काठमाडौं : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०६ औं जन्मजयन्ती मंगलबार विविध कार्यक्रम गरी मनाइँदै छ । कोइरालाको जन्मदिनमा नेपाली कांग्रेसले विविध कार्यक्रम गर्दैछ । १९७१ साल भदौ २४ गते जन्मेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपुर्ण योगदान पुर्याएका छन् ।
२०१५ सालमा भएको आम निर्वाचन पछि १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात आठ वर्ष जेलजीवन बिताएका थिए ।
राजनीतिज्ञ मात्र नभएर साहित्यकारको रुपमा समेत परिचित कोइरालाका दोषीचश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी लगायतका कृति चर्चित छन् ।
काठमाडौं : तीन महिनादेखि फैलिएको डेंगुको संक्रमणबाट देशका विभिन्न स्थानमा तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई हप्ताको विचमा सुनसरी, डोटी र चितवनमा एक–एकजनाको मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगररपालिका–दुईका एकहत्तर वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । केही समयता चितवनमा डेंगुको संक्रमण बढदो क्रममा रहेको छ । साउन यता भदौ पहिलो सातासम्म चितवनमा २२५ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
ती मध्ये चालिस प्रतिशत विरामी भरतपुर महानगरपालिकाका छन । डेंगु नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भैरहेको छ । यो बर्ष पहिलो पटक गत वैशाखमा धरानका एक व्यक्तिमा डेंगुको संक्रमण देखिएको थियो ।
त्यसयता देशभर तीन महिनामा चार हजार तीन सयमा संक्रमण देखिएको छ । अहिलेसम्म डेंगु नियन्त्रणमा आउन सकेको छैन । डेंगुको संक्रमण बयालिस जिल्लामा देखिएको छ ।
जनकपुरधाम : एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन् ।
उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
हेटौंडा : घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।
सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः त्यसको सङ्ख्या वृद्धि गर्दै जाने उनको भनाइ छ ।
सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताए ।
हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक-एक बस उपलब्ध गराउन लागिएको छ । विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो ।
डोटी : चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवौं र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत रहेका छन् । उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् ।
अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ । एमडिजिबी गरेका डा. गिरिश अवस्थी र एमबिबिएस गरेका डा. खुसिद आलम खान रहेका छन् । अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताए । उनले भने, ‘अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथी भएकाले केही सहज भएको छ, नत्र मलाई नै हम्मेहम्मे पथ्र्यो ।’
अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको सङ्ख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने पूर्ण रहेको छ ।
अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ श्यया मात्रै स्वीकृत छ । सरकारले ५० श्ययाका अस्पताल बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० श्ययाको अस्पतालको माग गरिएपनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० श्ययाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो अस्पताल नभएकाले सरकारको तत्कालै ध्यान दिई स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा. गिरीश अवस्थीले बताए ।
उनले भने, ‘संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हुँदैन, स्वीकृति दिँदा राम्रो हुनेछ ।’ उनका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज पठाउर्नुपर्ने अवस्था छ ।
संरचना तयार भइसक्दा अस्पताललाई स्वीकृति नदिनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख पूर्णराज जोशीले बताए । डोटीमा क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जग्गा वर्षौंदेखि अलपत्रमा परेको छ । दिपायल सिलगढी नगरपालिकाको बागठाँटामा रहेको उक्त क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जमीन प्रयोगमा नआउँदा वर्षेनी गौचरनमा परिणत हुँदै आएको छ ।
काठमाडौँ : काठमाडौँ विश्वविद्यालय (केयु) को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो ।
देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्राप्त गर्न सके समाज रूपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ ।
सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने योजना राखेको छ । देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का झण्डै ६०० आङ्गीक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् । सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम शुरु गरेको हो ।
“‘सरकारले एक गाउँ एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौँ”, स्कूल अफ एजुकेसनका डिन तथा प्राध्यापक डा महेशनाथ पराजुलीले भने, “तर यो कार्यक्रमको पूर्व तयारी अगाडिबाटै भएको थियो ।” उनका अनुसार सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रूपमा यो कार्यक्रम शुरु गरेको हो ।
नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयूको यो कार्यक्रम कोसेढुङ्गा सावित हुने प्राध्यापक डाक्टर टंकनाथ शर्माले बताए । उनले भने, “नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ ।”
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विज्ञ डाक्टर उषा भण्डारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रका लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्दछ । उनले भनिन्, “पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ ।”
काठमाडौं : चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् ।
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको भ्रमणदलका सदस्य तथा उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गरे ।
मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाए ।
उनले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे । उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए ।
यसैगरी मुख्यमन्त्री पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गरेका छन् । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पुर्याएको बताए । उनले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताउनुभएको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले नेपाली नागरिक राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पुर्याउन नेता सङलाई आग्रह गरे । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुगेका हुन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय तथा भारतको माउण्ट आबू स्थित प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको राजयोगा एजुकेशन एण्ड रिसर्च फाउन्डेशन (Rajyoga Education an Research Foundation 'RE&RF') बीच त्रिभुवन विश्वविद्यालयमा मूल्य शिक्षाको पठनपाठन गराउने विषयक समझदारी भएको छ ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. तीर्थ राज खनिया र ब्रह्माकुमारी संस्थाको तर्फबट फाउन्डेशन शिक्षा प्रभागका अध्यक्ष राजयोगी डा. मृत्युन्जयले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
योसँगै नेपालकै पाको तथा विश्वकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने र विश्व भरीका एक हजार विश्वविद्यालय मध्येमा चुनिएको त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका संकायहरुमा मूल्य शिक्षाको पठन पाठन गर्ने ढोका खुलेको छ ।
अमेरिका : नेपालकी सन्तोषी बस्नेतले अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने हार्वर्ड हिरो २०१९ को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक बर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली हुन् ।
हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीसँगै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन् । सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् । उनको कार्यसम्पादन मुल्याङ्कन लाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको स्यन्देर्स थियटर हलमा विश्वविद्यालयका प्रेसिडेन्ट लरेन्स एस बकवो ले सबै हार्वर्ड हिरोहरुलाई संम्मान तथा धन्यबाद दिदै रात्री भोजको आयोजना गरेका थिए ।
काठमाडौं बत्तीसपुतली निवासी बुवा जनक मान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान उनी सन् २००६ देखि अमेरिकाको बोस्टन सहरलाई कर्मथलो बनाउँदै आएकी छन् ।
सन् २०१३ मा 'जोन्सन एंड वेल्स विश्वविद्यालय' रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्दछिन् ।
हार्वर्ड पढ्ने सपना पूरा नभएपनि त्यहाँ काम गर्न पाउँदा र उत्कृष्ट कर्मचारी ठहरिंदा असीमित खुशी मिलेको उनले सुनाइन् । 'सबैको सपनाको विश्वविद्यालय रहेको हार्वर्डले प्रदान गरेको उपाधि पाउनु मेरो लागि मात्र नभएर सबै नेपालीका लागि खुशीको कुरा हो'– उनले भनिन् ।
पढ्नका लागि र अमेरिकामा टिक्नका लागि आफूले गरेको संघर्ष र मिहेनतको फल मिलेको सन्तोषीले सुनाइन् । उनले भनिन्– 'बाहिरबाट हेर्दा र सुन्दा अमेरिकाबारे जुन धारणा बन्छ, त्यो यहाँ आइसकेपछि फरक हुन्छ । यस्तोमा कडा मिहेनत र संघर्ष गर्न नसक्ने व्यक्ति टिक्न सक्दैन । म आफूलाई त्यस अर्थमा भाग्यमानी ठान्दछु ।'
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग, पूर्वअमेरिकी रास्ट्रपति बराक ओबामा, जर्ज बुश देखि राजा बिरेन्द्र लगायत संसारका ख्याति प्राप्त व्याक्तिहरुले पठन पाठन गरेको विश्वविद्यालय हार्वर्ड हो ।
स्कटल्याण्ड : एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैयाँ रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताए ।
सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल, माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो ।
रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ । अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु पनि गर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies