२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

संगीत आकाशमा चम्किएकी निशा

shivam cement
अस्मिता बम
२०८१ फागुन १६ गते २३:०५
Shares
 संगीत आकाशमा चम्किएकी निशा

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको हिट्स एफएम म्युजिक अवार्ड कार्यक्रममा एक समूहसँगै गीत गाइरहेकी १६ वर्षे ठिटी, जो अग्रपंक्तिमा उभिएर गाइरहेका गायकहरूलाई हेर्दै सोच्छिन्, ‘कुनै दिन म पनि चर्चित गायिका बन्छु, यसैगरी स्टेजमा उक्लिएर गीत गाउँछु र अवार्ड हातमा लिन्छु ।’

२०५७ सालको त्यो सोचलाई सोचमा सीमित नराखी हाल नेपाली गीत संगीतका क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी ती ठिटीको नाम हो– निशा देशार । 

२०४१ सालमा ललितपुरको चापागाउँमा जन्मिएकी निशाको पारिवारिक वातावरण पनि सांगितिक नै थियो । त्यस कारण पनि उनलाई यस क्षेत्रमा आउन असहज थिएन । आफ्नै काकाको छत्रछायामा संगीत साधना गरेर त्यही माहोलमा हुर्किएकाले उनको मन र मस्तिष्कमा सानैबाट संगीत थियो र संगीतमै लागेर चिनिन्छु भन्ने अठोट पनि ।

‘मेरा बाजे, बुबा, काका संगीत क्षेत्रमै हुनुहुन्थ्यो । त्यही माहोलमा हुर्किएको भएर यसमा आउन गाह्रो भएन र टिकिरहन मैले धैर्य गर्न सकें’, उनी भन्छिन् । 

गजल र गीतले फेरिएको जीवन

सानै उमेरदेखि गीत–संगीत क्षेत्रमा लागेकी निशाले लामो समय नेपाल भाषाका गीत र भजनहरू गाइन् । २०५८ सालमा व्यावसायिक तवरले गीत रेकर्ड गराइसकेको पनि उनी बताउँछिन् । नेवाः समुदायमा चलिसकेकी गायिका बनिसकेकी उनले त्यसबाटै २०६५ सालमा ‘इमेज अवार्ड’ हात पार्न सफल भइन् । 

लगत्तै २०६६ सालमा राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा भाग लिई देवदत्त भट्टका शब्द र पूर्ण परियारको संगीतमा रहेको ‘छुटौं भन्छौ छुट भैगो, तिमी मेरो होइनौ भने’ बोलको आधुनिक गीत गाएर प्रथम भइन् । यसपछि उनको स्वरको चर्चा नेवाः समुदायमा सीमित रहेन । उनको स्वरका प्रशंसक बढे र धेरै अग्रज कलाकारले रुचाए उनको स्वर ।

तिनैमध्येका एक थिए, संगीतकार गैरे सुरेश, जसको भेट भएको थियो निशाका श्रीमान् युमाश शेर्पासँग । शेर्पा मनोरञ्जन विधामा कलम चलाउने पत्रकार हुन् । त्यस कारण उनको सम्बन्ध कलाकारसँग राम्रै रहेको निशा बताउँछिन् ।

सोही भेटका क्रममा शेर्पाले गैरेलाई सोधेका थिए, ‘निशालाई चिन्नुहुन्छ ?’ गैरेले पनि सहजै उत्तर दिएका थिए, ‘ए चिन्छु । यसपालि रेडियोमा फस्र्ट हुनुभा’ रै’छ ।’

यसपछि शेर्पाले निशा आफ्नी श्रीमती भएको कुरा गैरेलाई बताए । बताइसकेपछि निशालाई भेट्टाउन उनले आग्रह गरे र भेटे पनि ।

निशासँगको पहिलो भेटमै गैरेले पुरुषको स्वरतर्फ दीपक लिम्बूले गाइसकेको गजल ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ सुनाए र सोधे, ‘कस्तो लाग्यो ?’ उत्तरमा निशाले ‘ठीकै’ भनिन् ।

यसैबीच गैरेले सोही गीतमा महिलातर्फको स्वर भर्न निशालाई प्रस्ताव राखे । उनले नाइँ भनिनन् । बिनातयारी, बिनाअभ्यास र अलिअलि मनमा डर बोकेर निशा पुगिन् ‘ए वान म्युजिक स्टुडियो ।’

हार्मोनियममा १–२ पटक अभ्यास गरेपछि उनको रेकर्डिङ सुरु भयो । ‘नेपाली गीत त्यति धेरै गाइसकेकी थिइनँ । त्यसमा पनि गजल । फरक धार, लय फरक, संगीत फरक । सक्छु कि सक्दिनँ भन्ने द्विविधा थियो, मनमा डर थियो तर आत्मविश्वास पनि थियो । स्टुडियो गएँ, गजल रेकर्ड भयो । कस्तो पो गाए भन्ने पीरमा थिएँ’, निशाले गजलयात्राको पहिलो कदमबारे सुनाइन् । त्यस दिन उनको भोक र निद्रा पनि उडेको उनी सम्झिन्छिन् । 

रेकर्डिङको केही समयपछि गजल बजारमा आयो । रेडियोको त्यो जमानामा निशाको गजलले स्थान बनायो र उनलाई गजल गायनको क्षेत्रमा उदीयमान गायिकाको नामले चिनायो । 

बजारमा उनको स्वरका प्रसंशक मात्र होइन, श्रोता पनि बढे । हरेक रेडियोमा, कार्यक्रममा गुञ्जिन थाल्यो निशाको स्वर । यसैबाट उनले सुगम संगीत र गजललाई प्राथमिकता दिने प्रतिबद्धता आफैंसँग गरिन् । उनलाई गजल गायनको लत लागिसकेको महसुस पनि भएको थियो । 

त्यही वर्ष डा. कृष्णहरि बरालको शब्द र गैरेकै संगीतमा रहेको अर्को गजल ‘जमाना खराब छ’को अफरलाई पनि निशाले टार्न सकिनन्, गाइन् । यो पनि हिट रह्यो । ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’बाट सुरु भएको निशाको गजलयात्रा गीत र गजलहरूको संग्रह ‘लोकार्पण’सम्म पुग्यो । बिस्तारै दर्जनौं एल्बम र गीत बजारमा आइरहे र उनी नेपालको गायन क्षेत्रकी एक नक्षत्र नै बनेकी छन् अहिले । 

‘आधुनिकताले छुन नसकेकी गायिका’

सुगम संगीतमा गाउने राम्रा गायिकामध्येकी एक हुन्, निशा । उनको गायनलाई गजलले चिनाएको भए पनि पछिल्लो समय नेवाः समुदायका उनका गीत युट्युबको ट्रेन्डिङमै पर्छन् । उसो त उनले नेपाल भाषाकै गीतबाट आफ्नो यात्रा सुरु गरेकी हुन् । तर, अहिलेको समयमा उनलाई आफ्नो भाषा, संस्कृतिले बढी छोएको देखिन्छ । अहिले ‘बजार तताउने’ गीतमा भने आफ्नो रुचि कम भएको उनी बताउँछिन् । 

‘नाच्ने खालका गीतहरू स्टेज परफर्मेन्सका लागि राम्रा मानिन्छन् र दर्शकको रुचिमा पनि पर्छन् । मैले पनि एकचोटि ट्राई गरेकी थिएँ तर आफैंलाई नगाऊँनगाऊँ लाग्यो’, उनले भनिन् । त्यस्ता खालका गीत आफ्नो स्वरमा नसुहाएको महसुस हुने उनको भनाइ छ । 

योसँगै आफूले गाउने गीतको संगीत, लय मात्र नभई शब्द पनि छान्नुपर्ने उनको स्वभाव छ । भन्छिन्, ‘जस्तो त्यस्तो शब्द भएको गीत, अलि उत्ताउलो खालको गीत गाउन मन लाग्दैन । गीत गाउँदा शब्द पनि ध्यान दिन्छु ।’

पछिल्लो समय आफ्नो भाषा र संस्कृतिलाई जोगाउन नेवाः समुदायका गीतलाई प्राथमिकता दिने गरेको उनी बताउँछिन् । साथै, आगामी दिनमा नेवाः संस्कृतिबारे गहन अध्ययन गरेर लोप हुन लागेका भाका, बाजा र कलालाई उजागर गर्ने उनको सोच छ । संगीत क्षेत्रको अभ्यासलाई कायम राखेर नेपाली गीत–संगीतलाई अझै उचाइमा पु¥याउने लगनमा उनी छन् ।

 


 

सम्बन्धित खबर