वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको हिट्स एफएम म्युजिक अवार्ड कार्यक्रममा एक समूहसँगै गीत गाइरहेकी १६ वर्षे ठिटी, जो अग्रपंक्तिमा उभिएर गाइरहेका गायकहरूलाई हेर्दै सोच्छिन्, ‘कुनै दिन म पनि चर्चित गायिका बन्छु, यसैगरी स्टेजमा उक्लिएर गीत गाउँछु र अवार्ड हातमा लिन्छु ।’
२०५७ सालको त्यो सोचलाई सोचमा सीमित नराखी हाल नेपाली गीत संगीतका क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी ती ठिटीको नाम हो– निशा देशार ।
२०४१ सालमा ललितपुरको चापागाउँमा जन्मिएकी निशाको पारिवारिक वातावरण पनि सांगितिक नै थियो । त्यस कारण पनि उनलाई यस क्षेत्रमा आउन असहज थिएन । आफ्नै काकाको छत्रछायामा संगीत साधना गरेर त्यही माहोलमा हुर्किएकाले उनको मन र मस्तिष्कमा सानैबाट संगीत थियो र संगीतमै लागेर चिनिन्छु भन्ने अठोट पनि ।
‘मेरा बाजे, बुबा, काका संगीत क्षेत्रमै हुनुहुन्थ्यो । त्यही माहोलमा हुर्किएको भएर यसमा आउन गाह्रो भएन र टिकिरहन मैले धैर्य गर्न सकें’, उनी भन्छिन् ।
गजल र गीतले फेरिएको जीवन
सानै उमेरदेखि गीत–संगीत क्षेत्रमा लागेकी निशाले लामो समय नेपाल भाषाका गीत र भजनहरू गाइन् । २०५८ सालमा व्यावसायिक तवरले गीत रेकर्ड गराइसकेको पनि उनी बताउँछिन् । नेवाः समुदायमा चलिसकेकी गायिका बनिसकेकी उनले त्यसबाटै २०६५ सालमा ‘इमेज अवार्ड’ हात पार्न सफल भइन् ।
लगत्तै २०६६ सालमा राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा भाग लिई देवदत्त भट्टका शब्द र पूर्ण परियारको संगीतमा रहेको ‘छुटौं भन्छौ छुट भैगो, तिमी मेरो होइनौ भने’ बोलको आधुनिक गीत गाएर प्रथम भइन् । यसपछि उनको स्वरको चर्चा नेवाः समुदायमा सीमित रहेन । उनको स्वरका प्रशंसक बढे र धेरै अग्रज कलाकारले रुचाए उनको स्वर ।
तिनैमध्येका एक थिए, संगीतकार गैरे सुरेश, जसको भेट भएको थियो निशाका श्रीमान् युमाश शेर्पासँग । शेर्पा मनोरञ्जन विधामा कलम चलाउने पत्रकार हुन् । त्यस कारण उनको सम्बन्ध कलाकारसँग राम्रै रहेको निशा बताउँछिन् ।
सोही भेटका क्रममा शेर्पाले गैरेलाई सोधेका थिए, ‘निशालाई चिन्नुहुन्छ ?’ गैरेले पनि सहजै उत्तर दिएका थिए, ‘ए चिन्छु । यसपालि रेडियोमा फस्र्ट हुनुभा’ रै’छ ।’
यसपछि शेर्पाले निशा आफ्नी श्रीमती भएको कुरा गैरेलाई बताए । बताइसकेपछि निशालाई भेट्टाउन उनले आग्रह गरे र भेटे पनि ।
निशासँगको पहिलो भेटमै गैरेले पुरुषको स्वरतर्फ दीपक लिम्बूले गाइसकेको गजल ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ सुनाए र सोधे, ‘कस्तो लाग्यो ?’ उत्तरमा निशाले ‘ठीकै’ भनिन् ।
यसैबीच गैरेले सोही गीतमा महिलातर्फको स्वर भर्न निशालाई प्रस्ताव राखे । उनले नाइँ भनिनन् । बिनातयारी, बिनाअभ्यास र अलिअलि मनमा डर बोकेर निशा पुगिन् ‘ए वान म्युजिक स्टुडियो ।’
हार्मोनियममा १–२ पटक अभ्यास गरेपछि उनको रेकर्डिङ सुरु भयो । ‘नेपाली गीत त्यति धेरै गाइसकेकी थिइनँ । त्यसमा पनि गजल । फरक धार, लय फरक, संगीत फरक । सक्छु कि सक्दिनँ भन्ने द्विविधा थियो, मनमा डर थियो तर आत्मविश्वास पनि थियो । स्टुडियो गएँ, गजल रेकर्ड भयो । कस्तो पो गाए भन्ने पीरमा थिएँ’, निशाले गजलयात्राको पहिलो कदमबारे सुनाइन् । त्यस दिन उनको भोक र निद्रा पनि उडेको उनी सम्झिन्छिन् ।
रेकर्डिङको केही समयपछि गजल बजारमा आयो । रेडियोको त्यो जमानामा निशाको गजलले स्थान बनायो र उनलाई गजल गायनको क्षेत्रमा उदीयमान गायिकाको नामले चिनायो ।
बजारमा उनको स्वरका प्रसंशक मात्र होइन, श्रोता पनि बढे । हरेक रेडियोमा, कार्यक्रममा गुञ्जिन थाल्यो निशाको स्वर । यसैबाट उनले सुगम संगीत र गजललाई प्राथमिकता दिने प्रतिबद्धता आफैंसँग गरिन् । उनलाई गजल गायनको लत लागिसकेको महसुस पनि भएको थियो ।
त्यही वर्ष डा. कृष्णहरि बरालको शब्द र गैरेकै संगीतमा रहेको अर्को गजल ‘जमाना खराब छ’को अफरलाई पनि निशाले टार्न सकिनन्, गाइन् । यो पनि हिट रह्यो । ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’बाट सुरु भएको निशाको गजलयात्रा गीत र गजलहरूको संग्रह ‘लोकार्पण’सम्म पुग्यो । बिस्तारै दर्जनौं एल्बम र गीत बजारमा आइरहे र उनी नेपालको गायन क्षेत्रकी एक नक्षत्र नै बनेकी छन् अहिले ।
‘आधुनिकताले छुन नसकेकी गायिका’
सुगम संगीतमा गाउने राम्रा गायिकामध्येकी एक हुन्, निशा । उनको गायनलाई गजलले चिनाएको भए पनि पछिल्लो समय नेवाः समुदायका उनका गीत युट्युबको ट्रेन्डिङमै पर्छन् । उसो त उनले नेपाल भाषाकै गीतबाट आफ्नो यात्रा सुरु गरेकी हुन् । तर, अहिलेको समयमा उनलाई आफ्नो भाषा, संस्कृतिले बढी छोएको देखिन्छ । अहिले ‘बजार तताउने’ गीतमा भने आफ्नो रुचि कम भएको उनी बताउँछिन् ।
‘नाच्ने खालका गीतहरू स्टेज परफर्मेन्सका लागि राम्रा मानिन्छन् र दर्शकको रुचिमा पनि पर्छन् । मैले पनि एकचोटि ट्राई गरेकी थिएँ तर आफैंलाई नगाऊँनगाऊँ लाग्यो’, उनले भनिन् । त्यस्ता खालका गीत आफ्नो स्वरमा नसुहाएको महसुस हुने उनको भनाइ छ ।
योसँगै आफूले गाउने गीतको संगीत, लय मात्र नभई शब्द पनि छान्नुपर्ने उनको स्वभाव छ । भन्छिन्, ‘जस्तो त्यस्तो शब्द भएको गीत, अलि उत्ताउलो खालको गीत गाउन मन लाग्दैन । गीत गाउँदा शब्द पनि ध्यान दिन्छु ।’
पछिल्लो समय आफ्नो भाषा र संस्कृतिलाई जोगाउन नेवाः समुदायका गीतलाई प्राथमिकता दिने गरेको उनी बताउँछिन् । साथै, आगामी दिनमा नेवाः संस्कृतिबारे गहन अध्ययन गरेर लोप हुन लागेका भाका, बाजा र कलालाई उजागर गर्ने उनको सोच छ । संगीत क्षेत्रको अभ्यासलाई कायम राखेर नेपाली गीत–संगीतलाई अझै उचाइमा पु¥याउने लगनमा उनी छन् ।