छ । भिडियाे सन्तोष शर्माले खिचेका हुन् भने भिडियोको सम्पादन विष्णु भट्टराईले गरेका हुन् ।
जीवन खड्काको कथा एवम् निर्देशनमा तयार भएको भिडियोमा श्याम घर्ती मगर, जीवन खड्का र गिया कुँवरको अभिनय रहेको छ । उक्त गीतमा विसाल निरौलाको मिक्सिङ रहेको छ । भिडियाेमा माया प्रेममा धोका पाएको कुराहरु समेटिएको छ । सिद्धार्थ रोयल ठकुरीको यो पहिलो गीत हाे ।
‘यसमा मायाप्रेममा बिछोड भएको कुराहरु समेटिएको छ,’ शाहीले भने, ‘यो गीतले मायाप्रेममा बिछोड आमदर्शक श्रोतामा जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ ।' जाजरकोटकाे शिवालयमा हुर्केका ठकुरी सानैदेखि गीत, गजल, मुक्तक र भावनाहरु लेख्ने गर्थे । साहित्यिक लेखनमा सानैदेखि उनको हुटहुटी थियो ।
हेर्नुहोस् भिडियो :
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : आगामी बिहीबारदेखि शुरु हुने बृहत् दोलखा महोत्सव २०८० मा नेपालका चर्चित गायक गायिका तथा कलाकारहरुको प्रस्तुति हुने भएको छ ।
उद्योग वाणिज्य संघ दोलखाको आयोजनामा शुरु हुन लागेको महोत्सवमा सांगीतिक मनोरञ्जनका लागि कलाकारहरु मिलन नेवार, राजनराज सिवाकोटी, एलिना चौहाल, प्रिती आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाईं, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउतलगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरुको प्रस्तुति र विविधि सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।
सदरमुकाम चरिकोटस्थित रंगशालामा आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष जोड दिइएको छ । महोत्सवका लागि करिब डेढ सय स्टल बुकिङ भइसकेको छ । महोत्सव नजिकिँदै गर्दा सदरमुकाम चरिकोटलाई बेहुली झैं सिंगारिएको छ भने प्रचारप्रसारलाई तीव्र पारिएको छ । महोत्सव पुस २२ गतेसम्म चल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies