दोलखाः बागमती प्रदेश सरकारले पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख रूपैयाँ दिने भएको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारण सभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गरेका हुन् ।
‘श्रमजीवि पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील छ’, सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री जम्कटेलले भने, ‘त्यसैले श्रमजीवि पत्रकारको सामाजिक सुरक्षा कोषको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गर्छु ।’
मुख्यमन्त्री जम्कट्टेलले उल्लेखित रकम अपुग भए अवश्यकताअनुसार बढाइने आश्वासन दिए । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारण सभा दोलखामा शनिबारसम्म चल्नेछ ।
धनगढीः नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले कैलालीमा प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको नाउपाले विरोध प्रदर्शन गरेको हो । पार्टीले शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको थियो ।
बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ । १३ वर्ष अगाडिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो ।
बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।
मानबहादुर विश्वकर्मा/मध्यान्ह
कालीकोट, २० माघ । तिलागुफा नगरपालिका ५ खल्लागाडमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।
हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ नम्बरको अटो खल्लागाड मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले बताए ।
कर्णाली राजमार्गको जुविथा गाल्जे नाग्म सडकखण्डमा पर्ने खल्लागाड मोडमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा जुम्ला हिमा ६ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको छ । प्रहरीकाअनुसार उनकी पत्नी २९ वर्षीया तारा शाही र ५ वर्षीय छोरा गौरव घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
शव पोस्टमार्टमका लागि जुम्ला पठाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । अटो चालक जुम्ला हिमा ४ का ऐमान बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सोलुखुम्बुः सोलुखुम्बुमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
अस्पतालका अनुसार सोताङ प्राथमिक अस्पतालमा अप्रेशनमार्फत् छोरालाई जन्म दिएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राति नै जिल्ला अस्पताल फाप्लु ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
‘ओ’ नेगेटिभ रगत आवश्यक परेको सुत्केरीलाई सोताङमा उक्त रक्त समूहको रगत नभेटिएपछि जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो ।
महाकुलुङ प्राथमिक अस्पतालको एम्बुलेन्समार्फत् राति नै सोताङबाट फाप्लु ल्याउँदै गर्दा बस्नेतको रक्तश्राव नरोकिए पछि बाटैमा मृत्यु भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । पारिवारिक श्रोतकाअनुसार शिशुको अवस्था भने अहिले सामन्य रहेको छ ।
वीरगञ्जः भालुले आक्रमणबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा पर्साको ठोरी गाउँपालिका ३ रामनगरका बिबिलाल लोप्चन र सुकमाया तामाङ रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन् ।
शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि भालुले आक्रमण गरेको थियो ।
घाइते दम्पतीको नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि पठाइएको छ ।
काठमाडौं : वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ ।
मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो ।
ब्यूरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था (हेल्प क्रस इण्डिया) र नेपालस्थित शान्ति पुनःस्थापना गृहको सहकार्यमा उनीहरुको उद्धार भएको हो ।
उनका अनुसार उद्धार गरिएका अधिकांश ३१ देखि ४० वर्ष उमेर समूहका विवाहित महिला छन् । कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन् । नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन् । ब्यूरोको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बेचविखन तथा ओसापसार भएका दुई सय १४ महिलाको उद्धार गरिएको छ ।
कपिलवस्तु : कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् ।
घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु’, थापाले भनिन्।
सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उनी सुनाउँछिन् । ‘जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु’, उनले भनिन्। लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उनले व्यवसाय सञ्चालन गरेकी हुन् । सुरुआती चरणमा ६ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छिन् । ‘एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे’, उनले भनिन्, ‘अहिले एक्लै उद्योग चलाएकी छु ।’
सालको पातबाट बनाइने दुना-टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उनले बनाएर दुना–टपरी जाने गरेका छन् । हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उनले मेसिनसमेत खरिद गरेकी छिन्।
पूर्व वडासदस्यसमेत रहेर काम गरेकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताइन् । ‘गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते’, उनले विगत सुनाउँदै भन्छिन्, ‘दुना–टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।’
पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उनी आफैँ दङ्ग छिन् । विशेषगरी उनले बनाएका दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।
थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आएकी छिन् । एक सय पातको रु ४० दिने गरेको उनले बताइन् । थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । आफूले दुना–टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उनले बताइन् । आफू जनप्रतिनिधि हुँदा पटक–पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
‘स्थानीयस्तरमा सिकेको सीपलाई प्रोत्साहन गर्ने काम स्थानीय तहले गरेको छैन । दुना–टपरी बनाउँदा चाहिने क्वाइल भारतबाट ल्याउनुपर्छ, स्थानीय सरकारले सहयोग गरे राम्रो हुन्थ्यो’, उनले भनिन्।
बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।
स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उनको जोड छ । प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उनले बाणगङ्गा नगरभित्र रहेका दुना–टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गरिन् । रासस
काठमाडौंः रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।
‘अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले ठूलो योगदान पुर्याएको छ, विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा छ,’ मन्त्री उप्रेतीले भने ।
सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्याउँदै आएको बताउँदै उनले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख बताए ।
रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जङ्गी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताएका थिए । ‘सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ । बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ,’ उनले भने । रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम, २० माघ । जिल्लाको आठबिसकोट नगरपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको चौथो नगर सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न भएको सम्मेलनले देबबहादुर केसीको अध्यक्षतामा २१ सदस्य नगर समिति गठन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा प्रेम चन्द, उपाध्यक्षमा रमेश शाही, उपाध्यक्षमा सुनिता बुढा, सचिवमा लोकेन्द्र शाह रहेका नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए । उनकाअनुसार समितिको सहसचिवमा फलेन्द्र विक, लक्षमण डाँगी, नरेन्द्र खड्का र अर्थसचिवमा ओम केदार रहेका छन् ।
नगर सम्मेलनमा आठबिसकोट नगरपालिकाका नगर प्रमुख रबि केसी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मानबहादुर चनारालगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहमदसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्त श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनकाअनुसार उनीहरुले स्पोट्र्स क्लबको नाममा रहेको साविकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए ।
यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणीसमेत पेश गरेर निर्णय गराएका अख्तियारको दाबी छ । उनीहरुले आफ्नो गलत निर्णय ढाकछोप गर्नका लागि मोठसमेत च्यातेको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies