काठमाडौं : वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’को जनचेतनामूलक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त म्युजिक भिडियोको सार्वजनिक गरिएको हो । कलाकार नारद खतिवडाले सामाजिक संजालमा बजाएर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरे ।
कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको वर्तमान अवस्था, त्यसले परिवारमा ल्याउने खुसी र निराशा जस्ता विषयलाई समेटिएको जानकारी दिए ।
उनले भने, ‘गीतमा सरकारलाई गाली गरेको मात्र छैन, निराशावादी नहोऔं, सरकारलाई गाली मात्र नगरौं, छोरो विदेश गयो, बर्बाद भयो मात्र नभनौं, अब समृद्धि हुन्छ, त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण हुन्छ भन्ने म्युजिक भिडियोको अवधारणा छ ।’
कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन् । म्युजिक भिडियोमा गीतकार ढकालसहित नारद खतिवडा, दीपेन्द्र खत्री, डिजराज पौडेल, मञ्जु श्रेष्ठ, आरोभ कार्कीलगायतको अभिनय छ ।
गीतकार ढकालले ‘छोरो गयो परदेश’ आफ्नो पहिलो कोसेलीका रूपमा ल्याएको भन्दै त्यसमा संस्थागत रूपमा बोर्डको लगानी र जिम्मेवारी नरहेको बताए । उनले म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन आग्रहसमेत गरे ।
गीतकार ढकालले वैदेशिक रोजगारीमा वर्तमान अवस्थामा देखिएका समस्या र नकारात्मक धारणामा सुधार गरेर भरपर्दाे र विश्वसनीय बनाई वैदेशिक रोजगारीमा आर्जन गरेको सीप, पुँजी र प्रविधिलाई सदुपयोग गरेर विदेशीहरू रोजगारी खोज्दै नेपाल आउने अवस्थाको सिर्जना गर्नुपर्नेमा जोड दिए ।