२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

माधवनारायण नगरपालिकामा नयाँ एम्बुलेन्स सञ्चालन

Nada
ओमप्रकाश यादव
२०८१ मंसिर ९ गते २१:०९
Shares
माधवनारायण नगरपालिकामा नयाँ एम्बुलेन्स सञ्चालन

रौतहट : रौतहटको माधवनारायण नगरपालिकामा आइतबारदेखि नयाँ एम्बुलेन्स सञ्चालन भएको छ ।

ncell

यसअघि पूर्व नगरप्रमुख विरेन्द्र प्रसाद यादवको कार्यकालमा नगरपालिकाबाट खरिद गरिएको एम्बुलेन्स दुर्घटनामा परी बिग्रिएपछि नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकाको लाखौंको लागतमा सुविधा सम्पन्न नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका छन् । माधव नारायण नगर प्रमुख यादवले आइतबार बिहान माधव नारायण नगरपालिका –६ माधोपुर गढीमाई मन्दिरको प्रांग्रणमा नयाँ खरिद गरिएको एम्बुलेन्सको पूजाआजा गरी उद्घाटन गरेका थिए । नगर प्रमुख यादवले पूजाआजा गरेपछि उक्त एम्बुलेन्स आइतबारदेखि नै सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

आम नगरवासीको स्वास्थ्य र ज्यानलाई मध्येनजर गरी उनीहरूको सहजताका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए ।

माधव नारायण नगरपालिका क्षेत्रभित्रका असहाय, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई उपचार गराउन बाहिर लैजान सहज होस् र एम्बुलेन्सकै अभावमा समयमा उपचार गराउन नपाइ अकालमै कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले आफू नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए ।

एकदम कम शुल्कमा उक्त एम्बुलेन्सले नगर र नगर भन्दा बाहिरका व्यक्तिलाई समेत सेवा उपलब्ध गराउने उनले बताए । नेपालको संविधानले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच हुनेछ र औषधी उपचार पाउने छन् भन्ने व्यवस्था भए अनुरुप माधव नारायणका नागरिकले पनि बिरामी हुँदाको समयमा एम्बुलेन्सको सुविधा उपयोग गर्न पाउनुपर्छ र त्यसका लागि नगरपालिकाले ९ वटै वडामा वर्ष दिनभरि नै सञ्चालन हुनसक्ने गरी सडक निर्माणका कामहरु भइरहेको नगर प्रमुख यादवले जनाए ।

वर्षौंदेखि नगरपालिकाको एम्बुलेन्स नहुँदा माधव नारायणबासी निकै समस्या भोग्दै आएका थिए तर अब माधव नारायण नगरपालिकाले पुनःआफ्नै एम्बुलेन्स सञ्चालन गरेपछि नगरका जनता निकै हर्षित भएका छन् । 

ताजा खबर

सम्बन्धित खबर