काठमाडौँ : सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।
ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपुर्याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको संघका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए ।
उनीहरुले यही मंसिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् । उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिए ।
विष्णु लक्ष्मी खरेल÷ ठमाडौं : सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो ।
मङ्सिर १४ गते पनि महासङले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौँमा प्रदर्शन गरेको थियो ।स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासङले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको छ ।
महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
लमही : दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको १५ लाख रुपैयाँ र गाउँपालिकाको १५ लाख रुपैयाँ सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको छ ।
भवन निर्माणमा क्यानडा सरकारले आफ्नै कामदार खटाएको छ । भवन निर्माण कार्यको ८० प्रतिशत काम पूरा गरेको विद्यालयका प्रधानअध्यापक रामसुरत यादवले जानकारी दिए । “विदेशी कामदार खटिनुभएको छ” उनले भने, “बीस दिनमै चारकोठे भवन निर्माणको ढलान सकिएको छ ।” ढलान गरेको करीब १०-१५ दिन भइसकेको भन्दै अब २० दिनमा सबै काम पूरा हुने उनको भनाइ छ । कात्तिकको पहिलो सातादेखि निर्माणको काम शुरु भएको हो । कम्प्युटर कक्ष, सूचना प्रविधि कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापनका लागि भवन निर्माण हुनलागेको प्रअ यादवले बताए ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको तर भवन जीर्ण हुँदा समस्या भएको भन्दै विदेशी लगानीकर्तासँग समन्वय गरेर भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । “विद्यार्थीको सङ्ख्या धेरै छ”, उनले भने, “तर भवन जीर्ण हुँदा पठनपाठनमा समस्या थियो, त्यसैले भवन निर्माणमा विदेशी लगानी पनि भित्र्याएका हौँ ।” प्रअ यादवका अनुसार अहिले विद्यालयमा जम्मा एक हजार ६०० विद्यार्थी अध्ययनरत् छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने तथा प्रविधिमैत्री विद्यालय बन्ने समेत उनले बताए ।
भक्तपुर : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन् । विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उहाँले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताए ।
परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने बताउँदै मन्त्री पोखरेलले भने, “परम्परागत शिक्षालाई निरन्तररुपमा लैजान हामी आएका होइनौँ, नेपालको शिक्षालाई विकाससँग जोड्न आएका हौँ, परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो समस्या समाधान हुँदैन, अब शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्छ ।”
मन्त्री पोखरेलले आगामी एक वर्षभित्र विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर राष्ट्रियरुपमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने तयारीमा जुटेको बताए । साथै सबै शिक्षण संस्थालाई हरित अभियानमा जोड्ने बताउँदै मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई अब सुधार गरेर लैजाँदै विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश के हो त्यो वर्गीकरण गर्दै राष्ट्रिय र प्रदेशअन्तर्गत लैजाने तयारी भइरहेको बताए ।
सङ्घीय शिक्षा नीति निर्माण प्रक्रियामा सरकार अगाडि बढेको बताउँदै उनले यसको पहिलो मस्यौदा तयार भएको र अब सातवटै प्रदेशबाट सुझाव लिएर दोस्रो मस्यौदा तयार गरी निचोडमा पुग्ने उनको भनाइ थियो । कार्यक्रममा अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उच्च शिक्षाको अवस्था भयावह रहेको चित्रण गर्दै शिक्षामा आएको चुनौतीबारे छलफल गर्दै अगाडि बढ्ने बताए ।
बैतडी : पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द नगरपालिका–२ देहिमाडाँ निवासी अपाङ्गता भएका परिवारलाई नगदसहित लत्ताकपडा सहयोग गरेका हुन् ।
बिहिबार उनले देहिमाडाँका पूर्णबहादुर बोहराका छोराछोरीलाई सहयोगस्वरुप १० हजार रुपैयाँभन्दा बढीका लत्ताकपडा, रजाइ, गद्दा तथा चार हजार पाँच सय रुपैयाँ दिएका थिए । पूर्णकी २३ वर्षीया छोरी हिरा, १५ वर्षीया करिष्मा, १८ वर्षीया भूमिका र १० वर्षीय जयन्त बोहरा अपाङ्गता छन् ।
घरमै आएर सहयोग पाउँदा आफूहरू निकै खुशी भएको छोरी हिराले बताइन् । आफूहरुको पढ्ने इच्छा भएको बताउनुका साथै घरमा ह्विलचेयर जाने बाटो नहुँदा समस्या भएको उनीहरूको गुनासो थियो । अध्यक्ष कार्कीले जन्मदिनमा गरिने फजुल खर्च जोगाएर आफूले सहयोग गरेको जानकारी दिए ।
५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई भलिउडको रमझमले तानेको छ । त्यसो त कलिउडका विराज भट्ट, निखिल उप्रेती, रजनी केसीलगायत धेरै कलाकारलाई भोजपुरी चलचित्रले नतानेको होइन । दशकयता ठूलो फड्को मारेको भोजपुरी सिने उद्योगको मोहमा परेका पन्तले आफ्नो फिल्मी करियरको पहिलो चलचित्र निर्देशन नै भोजपुरीबाट गर्दैछन् ।
हाल वीरगन्ज क्षेत्र वरपर उनको भोजपुरी चलचित्र ‘निरहुवा चलल लन्डन’ को छायांकन धमाधम भइरहेको छ । असारे झरी दर्किरहँदा हवल्दार सुन्तली, मुखौटा, कृ, पल आदि चलचित्रको द्वन्द्व निर्देशन गरिसकेका पन्तको जोस रुझेको छैन । यो चलचित्रमा भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुवा र चल्तीकी नायिका आम्रपाली दुबेको मुख्य भूमिका छ ।
साताअघि जोमसोम र पोखरामा चलचित्रको एउटा गीत तथा केही एक्सन दृश्य छायांकन गरेर वीरगन्जतर्फ आएको चलचित्र युनिट अहिले बाँकी दृश्य छायांकनमा व्यस्त छ । चलचित्रको ४० प्रतिशत दृश्यको छायांकन नेपाल र बाँकी लन्डन, स्कटल्यान्डमा गर्ने योजना रहेको पन्तले बताए । ‘६० दिनमा छायांकन सक्ने योजनाका साथ हाम्रो युनिट अहोरात्र काम गरिरहेको छ,’ उनले भने, ‘यसै गतिमा छायांकन भए योजनाबद्ध रूपमा आउँदो छठ पर्वका दिन चलचित्र रिलिज गर्न भ्याउने छौं ।’
पशुपतिनाथ प्रोडक्सन र खड्का फिल्मस्को ब्यानरमा निर्माणाधीन चलचित्रको निर्माताद्वय सुरज खड्का र सोनु खत्री हुन् । नेपालको मात्र नभई भारतको समेत भोजपुरी चलचित्र इतिहासमै सर्वाधिक बजेटको दाबी गरिएको यो चलचित्रको लागत करिब ४ करोड भारतीय रुपैयाँ रहेको पन्त बताउँछन् । भोजपुरी चलचित्रका सुपरस्टार जोडी निरहुवा, आम्रपाली र कमेडियन मनोज टाइगर समेतलाई मात्र पारिश्रमिक १ करोड भारुभन्दा बढी दिइएको छ । कलिउडका सुनील थापा र रश्मि भट्ट पनि चलचित्रमा अभिनय गर्दैछन् । थापाको भागको छायांकन लन्डनमा हुने पन्तले बताए ।
८ वटा गीत रहेको चलचित्रको जोमसोममा गरिएको एउटै गीतको छायांकनमा २० लाख रुपैयाँ खर्च गरिएको छ । ‘तुलनात्मक रूपमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार पाइसके पनि भोजपुरी चलचित्र भारत र नेपालमा मात्र सीमित रहेकाले त्यसको पनि स्तर बढाउने हाम्रो प्रयास हो,’ पन्त भन्छन् । चलचित्रमा भारतीय चलचित्र कलाकारबाहेक सम्पूर्ण प्राविधिक नेपालकै रहेको उनले बताए ।
आगामी महिना लन्डनमा आयोजना हुन लागेको भोजपुरी फिल्म अवार्डमा चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने योजना रहेको पनि उनले सुनाए ।
झिसमिसे साँझपख टुप्लुक्क आँगनमा आइपुग्ने जेटीएलाई भुटेको मकै–भटमास खुवाउँदै करेसाबारी, पशुपालन आदिबारे गन्थन गर्ने बुढीआमालाई सुनेर नहुर्किने सायदै होलान्। यिनै बुढीआमा र जेटीएको संवादमार्फत परम्परागत कृषिलाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न सिंहदरबारको पुतली बगैंचामा स्थापित ‘कृषि सूचना शाखा’ले ५२ वर्ष पुरा गरेको छ। हाल कृषि सूचना तथा सञ्चार केन्द्र भनिने यो संस्थाले असार अन्तिम साता (दुई वर्ष ढिलो) स्वर्ण जयन्ती मनायो।
अधिकांश नेपाली किसानले यो रेडियो कार्यक्रम स्थापना गर्ने सरकारी निकायलाई भन्दा कृषि कार्यक्रमकी बुढीआमालाई चिन्छन्। बुढीआमा अर्थात् लक्ष्मी भुसालले स्वर दिन थालेकै ५१ वर्ष बितिसकेको छ। उनको स्वरले पनि स्वर्ण युग पुरा गरेर कीर्तिमान कायम गरेको छ। नेपालमा यति लामो समयसम्म चलेको यो नै पहिलो रेडियो कार्यक्रम हो। केन्द्रका प्रसारक अधिकृत श्रीराम पुडासैनी ‘यति लामो समय एउटै पात्रले एकैखाले ढाँचामा रेडियो कार्यक्रम चलाएको यो नेपालमा मात्र नभई विश्वमै पहिलो’ भएको दाबी गर्छन्।
हुन पनि नाटकीय ढाँचामा २०२३ मंसिरदेखि सञ्चालित ‘जेटीए र बुढीआमा’ आजसम्म निरन्तर र लोकप्रिय छ। ‘राजा महेन्द्रको जुग थियो। पछि वीरेन्द्र आए। अहिले राष्ट्रपतिको जुग चलेको छ। कति कृषिमन्त्री फेरिए/फेरिए,’ बुढीआमाले भनिन्, ‘मेरै कार्यक्रम चलाउने कार्यालयमा म अठारौं हाकिमसँग काम गरिरहेकी छु।’ ४४ रुपैयाँ मासिक तलबमा सहायक तहबाट छिरेकी बुढीआमाले उमेर हदका कारण उपसचिवबाट अवकाश लिइसकेकी छन्। हाल उनलाई आवाज विशेषज्ञका रूपमा केन्द्रले करारमा राखेको छ। उपसचिव हुँदा २५ हजार हाराहारी तलब स्केलबाट अवकाश पाएकी बुढीआमा अहिले मासिक ९ हजार रुपैयाँ पारिश्रमिक लिई बुढीआमाको भूमिका निर्वाह गर्दै आएकी छन्।
बाजे–बराजु अर्घाखाँचीबाट आएको सुनेकी यी बुढीआमाको जन्मथलो काठमाडौंको डिल्लीबजार हो। तर अहिले उनी जोरपाटी नयाँबस्तीकी बासिन्दा हुन्। १४ वर्षको उमेरमा रेडियोमा छिरेकी भुसालले दरबार हाइस्कुलबाट टेस्ट पास गरिन्। रेडियोमा जागिर खानुअघि डिल्लीबजार आसपासमा अर्काको खेतमा रोपाइँ गरेका सम्झनाहरू उनको स्मृतिमा धुमिल छन्।
किसानमाझ मात्र नभई अन्य श्रोतामा पनि बुढीआमाको ‘फ्यानडम क्रेज’ अत्यधिक छ। साँझ ७ बजेको मुख्य समाचारअघि १५ मिनेटमात्रै सुनिएर, अर्काे शुक्रबारसम्म अलप हुने वाचा गर्दै बिट मार्ने बेला भन्ने ‘हरिशरणम्’ थेगो यिनलाई चिनाउने अर्को पर्यायवाची नाम जो छँदैछ। रेडियोमा जोडिएपछि उनले १ वर्ष जर्मनमा ग्रामीण ब्रोडकास्टिङको तालिम लिने मौका पाइन्। सरकारी खर्चमै मलेसिया पुगेर पनि एक महिने तालिम लिइन्। बाटामा हिँड्दा अहिले पनि कतिपयले प्वाक्क सोधिदिन्छन्, ‘बुढीआमा अहिले कुन बाली लगाउने बेला हो?’ अहिले उमेरले नै बुढी बनेकी उनी झर्को नमानी उत्तर बताइदिन्छिन्।
टाइपिस्टको जागिरका लागि अन्तर्वार्ता दिन सिंहदरबार जाँदै गरेकी एक चिनारु महिलासँग ‘साथी बनिदिएर’ २०२३ साल भदौमा सिंहदरबारस्थित कृषि विभाग नपसेको भए सायद भुसालको आज बुढीआमाका रूपमा यस्तो परिचय हुने थिएन।
त्यही बेला उनको विभागभित्र रहेको ‘कृषि सूचना शाखा’का तत्कालीन हाकिम किरणमणि दीक्षितसँग भेट भयो। ललाटमै लेखेर ल्याएको भन्दा ’नि हुन्छ। रेडियो कार्यक्रमको तयारी गरिरहेका दीक्षितले उनलाई जागिरको अफर गरे। अंग्रेजीमा टाइप गर्न जान्ने सर्तसहितको अफरलाई भुसालले हुन्छ भनिदिइन्। तर खासमा उनलाई टाइप आउँदैनथ्यो रे। त्यसै वर्षको मंसिर २५ गतेदेखि भुसाल बुढीआमाको स्वरमार्फत रेडियोबाट देशभर सुनिन थालिन्। उनीसँगै त्यसबेला सुनिनेमा सूर्यबहादुर श्रेष्ठ र मोहनकुमार श्रेष्ठ पनि थिए। जो रेडियो यात्रामा बीचमै अवकाश प्राप्त भए। २०३४ सालतिर मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ पनि बुढीआमासँगै रेडियो कार्यक्रमसँग जोडिएका थिए। उनीहरू १० वर्षको अन्तरालपछि ‘निस्किएका’ थिए। अहिले उनीसँग जेटीएको स्वरमार्फत नाट्य अभिनयमा साथ दिनेमा उनलाई सुनेर हुर्केका देवराज गौली, श्रीराम पुडासैनी, मदन सुवेदी, विनोद गिरी लगायत छन्। उनको कार्यालयका प्रमुख सहसचिव प्रकाशकुमार सञ्जेल पनि उनलाई सुनेर हुर्केका युवा हुन्।
ऊ बेला रेडियो नेपालको एकाधिकार र जगजगी थियो। रेडियो सेट हुने किसानहरू बारीका कान्ला, गोठ, आँगन, दलिनमा रेडियो राखेर बुढीआमालाई सुन्दै कृषिकर्म गर्थे। कार्यक्रम चर्चित थियो। त्यसताका यो कार्यक्रम बिहान पनि बज्थ्यो। एक पटकको कुरा हो। मुग्लिन आसपासको फिल्ड यात्रामा थिइन्, बुढीआमा। एक किसान कृषि कार्यक्रम सुन्दै भुइँकटहर रोप्दै रहेछन्। संयोगले भुइँकटहर रोप्ने दृश्यका साक्षी हुनपुगेका कृषि कार्यक्रम निर्माण गर्ने टोलीका कार्यक्रम निर्माताहरूले ती किसानलाई आफूहरूको परिचय नभनी बुढीआमाको भूमिकाबारे प्रश्न सोधेछन्। आलीमा रेडियो राखेर कृषिकर्म गरिरहेका उनले ‘ती बुढीआमालाई भेट्न पाए म पैसाको माला लगाइदिन्थें’ भन्दै पशुपतिनाथसँग भेट जुराइदिन प्रार्थना गर्ने गरेको सुनाएछन्। त्यहीं छेउमा उभिएकी बुढीआमाले आफू नै यो कार्यक्रमको प्रास्तोता रहेको स्वरले प्रमाणित गरेपछि ती किसानले वाचा पूरा गरेछन्। ‘दुई रुपैयाँका १६/१७ नोटको माला बनाई लाइदिए, त्यो माला अहिले छैन, तर ती रुपैयाँ जतनले राखेकी छु,’ हालैको भेटमा भुसालले सुनाइन्।
रेडियो जीवनको करियर बनाएर निरन्तर यात्रा गरिरहेकी भुसाल अविवाहित हुन्। धेरैलाई उनी ‘फुर्सद नपाएरै बिहे गर्ने उमेर बितेको’ प्रतिक्रिया दिन्छिन्। खासमा व्यक्तिगत र पारिवारिक जीवनबारे उनी सकभर मिडियाले नसोधेकै जाती मान्छिन्। पारिवारिक पृष्ठभूमि र उनको निजी जीवन पछाडिका कथा/व्यथा उनी सार्वजनिक गर्न चाहँदिनन्। उनले आफ्नो जीवन यात्राबारे एउटा पुस्तक लेख्ने सोच बनाएकी छन्। लेखिए त्यो पुस्तकले धेरै प्रश्नको उत्तर देला। हालैको एउटा छोटो भेटमा उनले भनिन्, ‘त्यो जुगमा रेडियोमा छोरी मान्छेले बोल्नु राम्रो मानिँदैनथ्यो।’ उनका अनुसार त्यसबेला छोरी मान्छे कलाकारितामा आउनु बिग्रिनु सरह मानिँदो रहेछ।
‘भुन्टेकी आमा भात पाक्यो?’ भनी रेडियोमा उनका सहकर्मीले सोधेको प्रश्नमा ‘पाकेको छैन भुन्टेका बा π’ भनेको अभिनय संवादले जीवनलाई आजको एक्लो अवस्थामा ल्याइपुर्याएको उनी ठान्छिन्। घरका मान्छेले ‘भुन्टेकी आमा’को स्वर रेडियोबाट सुनेपछि ‘यसले त रेडियोमा बिहे गरिसकेकी रहेछ’ भन्दै त्यसताका आफूमाथि घृणा गरिएको उनले सुनाइन्। उनलाई त्यसपछि घरपरिवारबाट ‘निकाला’ गरिएछ।
‘त्यसयता मैले २३/२४ ठाउँमा डेरा बसाएँ। अहिले जोरपाटी नयाँबस्तीमा पुगेकी छु,’ हाल भजन–कीर्तनसँग साइनो जोडेकी यी एक्लीले भनिन्, ‘अबको २/४ वर्ष रेडियोकै लागि काम गर्छु। त्यसपछि जे होला, होला।’
हरिशरणम् !
ट्राफिक जामबाट आजित नहुने सायदै कोही होलान्? दिनहुँजसो सडकमा हुने जामले सर्वसाधारणको घण्टौं समय त्यत्तिकै खेर जाने गरेको छ। अझ उकुसमुकुस हुने गर्मी र माइक्रोमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता त छँदै छ। त्यसैमा पनि सडकमा हिँडिरहेको मानिस देख्यो कि सहचालकले सिट नभए पनि सवारी साधन रोकेर यात्रु चढाउने गरेको दृश्य पनि हामीले सधैं देख्दै आएका छौं, अझ हामीमध्ये धेरैले भोगेका पनि हौंला। ट्राफिक जामको मार नेपालीले मात्रै भोग्ने गरेको ठान्नुभएको छ भने त्यो गलत हुन सक्छ। अन्य मुलुकमा पनि ट्राफिकको व्यवस्था उस्तै छ। यहाँ भने जर्मनीको म्युनिक सहरको ट्राफिक जामको कुरा गर्न लागिएको हो।
बीबीसीका ड्यानियल लोहरले हालै ‘क्यापिटल’ स्तम्भअन्तर्गत ‘माई कम्युट’ मा सार्वजनिक गरेको भिडियोमा एकजना जर्मनका कर्मचारीको कार्यालय पुग्ने अनौठो यात्राको चर्चा छ। म्युनिक सहरमा ट्र्राफिक जाम त छँदै छ, सब–वे रेलहरूमा खुट्टासमेत राख्न नसकिने गरी यात्रु खचाखच भरिएका हुन्छन्।
बिहान कर्मचारीहरूलाई समयमै कार्यालय पुग्न सधैं सास्ती र तनाव खेप्नैपर्ने हुन्छ। तर, यसरी सास्ती खेप्नुभन्दा त्यसको विकल्प रोज्ने एक्लो निस्किए ४० वर्षीय बेन्जामिन ड्याभिड। उनले यसका लागि एउटा जुक्ति निकाले। हरेक बिहान उनी स्थानीय इसार नदीमा पौडी खेल्दै कार्यालय पुग्न थाले। कुलटर्सट्रयान्डस्थित आफ्नो कार्यालयसम्मको दुई किलोमिटर यात्रा उनी यसरी नै पूरा गर्छन्। त्यो पनि एक–दुई दिन मात्रै होइन, विगत दुई वर्षदेखि उनी पौडेरै कार्यालय पुग्ने गरेको भिडियोमा देखाइएको छ। यसो गर्दा उनी आफूलाई आनन्दको अनुभूति हुने गरेको बताउँछन्। व्यस्त सडकमा गुड्ने सवारी साधान र साइकलमा यात्रा गर्ने हजारौंमध्ये ड्याभिड मात्र फरक देखिएका हुन्। भीडको पछाडि दौडनेहरू धेरै भए पनि उनी पृथक् शैली अपनाएर चर्चामा आएका छन्। निसास्सिने गरी सवारी साधनमा यात्रा गर्नुभन्दा स्वास्थ्यका लागि लाभदायक र मनोरञ्जन पनि हुने भएकाले जलमार्ग रोजेको उनले बताएका छन्।
सार्वजनिक स्थानहरूमा संस्कृति र वाणिज्य क्षेत्रका लागि काम गर्ने एउटा सानो समूह ‘थिंकटयांक’ का संस्थापक एवं प्रवक्तासमेत रहेका बेन्जामिन बल्डेप्लेट्जस्थित आफ्नो अपार्टमेन्टबाट बिहानै निस्कन्छन्, सडक पार गर्दै इसार नदीमा सीधैं हाम फाल्छन्। आफ्नो बासस्थलबाट दुई किलोमिटर टाढा रहेको कार्यालय डेढ घण्टा लगाएर पुग्ने गर्छन्। सवारी साधनमा यात्रा गर्दा त यति समयमा पुग्नै गाह्रो हुन्छ। अफिस सुरु हुनुअगावै गन्तव्यमा पुगेपछि टावेलले आफ्नो जीउ पुछेर टिसर्ट लगाई नजिकैको क्यापेमा कफी खाएर केही क्षण विश्राम गर्छन् अनि अफिस छिर्छन्।
नदीमा हामफाल्दा विशेष खालका वाटरप्रुफ ब्याग मात्रै प्रयोग गर्दैनन् उनी। पौडी खेल्न सहज होस् भनेर हावा भरिएको ब्यागको पनि उपयोग गर्छन्। स्विट्रल्यान्डको ब्यासेलमा पौडी खेल्नेहरूका लागि डिजाइन गरिएको ‘विकेलफिस्क’ ले उनको पौडीलाई सहज बनाइदिएको छ। पौडीबाजका लागि यो अत्यन्तै उपयोगी मानिन्छ। विशेषखाले यो ब्यागले बेन्जामिनको ल्यापटप, कागजात र सुक्खा कपडा सुरक्षित राख्छ। यो ब्याग झुन्डयायो अनि आफ्ना हातहरूले पानीमा छयाप्छयाप र छुप्छुप गर्दै उनी गन्त्यतर्फ लाग्ने गरेका छन्। मौसम र पानीको तापक्रमअनुसार बेन्जामिनले आफ्नो पहिरनको छनोट गर्ने गरेका छन्। उनी साधारण खालका कपडा लगाउँछन् र सधैं रबरको चप्पल लगाएर खोला तर्छन्।
मानिसले खोलामा सिसाबाट बनेका बोतलदेखि बिग्रेका साइकलसम्म फाल्ने गरेकाले खुट्टा घाउ लाग्नबाट बच्न रबरको चप्पल लगाउने गरेको बताउँछन्।
म्युनिख जर्मन सहरको अति व्यस्त सडकमा घण्टौं ट्राफिक जाम भए पनि ३० हजार मानिसले सधैं भीडभाड भएको सवारी साधनमै यात्रा गरिरहेकाले उनी आफूलाई सहयोग गर्न अन्यलाई अपिल गरेका छन्। दुई साताअघि यस्तै असाधारण काम अमेरिकी नागरिकले गरेको समाचार सम्प्रेषित भएको थियो। समाचारमा कर्ट भोन ब्याडिन्स्कीले हरेक दिन लस एन्जेलसबाट हवाई जहाजमा यात्रा गर्दै कार्यालय पुग्ने गरेको उल्लेख थियो।
जर्मन नागरिक बेन्जामिनको कार्यालय पुग्ने मार्गमा नदी थियो, अमेरिकी नागरिक कर्टसँग हवाईजहाजमै अफिससम्म पुग्ने सम्पत्ति थियो। त्यसैले उनीहरू कार्यालय पुग्नकै लागि अनौठो
मार्ग रोजे।
काठमाडौंवासीका लागि त कार्यालय जानका लागि यो विकल्पै छैन, तिनीहरू हिँड्ने भनेकै सडक मार्गबाटै हो, सार्वजनिक यातायातका साधन नै चढ्ने हो। चालक र सहचालकले सवारी साधनमा जति कोचे पनि यात्रा गर्नैपर्ने बाध्यता पनि त छ, राजधानीवासीलाई। यो बाध्यताबाट उन्मुक्तिका लागि ट्राफिक व्यवस्थापन अनुशासित हुनैपर्छ।
पछिल्ला वर्षहरूमा दाह्रीका सोखिन तन्नेरीहरूको संख्या सहरमा बाक्लै देखिन थालेको छ । तर यिनीहरूले ऋषिमुनिजस्तै देखिन दाह्री पालेका होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेका वा काम न काजकाहरू दारी पाल्छन् । हो, यही आम सोचाइलाई चिर्नकै लागि दाह्री पाल्ने तन्नेरीहरूले समूह नै गठन गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा दाह्री ग्याङ नामक फेसबुक पेज नै चलाएका छन् । आफ्नै म्यासेन्जर ग्रुपसमेत छ उनीहरूको । जहाँ उनीहरू आ–आफ्ना अनुभूति मात्रै साट्दैनन्, दाह्रीका अनेकन रहस्य र किस्सा पनि बाँड्छन् । उनीहरूको साझा उद्देश्य दाह्रीमा मात्रै अल्झेको छैन । यो ग्याङका साथीहरू परोपकारी र सामाजिक काममा पनि उत्तिकै संग्लन छन् । उनीहरू चाहन्छन, दाह्री पाल्नेहरू पनि जिम्मेवार मान्छेहरू हुन् भनेर सबैले जानुन् ।
केही वर्षपहिले सुरु भएको दाह्री ग्याङमा अहिले देशभरका एक लाखभन्दा बढी सदस्य छन् । काठमाडौंबाट सुरु भएको यो ग्याङ अहिले पोखरा, चितवन, बुटवल, धनगढी, हेटौंडा, विराटनगर, झापा, इलाम र इटहरीसम्म फैलिएको छ । जिल्लाहरूमा एरिया संयोजकहरू छन् र तिनीहरूले समन्वय गरेर ग्याङका सदस्यहरूबीच हरेक महिना भेटघाट गर्दछन् । जहाँ उनीहरू कसरी अघि बढ्ने ? के कस्ता सामाजिक काम गर्न सकिन्छ भन्नेजस्ता विषयमा छलफल गर्छन् । कामको बाँडफाँड गर्छन् ।
दाह्री ग्याङका साथीहरू कहिले आर्थिक रूपमा कमजोर स्कुलमा शैक्षिक सामग्री र ह्वाइट बोर्ड दिन्छन् । कहिले अर्थको अभावमा उपचार गराउन नसकेका बिरामीहरूका लागि सहयोग जुटाउछन् । यसका लागि उनीहरूले कहिले सांगीतिक कार्यक्रम गर्छन् त कहिले सामाजिक सञ्जालमार्फत आह्वान ।
दाह्री ग्याङमा सामेल हुन कुनै योग्यता चाहिँदैन । चाहिन्छ त खालि मन र दाह्री पाल्ने सोख । यति चीज छ भने यो ग्रुपमा गएर सोधिएको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । ग्याङका सदस्य जगदीश भण्डारी उत्तर दिएपछि यो ग्रुपमा सामेल हुन सकिने बताउँछन् । दाह्री ग्याङका अर्का सदस्य अभिषेक राजसिंह थापा दाह्री पाल्नेहरूलाई समाजले हेर्ने नकारात्मक सोचाइ परिवर्तन गर्न आफूहरू लागिपरेका बताउँछन् ।
दाह्री ग्याङमा सबै क्षेत्रका व्यक्तिहरू जोडिएका छन् । उनीहरू एकआपसमा भेट्दा जय दाह्री भनेर सम्बोधन गर्छन् । विभिन्न रमाइलो, रोचक र घोचक भनाइ समेटिइएका टिसर्ट पनि ग्याङका साथीहरूले छापेका छन् । ‘मेरो दाह्री दुनियाँलाई किन भारी ?’ ‘गालामा दाह्री काँधमा जिम्मेवारी’ जस्ता नारा लेखेका टिसर्ट लगाएको कोही भेट्नुभयो भने ठान्नुभए हुन्छ, ती टिर्सटको सुरुआती डिजाइन यही ग्याङले गरेको हो ।
कुरा गरेजस्तो र अरुले भनेजस्तो सजिलो पनि छैन दाह्री पाल्न । विकास निर्माणको नाममा काठमाडौंलगायत देशका मुख्य सहर धूलोले छोपिएका छन् । दाह्री ग्याङका साथीहरूको अनुभवले भन्छ, धूलो त दाह्रीका लागि दुश्मन नै हो । धूवाँधूलोले लट्टा पर्ने, झर्ने भएकाले पनि यसलाई उनीहरूले दुश्मन ठानेका हुन् । उनीहरूको सामूहिक अनुभव छ, दाह्री काट्नभन्दा पाल्न झन् महँगो छ ।
हिजोआज दाह्रीलाई सुन्दर बनाउन बजारमा दाह्रीमा लगाउने विभिन्न तेल पाइन्छ । तर यसको भाउ छोइसक्नु छैन । ३० एमएल तेलकै १७–१८ सयसम्म पर्छ भन्छन् विक्रम आदित्य लामिछाने । ग्याङका साथीहरूको सामूहिक बुझाइ छ, दाह्री पाल्नेलाई समाजले हेर्ने दृष्टिकोण त बदल्नैपर्छ किनकि दाह्री पाल्ने व्यक्ति धैर्यवान, क्षमतावान, बौद्धिक र नम्र हुन्छन् ।
दाह्रीलाई समाजमा स्थापित गराउन लागेका तन्नेरीहरूको आफ्नै पीरमर्का छ । प्राय: दाह्री पाल्ने युवाहरूलाई ‘विवाह गर्दा त दाह्री काटेर जाने होला नि ?’ भनेर खिसी गर्दै प्रश्न सोध्छन् चिने–जानेकाहरू । अनि उनीहरू पनि रमाइलो पाराले जवाफ दिन्छन्, ‘बरु विवाह गरिंदैन तर दाह्री काटिन्न ।’
दाह्रीका अनेकन प्रकार छन् । जस्तै, नेचुरल फुल बिअर्ड, फुल बिअर्ड, एड्मिन स्टाइल, भर्डी, स्विटलेडी र फ्रेन्च फर्क । संसारभरि नै अंग्रेजी महिनाको नोभेम्बरमा ‘नो सेभ नोभेम्बर’ भन्ने अभियान चल्छ । विशेषगरी त्यो महिनाभरि दाह्री काट्दा लाग्ने पैसा सदस्यबाट उठाएर क्यान्सरपीडितलाई सहयोग गर्ने गरिन्छ । यो महिना दाह्री पाल्नेहरूका लागि अर्को विशेष चीज भनेको दाह्री प्रतियोगिता हो । संसारभर नै यस्तो दाह्री प्रतिस्पर्धा गर्ने गरिन्छ ।
दाह्री ग्याङ कुनै बैठक बसेर, लामो छलफल गरेर र विधिविधान बनाएर जन्मेको होइन । यो कसरी जन्म्यो भन्ने रोचक कथा छ । दाह्री ग्याङका अभिषेकराजसिंह थापाले सुनाए, ‘पढाइको सिलसिलामा एक दिन सत्यमोहन जोशीलाई भेट्न गएका थियौं ।’ उनले त्यो समय सम्भिँmदै भने, ‘सबै दाह्री पालेका हामीलाई देख्नेबित्तिकै उहाँले भन्नुभयो, ओहो तपाईंहरू त दाह्री ग्याङ नै भएर आउनुभएछ ।’ जोशीको यही भनाइ सुन्नेबित्तिकै आफूहरूले दाह्री ग्याङको परिकल्पना गरेको थापाले सुनाए ।
हिले गाडीले मान्छे बोक्छ, उहिले मान्छेले गाडी बोक्थे ! त्यसो त, उहिले पनि गाडीले नै मान्छे बोक्थ्यो । तर समयको यात्रा यस्तो थियो— त्यति बेला कति गन्तव्यसम्म तिनलाई मान्छेले नै बोकेर पुर्याउनुपर्थ्यो । अनि मात्र मान्छेहरू त्यसमा यात्रा गर्न पाउँथे ।
६० वर्षअघिसम्म राजधानी काठमाडौंमा जति गाडी चल्थे, ती सबै मकवानपुरको भीमफेदीबाट भरियाहरूले बोकेर लगेका हुन्थे । विक्रम संवत् १९८० को दशकदेखि काठमाडौंमा मोटरबाटो बन्न सुरु गरेको थियो । उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्र थियो भने वीरगन्जदेखिको बाटो भीमफेदीबाट उक्लिएकै थिएन ।
यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सम्म चल्यो । २०१० देखि बन्न थालेको पृथ्वी राजमार्ग भीमफेदी–थानकोट तीन वर्षसम्ममा जोडिएपछि भारतदेखि गाडी गुडेरै काठमाडौं आउन थाले, भरियाले बोक्नुपरेन ।
त्यस बेला गाडी बोक्ने भरियाहरूका कथा चाखलाग्दा छन्, ‘लाहुरेबा’ हरूले सुनाउने लडाइँको कहानीजस्तै । तर जति वर्ष बित्दै गयो, यस्ता कथा सुनाउने पात्रहरू सकिँदै छन् । यो संवाददाताको खोजीमा त्यस्ता पात्र अब दुई जना मात्र भेटिएका छन्— ९० वर्षीय जुक्तबहादुर वाइबा र ८५ वर्षीय हीराबहादुर घलान ।
थाहा–५ तसरका वाइबा धामीझाँक्री हुन् । तर उनलाई गाउँमा गाडी बोक्ने भरिया भनेरै चिन्छन् । उनका अधिकांश दाँत झरिसकेका छन् । टाउकोमा कपाल छैन । तर शरीरको ताकत अहिले पनि छ घर–घरमा पुगेर बिरामीलाई ढ्याङ्ग्रो ठोकेर झारफुक गर्छन् । उहिले गाडीको नोल बोकेको काँधमा अहिले ढ्याङ्ग्रो बोक्छन् ।
वाइबाले २००० सालतिरबाट गाडी बोक्न सुरु गरेका हुन्, त्यति बेला उनी १६ वर्षका थिए । ६ फिट अग्लो र बलियो भएकाले गाडी बोक्ने नाइकेले उनलाई गाउँवाट छानेर लगेको थियो । पहिलोपटक भीमफेदीबाट सानो गाडी नोल लगाएर चारतिर ८/८ जना गरी ३२ जनाले बोकेर ७ दिनमा थानकोट पुर्याएको उनी अझै सम्झिन्छन् । त्यति बेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमा तीन रुपैयाँ बाटो–खर्च लाग्यो । दुई रुपैयाँ घरमा बुझाए । ‘आम्मै ! घरमा एकैचोटि दुई रुपैयाँ पाउँदा त सबै दंग,’ उनी सुनाउँछन् । एक दशकभन्दा बढी अवधिमा साना ठूला गरेर सयभन्दा बढी गाडी बोके उनले ।
गाडी बोक्दा चिप्लिने डरले सबै भरियाले परालको चप्पल लगाउँथे । त्यही बानीले वाइबालाई अहिले पनि समस्या पारेको छ । अरू चप्पल उनलाई मन नपर्ने, परालको लगाउन नातिहरूले नदिने । उनी खाली खुट्टै गाउँ डुल्छन् । एक खेप खाडी ओसार्दा ४ जोर चप्पल फाट्ने गरेको उनी सुनाउँछन् ।
गाडी बोकेर कमाउन थालेपछि गाउँमा सजिलै बिहे गर्न सकेको वाइवा बताउँछन् । ‘त्यति बेला २, ४ वटीसँग विवाह गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिनँ,’ उनी हाँस्दै सुनाउँछन् । तीन वर्षअघि पत्नी बितेपछि उनी नातिको साथमा छन् ।
वाइबाकै घरबाट आधा घण्टा उकालो हिँडेपछि पुगिने थाहा–५ पुरन्डीमा छ घलानको घर । घुँडा दुख्ने समस्याका कारण उनी २ वर्षदेखि लौरोको सहारामा मात्रै घर भित्र–बाहिर गर्न सक्छन् । ‘सयको हाराहारीमा गाडी बोकेर काठमाडौं पुर्याइयो,’ उनी भन्छन्, ‘ अहिले आफैंलाई अरूले बोकेर भित्र–बाहिर गराउन पर्ने भो ।’
गाडी बोकेकै कमाइले घलानले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । रमाइलो के भने, अहिले गाडी बोकेको कुरा गर्दा उनकै नातिनातिना पत्याउँदनन् । ‘गाडी बोकेको कुरा गर्दा पत्याउँदैनन्, गाडी पनि बोक्न सकिन्छ भनेर उल्टै जिस्काउँछन्,’ उनी भन्छन्, ‘पहिला पैसाको पनि दु:ख थियो, कामको पनि दु:ख थियो, अहिलेको जस्तो सजिलो कहाँ थियो ?’
वाइबा र घलान दुवैजना एकैपट्टिबाट गाडीको नोल बोक्थे । सुरुको पटक ७ दिनमै गाडी काठमाडौं पुर्याएबापत ३२ जनाको उनीहरूको टोलीलाई राणाजीले नाइकेमार्फत २० रुपैयाँ बक्सिससमेत दिएका थिए ।
साना गाडीमा लामा—लामा नोल बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ जना तन्नेरीहरूले काँधमा बोकेर हिँड्थे । त्यति बेला भरिया र नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं पुर्याउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गर्थ्यो ।
वाइबा र घलानको भेट नभएको १० वर्षभन्दा बढी भइसक्यो । ‘गाडी बोक्ने जीवित पात्रहरू यी दुई मात्र हुन सक्छन्,’ इन्द्रसरोवर, मार्खुका ९२ वर्षीय दलबहादुर बलामीले भने, ‘गाडी बोक्नेहरू अधिकांश यसै भेगका थिए, धेरै मरिसके ।’ त्यति बेला गाडी बोक्ने भरियाहरू प्राय: मार्खु, कुलेखानी, चित्लाङ, फाखेल र वज्रबाराहीका थिए । गाडी बोकेका फाखेलका हीराबहादुर बलामी र चित्लाङका धनबहादुर गोलेको २ वर्षअघि मृत्यु भइसकेको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies