काठमाडौं : नेपाल र भारतबीचको सीमा सुरक्षा समन्वय बैठकमा सुन तस्करीको विषयले प्रमुख प्राथमिकता पाएको छ ।
सोमबार सम्पन्न नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक स्तरीय सीमा सुरक्षा समन्वय बैठकमा सुन तस्करीको विषयले प्राथमिकता पाएको अधिकारीहरूले बताएका हुन् ।
अधिकारीहरुका अनुसार बैठकमा भारतले तेस्रो देशबाट नेपाल भएर भारतमा सुन तस्करी हुने गरेको भन्दै यसको नियन्त्रणमा नेपाल पक्षको ध्यानाकर्षण गराएको थियो । नेपाली पक्षले पनि भारतीय सीमा क्षेत्रमा खुलेका मेडिकल पसलबाट गिरोहले सुनको अवैध अेसारपसार गर्ने गरेको भन्दै नियमनका लागि ध्यानाकर्षण गराएको थियो ।
दुवै देशले एक अर्को देशको ध्यानाकर्षण गराएपछि सुन तस्करी नियन्त्रणका लागि मिलेर काम गर्ने समझदारी गरेका छन् । सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न साझा संकल्पसहित सम्पन्न बैठकले गरेको समझदारीमा सुन तस्करीसहित तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठ, भन्सार छली, लागूऔषध ओसारपसार, अवैध हातहतियार कारोबार रोक्न संयुक्त पहल लिने उल्लेख छ । एक देशमा अपराध गरेर अर्को देशमा लुक्नेलगायत अपराधविरुद्ध जुध्न र दुवैतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीच सुमधुर सम्बन्ध कायम राख्ने भनिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम र नियन्त्रणलाई आ–आफ्ना तर्फबाट प्रभावकारी बनाउने प्रतिबद्धतासहित साझा एजेण्डामा संयुक्त हस्ताक्षर गरेका छन् । अर्थात, सुन तस्करी नियन्त्रण पनि नेपाल र भारतको साझा एजेण्डा बनेको छ ।
साझा एजेण्डा तयार गर्न नेपाल र भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीको उच्चस्तरीय बैठक तीनसम्म निरन्तर चल्यो । उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष समेत निकालेका छन् ।
तीन दिनसम्म बसेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेका हुन् ।
शनिबार सुरु भएर सोमबार सम्पन्न बैठकपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र एसएसबीका महानिर्देशक अमृतमोहनले सुन तस्करी नियन्त्रणसहितका विभिन्न ११ वटा साझा एजेण्डामा संयुक्त हस्ताक्षर गरेका हुन् ।
बैठकमा सहभागी गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले बैठकले सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकालेको जानकारी दिए ।
उनले भनेका छन्, ‘सुन तस्करी र राजस्व चुहावट नियन्त्रण, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने, सीमा सुरक्षालाई अझै व्यवस्थित बनाउने, दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने समझदारी भएको छ ।’
सहसचिव तिवारीका अनुसार नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको बैठकले सीमा सुरक्षालाई अझै व्यवस्थित बनाउने, दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा संयुक्त हस्ताक्षर भएको हो ।
नेपाल र भारतबीचको सीमा सुरक्षा समन्वय बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुँदै आएको छ । अब भने हरेक छ/छ महिनामा पालैपालो बैठक बस्ने निर्णय भएको छ । सीमा सुरक्षा अधिकारी र जिल्ला जिल्लाका अधिकारीको बैठक नियमितरुपमा बस्ने विषयमा पनि दुवै देश सहमत भएका छन् ।