रौतहट : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज विश्व प्रसिद्ध बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा दर्शन गरेका छन् ।
उपनिर्वाचनको क्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा निर्वाचनलक्षित घरदैलो कार्यक्रममा सहभागी हुन आज बिहान यहाँ आएका कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका हुन् ।
गढीमाई दर्शन गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले गढीमाई मेलाको क्रममा माता गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै खुसी लागेको बताए । विश्वमै चर्चित एवं पवित्र धार्मिकस्थलको रूपमा रहेको बरियारपुरको गढीमाई माताको दर्शन गर्ने सौभाग्य प्राप्त हुनु आफैंमा निकै खुसीको क्षण भएको उनले बताए ।
उनले विश्व प्रख्यात बरियारपुरको गढीमाई मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन मेला समितिसहित सबै पक्षलाई आग्रह गरे ।
गढीमाई दर्शन गरेका कांग्रेस महामन्त्री शर्मा आज रौतहटस्थित उपनिर्वाचन लक्षित कार्यक्रममा सहभागी हुने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
उपनिर्वाचन हुन लागेको रौतहटको ईशनाथ नगरपालिका- ७, राजपुर नगरपालिका- ६ र गढीमाई नगरपालिका- ८ मा आजै हुने घरदैलो कार्यक्रममा पनि महामन्त्री शर्मा सहभागी हुने प्रचार विभाग प्रमुख गुप्ताले बताए ।