काठमाडौं : पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलनमा छ । १ महिनादेखिको आन्दोलनको विषयमा समीक्षा गरिरहेका नेताहरू आगामी आन्दोलनको मोडेलको विषयमा भने फरक मतका साथ प्रस्तुत हुन थालेका छन् ।
‘आन्दोलनलाई निरन्तरता दिने विषयमा एकमत छ । तर, अहिलेसम्म गर्दै आएको सडक आन्दोलनको मोडेलमा कहिलेसम्म जान सकिन्छ र त्यसले जनतामा कस्तो अर्थ राख्छ, त्यो ख्याल गर्नुपर्छ भन्ने मत बलियोगरी प्रस्तुत भएको छ’, रास्वपाका एक नेताले मध्यान्हसँग भने । उनका अनुसार आन्दोलनलाई निरन्तरता दिने विषयमा भने रास्वपाभित्र एकमत छ । सडक आन्दोलनको मोडेलमा भने नेताहरूको राय बाझिएको छ ।
लामिछाने गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका हुन् । लामिछानेविरुद्ध रुपन्देहीमा पनि उजुरी थियो । उजुरीका आधारमा बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको आरोप पक्राउ पुर्जी जारी भएको थियो । यसबीचमा प्रहरीले लामिछानेको रुपन्देहीमा लगेर पनि बयान लिएको छ ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन भएको भनेर ६४५ जनाले जाहेरी दिएका छन् । उक्त सहकारीका अध्यक्ष जी. बी. राई थिए । उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूको दाबी छ ।
लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले जाहेरी दिएका हुन् ।
सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रुपैयाँ अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । गोरखा मिडियाका संचालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीहरूविरुद्ध सूर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
पुर्जी जारी हुने र अनुसन्धान लम्बिने अवस्थामा सडक आन्दोलनको विकल्प खोज्नुपर्छ भनेर रास्वपामा मतभेद देखापरेको हो । एक नेता भन्छन्, ‘रवि कहाँ कहाँ पुग्छन्, त्यहाँत्यहाँ आन्दोलन गर्दै जाने विषय कति ठिक हो भनेर पार्टीमा समीक्षा भएको छ ।’
समीक्षाका आधारमा आन्दोलनको प्रारूप बदल्ने निर्णय भएको छ । केन्द्रीय समिति वैठकले उपनिर्वाचन नजिकै आएको भनेर सडक आन्दोलनलाई चुनावी अभियानमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार अब पार्टीका नेताहरू चुनावी अभियानमा केन्द्रित हुने छन् । त्यसलाई नै आन्दोलनको रूपमा अगाडि बढाइने छ ।
नेताहरूका अनुसार केन्द्रीय समितिको बैठकमा आन्दोलन चर्काउने र यसलाई अहिले बिसाउनुपर्ने २ थरि धारणा आएका थिए । आन्दोलन चर्काउने पक्षमा उपसभापति डीपी अर्याल पक्षधर थिए भने स्वर्णिम वाग्ले र बिराजभक्त श्रेष्ठ पक्षधर नेताहरू सडक आन्दोलन परिणाममुखी नहुने र उपनिर्वाचनलाई असर गर्ने मतसहित प्रस्तुत भएका थिए । उपनिर्वाचनको विषय आएपछि आन्दोलनको प्रारूप बदल्ने निर्णयमा नेताहरू पुगेका हुन् ।