२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

समयको अर्थ

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते ०६:२५
समयको अर्थ

पूर्वसभामुख एवं बरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधनप्रति सरकारले उच्च सम्मान दिएको छ । ८३ वर्षको उमेरमा निधन भएका पूर्वसभामुख ढुंगानाको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा नै दियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर ढुंगानालाई अन्तिम श्रद्धाञ्जलि दिए । आइतबार दिउँसो निधन भएका पूर्वसभामुख ढुंगानाको शव अन्त्येष्टिअघि श्रद्धाञ्जलिका निम्ति सानो गौचरणमा राखिएको थियो । धेरैले भौतिक रूपमा उपस्थित भएरै ढुंगानाको शवमा श्रद्धाको फूल चढाए भने विशाल पंक्तिले सामाजिक संजाल, लिखित वक्तव्य र निर्णय पुस्तिकामार्फत श्रद्धाञ्जलि अर्पण गरे । यो तहको श्रद्धाञ्जलिका निम्ति पूर्वसभामुख ढुंगाना योग्य थिए । त्यसैले उनको निधनबाट मुलुकले ठूलो क्षति बेहोर्नुपरेको भनाइहरू जताततै उल्लेख भइरहेको छ । विशेषतः ढुंगानालाई संसदीय अभ्यासको मानक सभामुखका रूपमा सम्झिएको देखिन्छ ।

पंचायतको अन्त्यपछि २०४८ सालमा गठन भएको प्रतिनिधिसभामा ढुंगाना सभामुख थिए । सभामुख हुँदा ढुंगानाले संसद् भनेको प्रतिपक्षीले कुरा राख्ने थलो हो भन्ने स्थापित गरे । राजनीतिक दलबाट निर्वाचित भए पनि सभामुखको भूमिका तटस्थ हुनुपर्छ भन्ने स्थापित गर्न ढुंगानाले महत्त्वपूर्ण भूमिका खेले । सभामुखका रूपमा ढुंगानाले खेलेको भूमिकाले संसदीय अभ्यासबारे जनताको धारणा सकारात्मक बन्न बल पुग्यो बरु उनीपछिका सभामुखहरूले दलीय पक्षधरता देखाएको प्रस्ट उदाहरण फेला पार्न सकिन्छ । यदि ढुंगानाले पनि आफूलाई सभामुख निर्वाचित गर्ने दल नेपाली कांग्रेसको पक्षपोषण गरेका थिए भने संभवतः संसदीय अभ्यासबारे अझ खराब दृष्टिकोण नागरिकमा बन्न सक्थ्यो । तर, २०४७ सालको संविधानका मस्यौदाकारसमेत रहेका ढुंगानाले संसदीय गरिमा बढाउन अर्थपूर्ण भूमिका निर्वाह गरे । 

तसर्थ, पूर्वसभामुख ढुंगानाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको निष्कर्षमा पुग्न सकिन्छ । शोक मनाउन सार्वजनिक बिदा घोषणा गर्ने सरकारको निर्णयप्रति फरक मत राख्नुपर्ने ठाउँ छैन । यदि सार्वजनिक बिदाबारे नीतिगत व्यवस्था बदलियो भने फरक कुरा हो तर अहिलेकै अवस्थामा ढुंगानाको सम्मानमा सरकारको निर्णय उचित छ । यति भनिसक्दा सरकारले ढुंगानाको शोकमा जसरी र जुन समयमा सार्वजनिक बिदाको निर्णय ग¥यो, त्यस प्रक्रियाप्रति गम्भीर बन्नुपर्छ । सोमबार मन्त्रिपरिषद्बाट सार्वजनिक बिदाको निर्णय हुँदा सरकारी तथा सार्वजनिक कार्यालयहरू खोल्न सेवा प्रदायक व्यक्तिहरू घरबाट हिँडिसकेका थिए । बिहानको काम धेरै भइसकेको थियो । त्यस्तो बेला दिइएको सार्वजनिक बिदाले धेरैलाई दुःख भयो, धेरै अलमलमा परे । एक प्रकारले सम्मानमा दिइएको सार्वजनिक बिदाबाट दुःख भयो । यस्तो प्रवृत्ति सरकारले बारम्बार देखाउँदै आएको छ । हुनुपर्ने निर्णय सही समयमा नहुँदा नागरिकले कष्ट बेहोर्नुपरेको छ । पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जलि ।

ADVADV

सम्बन्धित खबर

Advertise