काठमाडौं : बैंकिङ कसुर मुद्दामा फरार रहेका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले बिहीबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।
गौशाला प्रहरी वृत्तका अनुसार रौतहटको माधव नारायण नगरपालिका–१ का स्थायी बासिन्दा जैसवाल बिहीबार दिउँसो बाटोमा हिँडिरहेका अवस्थामा फेला परेका हुन् । विशेष निगरानी तथा गोप्य सूचनाका आधारमा उनी पक्राउमा परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ अनुमति जारी भएको थियो । फरार रहेका कारण विदेश भाग्न सक्ने जोखिम औंल्याउँदै प्रहरी वृत्त गौशालाअन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विवरण माग गर्दै राहदानी विभागसँग पत्राचार समेत गरेको थियो ।
पक्राउ परेका जैसवाललाई आवश्यक अनुसन्धानपछि अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।