काठमाडौं : नेपाली फुटबल महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा अभिनित चलचित्र अन्जिलाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको ट्रेलर शुक्रबार ओ एसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । एन्जिलाको जीवनीमा आधारित यो चलचित्र नेपाली खेलकुदमा बनेको पहिलो बायोपिक चलचित्र हो ।
यो चलचित्रमा एन्जिलाले राष्ट्रिय टिमको कप्तान हुँदासम्मको कथालाई उतारिएको छ । मिलन चाम्स निर्देशित यस चलचित्रमा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा देखिएकी छिन् ।
सुनिल थापा (रातेकाइँला) कोचको रोलमा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बरालका कलाकार पनि छन् ।
शीर्ष भूमिकामा एन्जिला आफैंले अभिनय गरेकी छिन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।
कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य छ । ‘अन्जिला’ २९ फागुनमा प्रदर्शन हुनेछ ।
एन्जिला हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी छिन् । हाल उनी नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको खेल सकेर ग्रीसतर्फ प्रस्थान गरेकी छन् ।