सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी ठहरिएका शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय आइतबार आयोजित पत्रकार सम्मेलनमा ५२ वर्षीय नुरुल्लाहलाई सार्वजनिक गरिएको छ ।
अपराध क्षेत्रको मास्टर माइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका शेखलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मीपुर बेलविछवा चोक नजिक रहेको नेपाल–भारत सीमावर्ती क्षेत्र भएर भारततर्फ जानेक्रममा आइतबार बिहान १२ बजे पक्राउ गर्न सफल भएको प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको निर्देशनमा सोही स्थानका शेख शेराज, शेख शद्दाम भन्ने खलिउल्लाह तथा भारतीय नागरिक राकेश कुमारले गोली हानी हत्या गरेका थिए । तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी ज्यान सम्बन्धी मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह तथा निजको भाइ खलिउल्लाह फरार रहँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
वृद्ध तैयवको हत्या गराउनमा मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
मुख्य योजनाकार एवं अपराधिक कार्यका कुख्यात पेशेवर अपराधी शेखसहितका व्यक्तिहरु सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घरसम्म ओहोरदोहोर गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएको थियो । सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डीएसपी गिरीले जानकारी दिइन् ।
पक्राउ परेका शेख नुरुल्लाहलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको तथा अदालतबाट ज्यान सम्बन्धी कसुर मुद्दामा न्यायिक हिरासतमा राख्ने अनुमती लिएर थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिइन् । तर खलिउल्लाह भने अझै फरार रहेको हुँदा निजको पनि खोजी कार्य जारी रहेको उनले बताइन् ।
पत्रकारमा प्रहरी उपरीक्षकको रुपमा कार्यभार सम्हालेका दिलिप घिमिरेले जिल्लाबाट अपराधिक कार्यलाई पूर्ण रुपमा निस्तेज बनाइ यहाँको जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने प्रमुख प्राथमिकता रहेको बताए ।
यसैक्रममा कुख्यात अपराधी भनिएका शेख नुरुल्लाहलाई समातिनु पनि एउटा चुनौतीको विषय बनेको थियो, तर उक्त चुनौतीहरु सकिएको हुँदा अपराध गर्नेलाई कानूनी कारबाही गरिने पपिन उनले बताए ।
काठमाडौं : काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।
यसैगरी परियारको साथबाट प्रहरीले रु छ हजार तीन सय ५० तथा बस्नेतको साथबाट रु चार लाख १० हजार नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए । उनले भने, “पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।”
राहुल गुप्ता/मध्यान्ह
बारा : बाराको मटीअर्वा नाकाबाट सशस्त्र प्रहरीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक भवराज कटवालको कमाण्डमा खटिएको टोलीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
कलैया उपमहानगरपालिका वडा नम्बर १० मटीअर्वामा मधेस प्रदेश ०३—०२५ प ३९३६ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा स्रोत नखुलेको भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारा श्रीनगर बैरिया वडा नम्बर ८ हाल पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने ३२ वर्षीय श्यामबाबु सहनी र सोही ठाउँ बस्ने २२ वर्षीय भुलन पटेल रहेको प्रहरीले जनाएको छ । बरामद भएको ९ लाख ५० हजार भारतीय रुपैयाँसहित दुवै जनालाई अवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : हुण्डी कारोबार गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम मलंगवा बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । स्रोत नखुलेको २७ लाख ७५ हजार ६७० रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए ।
पक्राउ पर्नेमा २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् । अन्सारी मानव तस्करी र अवैध सुन कारोबारी समेत रहेको खुलेको प्रहरी स्रोतको भनाइ छ । उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
मनोज साह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले फतुवा विजयपुर नगरपालिकाको भैसही टोलबाट १७ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी दुधिअवाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घरमा खानतलासी गर्ने क्रममा १७ किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो ।
फतुवा विजयपुर नगरपालिका वडा नं. ११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पासवानको घरबाट गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ । बारा बछनपुर्वा स्थायी घर भइ हाल सो स्थानमा बस्दै आएका पासवानको कोठामा प्रहरी टोलीले खानतलासी गर्दा गाँजा फेला परेको रौतहटकी प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
गाँजासहित पासवानलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मीनिया रौतहटमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पासवानविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको छ ।
रौतहट प्रहरीले विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती खोजी खोजी फडानी गरेर नष्ट गर्ने अभियान चलाएको छ । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (क) मा गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्रीवितरण गर्न, निकासी वा पैठारी गर्न, ओसारपसार गर्न, सञ्चय गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।
मनोज साह/मध्यान्ह
रौतहट : रौतहटमा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका वडा नं. १ भोटिया टोलामा घरायसी विवाद हुँदा ३७ वर्षीय श्रीमान तिर्थ वाइवाले ३५ वर्षीया श्रीमती सेती माया तामाङको बुधबार घरेलु हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
श्रीमती तामाङको हत्या गरे पश्चात श्रीमान वाइवाले धारिलो हतियारबाट आफूपनि हत्याको प्रयास गरेका थिए । त्यसपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली घटनास्थलमा पुग्दा सेती मायाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार घाटीमा घरेलु धारिलो हतियार प्रयोग गरी महिलाको हत्या भएको हो ।
श्रीमान वाईवालाई भने प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाएको छ । घाइते वाइवाको सिभिल अस्पताल चन्द्रपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
लामो समयदेखि श्रीमान श्रीमतीबीच घरायसी विवाद हुँदै आएको खुलेको भएपनि घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिसकेकाले अनुसन्धानपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : वीरगञ्जमा लागुऔषध चरेसको खरिदबिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालको पहाडी जिल्लाबाट चरेस ल्याएर वीरगन्ज आइ भारतीयलाई बिक्री गर्ने क्रममा त्यसमा संलग्न एक नेपालीसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चरेस १२ किलो २४० ग्राम र नेपाली नगद २ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ का २९ वर्षीय सुरेश तामाङ, भारतको बिहार राज्यको सिवानका २४ वर्षीय महमद आलम र सिवानकै २२ वर्षीय आरिफ राज रहेका छन् ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार, वीरगन्ज भन्सार नाका क्षेत्रमा पर्ने रजतयन्ती चोकमा इनर्वा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट पैदल आउँदै गरेका आलमलाई स्रोत खुल्न नसकेको नेपाली नगद २ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धान क्रममा आलमले उक्त रकम चरेस खरिदका लागि लिएर आएको बयान प्रहरीलाई दिएका छन् । त्यसपछि प्रहरी वीरगन्जको घण्टाघर चोकस्थित नाारायणी गेष्ट हाउसमा पुगेको थियो । गेष्ट हाउसको १०९ नम्बर कोठामा प्रहरी पुग्दा कोठाभित्र रहेका राजको साथबाट ३ वटा पोकामा रहेको १२ किलो २४० ग्राम चरेश प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले राजलाई चरेससहित नियन्त्रणमा लिएलगत्तै गेष्ट हाउसको अर्को कोठामा रहेका तामाङ झ्यालबाट भाग्न खोज्दा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । तीन तल्ला माथिबाट हाम फालेका तामाङको खुट्टा भाँच्चिएको र प्रहरीको निगरानीमा नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको र थप अनुसन्धान गर्ने क्रममा वीरगञ्ज महानगरपालिका– ८ स्थित नारायणी गेष्ट हाउसबाट सुरेश र आरिफलाई चरेससहित पक्राउ गरिएको र तीन जनालाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको थापाले जानकारी दिए ।
काठमाडौं : प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।
कानूनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा एक सय ९३ जना पक्राउ परेका छन, पक्राउ परेकाबाट रु ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ ।”
पक्राउ पर्ने प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।
काठमाडौं - गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष रहेका न्यौपानेलाई विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार इनसाइड ट्रेडिङमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारण गरी आगामी चैत १५ मा पेश गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ।
विशेष अदालतले आगामी १५ चैतमा उनीहरुमाथि हुने सजाय निर्धारण गरी विगो र जरिवाना समेत तोक्नेछ । कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ विगो माग दावी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाही प्रहरीले दुई भारतीय डाकालाई अमेरिकन पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–६, मगर टोलबाट एक थान अमेरिकन पेस्तोल र ६ राउण्ड गोलीसहित भारतको सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । उनीहरू दुवै भारतीय प्रहरीको ‘मस्ट वान्टेड अपराधी’ को सूचीमा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति पौने ९ बजेतिर सन्नीकुमार र जितेन्द्रको बरहथवास्थित कोठामा प्रहरी पुगेर खानतलासी लिन खोज्दा जितेन्द्रले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर घेरा हालेर दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटनास्थलबाट एक थान अमेरिकन पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन, ६ राउण्ड गोली र फायर भएको गोलीको एक थान खोका बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई पक्राउ गरी सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयतर्फ लैजाँदै गर्दा बसबरिया गाउँपालिका–६, पोखरियाबाट जितेन्द्रकुमार प्रहरीको नियन्त्रणबाट भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई पाँच राउण्ड गोली फायर गरी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । जितेन्द्रको बायाँ घुँडा र दाहिने तिघ्रामा दुई राउण्ड गोली लागेको छ ।
घाइते जितेन्द्रलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात जनकपुर रिफर गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका सन्नीकुमार सिंहलाई भने मंगलबार बिहान पत्रकार सम्मेलन गरी बरामद पेस्तोल र गोलीसहित सार्वजनिक गरिएको छ ।
नरेन्द्र र सन्नीकुमार भारतमा दुई वटा कर्तव्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र एउटा लागुऔषध मुद्दामा फरार अपराधी रहेको प्रहरीले जनाएको छ । नेपाली भूमिमासमेत उनीहरूले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’को रूपमा समेत आएको हुनसक्ने आशंकासहित सूक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies