रोल्पा : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष पदका लागि ६ दलको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रबाट नरेशजंग सिंह, नेकपा एमालेबाट बेगम पुन, नेपाली कांग्रेसबाट भुपमणि पुन मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हिमबहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर वली र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट पूर्णबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोख बहादुर महरा, प्रदेश स्तरका नेता तथा जिल्ला स्तरका नेता कार्यकर्तालगायतले ¥याली, बाजागाजासहित सिंहको मनोनयन दर्ता गराएका हुन् ।
यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ईश्वरी जिएम, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा संविधान सभा सदस्य गोकुल घर्तीसहित प्रदेशस्तर, जिल्लास्तरका नेता तथा कार्यकर्ताले ¥याली र गाजाबाजासहित पुनको उम्मेदवार दर्ता गराएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द राज पोख्रेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधा घले, प्रदेशस्तरका नेता, जिल्लास्तरका नेता तथा कार्यकर्ताले र्याली र बाजागाजासहित मगरको मनोनयन दर्ता गराएका हुन् ।
रुन्टीगढी गाउँपालिका–४ को उपनिर्वाचनमा ६ दलका उम्मेदवारले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विनोद खतिवडाले जानकारी दिए । रुन्टिगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफसका कारण २०८० असार २७ गते निधन भएको थियोे । पुन नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए । उक्त रिक्त पदका उपनिर्वाचन हुन लागेको हो ।