छोटो समयमै राजनीतिक फड्को मारेका रवि लामिछानेको यात्रामा सर्वोच्च अदालतले रोक लगाएको छ । नागरिकता वैधानिकताको विवादमा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउँदै रविका सबै पद बदर गरिदिएको हो । सर्वोच्चको फैसलापछि रविले महत्वपूर्ण शक्ति गुमाएका छन् । सांसद, पार्टी सभापति र उपप्रधान एवम् गृहमन्त्री पद रविले एकैपटक गुमाएका हुन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले रविलाई प्रतिनिधिसभा सदस्यको उम्मेद्वार हुने योग्यता नभएको फैसला सुनायो । अदालतको फैसलापछि रिक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक नेतृत्व श्रममन्त्री रहेका डोलप्रसाद अर्यालले लिएका छन् । संसदीय दलको नेतामा विराजभक्त महर्जन बनेका छन् । रविलाई भने नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा अगाडि बढाउन सक्ने बाटो खुला भएको छ ।
रविको नागरिकताप्रति परेको मुद्दामा दिइएको फैसालले राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ । गएको असारमा मात्रै गठन भएको रविको पार्टीले अप्रत्यासित मत पाउनु र उनी उपप्रधान एवम् गृहमन्त्रीको हैसियतमा सरकारमा सहभागी हुने अवसर सिर्जना भएकाले पनि सर्वोच्चको फैसलाले मुलुक तरंगित हुन पुगेको हो । रविका समर्थकहरुले शुक्रबारबाटै सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिरहेका छन् । शनिबार पनि उनका समर्थकहरुले राजधानीमा प्रदर्शन गरे । तर सर्वोच्चले बहालवाला गृहमन्त्रीकै पद जानेगरी गरेको यो फैसलाले केही महत्वपूर्ण नजीर स्थापित गरेको छ । मुख्यगरी सर्वोच्चप्रति फेरि विश्वास बढेको छ । किनकि उपप्रधान एवम् गृहमन्त्रीकै पद जानेगरी सर्वोच्चले फैसला गर्नुले नागरिकमा न्याय पाउने विश्वासको वातावरण बन्ने नै भयो । यसअघिका केही मुद्दामा सर्वोच्च विवादित भएकाले पनि यो प्रकरणलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
तर नजीरकै रुपमा स्थापित हुने अर्को सन्देश भने हरेक राजनीतिज्ञ र सार्वजनिक क्षेत्रमा रहेकाले आफ्नो कागजात दुरुस्त राखिरहनुपर्छ भन्ने हो । सानै त्रुटिले पनि भविष्यमा ठूलो असर गर्न सक्छ भन्ने उदाहरणका रुपमा यो फैसला आएको छ । किनभने रविलाई सर्वोच्चले अनागरिक भनेको छैन, बरु प्रक्रिया पूरा गर्न बाँकी देखिएको ठहर गरेको छ । तसर्थ हरेक नागरिकले संविधान र कानून बमोजिम आफ्नो कागजात दुरुस्त राख्ने र नैतिक बनिरहनुपर्ने सन्देश यो फैसलाको अर्थ हो । नेतृत्वलाई त दोहोरो नागरिकताको बहस वा आवश्यकता परे नेपाली नत्र विदेशी हुने प्रवृत्तिलाई पनि निकास दिनुपर्ने सन्देश यो फैसलाले दिएको छ । रविले राजनीतिक भविष्य सुधार्न पक्कै आफ्नो कागजात दुरुस्त बनाउने नै छन्, अरुले पनि त्यसबाट पाठ सिक्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies