सुरक्षाकर्मीलाई फूल दिएर माइतीघर मण्डलाबाट सुरु भएको जेनजी प्रदर्शन नयाँ बानेश्वर पुग्दा हिंसात्मक बन्न पुग्यो । कलिला युवा विद्यार्थीमाथि प्रहरीले गोली बर्सायो । सोमबार रातिसम्म १९ जनाको ज्यान गएको छ भने ३ सय ५० भन्दा धेरै घाइते भए । प्रदर्शनकारीमाथि प्रहरीको बर्बर दमनले शाही शासनकाल बिर्साएको छ ।
नेपालमा धेरै प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल निष्क्रिय रहेकैबेला जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध आह्वान गरेपछि नै सरकारले बुझ्नुपथ्र्याे, सामाजिक सञ्जालमा पोखिएको आक्रोश सडकमा पनि आउन सक्छ । समयमै त्यसको हेक्का गर्न सकेको देखिएन । अर्को, आमनागरिकको असन्तुष्टि, निराशा र आक्रोश बेलैमा सम्बोधन गर्नु राज्यको दायित्व हो । बेवास्ता गर्दै जाँदा जुनसुकैबेला विस्फोट हुन सक्छ भन्ने दृष्टान्त जेनजी विद्रोह बनेको छ । शान्तिपूर्ण आन्दोलन भड्किनुका पछाडि पनि पक्कै थुप्रै कारण होलान् । प्रदर्शन त्यसै पनि नेतृत्वविहीन छँदै थियो । अगुवाइ गरेका जेनजी नेताहरूले माइतीघर मण्डलाबाट बानेश्वरको निषेधित क्षेत्र पुगेर प्रदर्शन समापन गर्ने भनेका थिए । तर जुलुश निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्यो र संघीय संसद् भवनभित्र छिर्न खोज्यो । निषेधित क्षेत्र तोड्दासम्म संयम देखिएको प्रहरी प्रदर्शनकारीहरू संसद् भवन छिर्न थालेपछि संयम गुमायो र चर्को दमनमा उत्रियो । नियन्त्रणबाहिर गएको प्रदर्शनमा प्रहरीले अस्वाभाविक र अनियन्त्रित बल प्रयोगले ठुलो मानवीय क्षति पुगेको देखिन्छ ।
त्यसो त प्रहरी प्रशासनको सुरक्षा रणनीति पूरै असफल भयो । जेनजी प्रदर्शनलाई कम आँकेर आन्दोलनको आंकलन, मूल्यांकन र भीड व्यवस्थापनको राम्रो तयारी नगरेकैले एकातर्फ प्रदर्शनकारीहरू संसद् भवनमा तोडफोड र आगजनी गर्न पुगे भने अर्कोतर्फ कलिला युवाहरूले ज्यान गुमाउनुप¥यो । चैत १५ होस् वा २३ भदौ, निरन्तर कमान्ड हाँक्न असफल गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । गृहमन्त्रीले राजीनामा गर्दैमा यति ठुलो दमनबाट सरकारले उन्मुक्ति पाउन सक्दैन । भ्रष्टाचार र नेपो बेबीविरुद्ध जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्नुपर्छ । सँगै नागरिकको मौलिक हकसमेत प्रभावित हुनेगरी सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारी निर्णय फिर्ता लिनुपर्छ । प्रहरीको बर्बर दमनको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्छ । बढ्दो दण्डहीनता अन्त्यका लागि पनि घटनाका प्रत्यक्ष दोषीमाथि कडा कारबाही गर्नैपर्छ ।