तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : विश्वकप सकिएको करिब डेढ महिनापछि कतार सरकारले ‘हय्या कार्ड’को वैध रहने अवधि बढाएको छ । विश्वकप हेर्ने दर्शकका लागि व्यवस्था गरिएको हय्या कार्डको म्याद थप एक वर्ष बढाएको कतारको आन्तरिक मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ l अब ‘हय्या कार्ड’ भएका विदेशी नागरिकहरू २४ जनवरी २०२४ सम्म कतार प्रवेश गर्न पाउनेछन् ।
हय्या कार्ड बहुप्रवेशी (मल्टिपल) भिसा कार्ड हो । यद्यपि कतार प्रवेश गर्न हय्या पोर्टलबाट स्वीकृति प्रदान गरिएको होटेल बुकिङ गर्नुपर्ने छ l आफन्त र साथीसँग बस्ने भएमा त्यसको विवरण हाल्नुपर्ने छ । यस्तै राहदानीमा कम्तीमा ३ महिना म्याद भएको हुनुपर्नेछ ।
कतार बस्ने अवधिलाई कभरेज गर्ने स्वास्थ्य बीमासमेत चाहिनेछ । यसैगरी फर्किने टिकट पनि आवश्यक पर्नेछ l कतारमा कामदार तथा विभिन्न भिसामा रहेका सबै नागरिकले भने ‘हय्या विथ मी’मा व्यवस्था गरिएअनुसार तीन जनासम्म आफन्त वा साथीलाई समेत बोलाउन सक्ने भएका छन् l यी प्रक्रिया सबै निःशुल्क हुने मन्त्रालयले जनाएको छ । यो सुविधा विश्वकपको अवधिमा समेत प्रदान गरिएको थियो l
गत साल डिसेम्बर १८, २०२२ आइतबार राति कतारमा आयोजित फिफा विश्वकपको २२ औं संस्करण सकिए पनि यसको चर्चा विभिन्न कारण भइरहेको छ l उक्त समयमा विश्वकप हेर्न आउने टिकट होल्डरहरूको लागि कतार सरकारले हय्या कार्ड अनिवार्य गरेको थियो l जुन टिकट लिइसकेपछि आवेदन दिएर लिन सकिन्थ्यो l हय्याबिना कतार बाहिरबाट कतार प्रवेश गर्नेहरु र कतारमा रहेकाहरू सबै फिफा फ्यान जोन, मेट्रो, बस र स्टेडियममा समेत प्रवेश गर्न पाउँदैन थिए l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies