सिरहा : सिरहाको लहानमा जग्गा विवादले चर्को रूप लिएको छ । अदालतको आदेश अवज्ञा, प्रहरी प्रशासनको उदासिनता र स्थानीय वडा सचिवको विवादास्पद भूमिकाका कारण जग्गाधनी अन्जु देवी साह रौनियार अन्यायमा परेकी छिन् ।
२०६७ सालमा रौनियारले बिन्देश्वरी दास तत्माबाट ७ कठ्ठा ३ धुर जग्गा खरिद गरेकी थिइन् । खरिद पछि सहमतिअनुसार केही वर्षका लागि उक्त जग्गा बिन्देश्वरीलाई नै बटैयाका रूपमा खनजोत गर्न दिएकी थिइन् । तर पछिल्ला दिनमा जग्गाको स्वामित्व र भोगाधिकारमा उनीहरूबीच विवाद चर्किएको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले २०८१ साल कात्तिक २५ गते रौनियारको पक्षमा आदेश जारी गर्दै जग्गामा लगाइएको अन्नबाली नकाट्न र जग्गा खनजोतमा अवरोध नगर्न आदेश दियो । आदेश कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सीतापुरलाई समन्वय गर्न भनिएको थियो ।
तर, आदेशको कार्यान्वयन गर्न प्रहरी अहिलेसम्म उदासिन बनेको आरोप रौनियारको छ । शनिबार उनी धान काट्न जाँदा रोक्न खोजिएको र आफूमाथि दुव्र्यवहार भएको बताइन् ।
पीडित रौनियारले वडासचिव घुरन यादवमाथि जबर्जस्ती हस्ताक्षर गराएको आरोप पनि लगाएकी छिन् । यादवले आर्थिक प्रलोभन र राजनीतिक दबाबमा प्रभावित भएर रौनियारलाई कार्यालयभित्र घेराबन्दी गरी जबर्जस्ती सही छाप गराएको आरोप उनको छ ।
इलाका प्रहरी कार्यालय लहान र सीतापुर चौकीले आदेश कार्यान्वयनमा सहयोग नगरेको आरोप पीडित रौनियारको छ । ‘कानुनले संरक्षण दिन्छ भन्ने विश्वास थियो, तर प्रहरीकै असहयोगले न्यायप्रति विश्वास कम हुँदैछ,’ रौनियारले भनिन् ।
घटनाप्रति स्थानीय बासिन्दाले पनि प्रहरी र वडासचिवको भूमिकामाथि प्रश्न उठाएका छन् । ‘प्रहरी कानुनको पालनामा निष्पक्ष हुनु पर्ने हो, तर यहाँ कानुन विपरीत काम भइरहेको छ,’ स्थानीय राम बाबु गुप्ताले भने ।
पीडितले प्रहरी प्रशासन र वडासचिव यादवमाथि कानुनी कारबाहीको माग गरेकी छिन् । ‘यो घटना मात्र नभई न्याय प्रणाली र प्रशासनिक संरचनामाथि प्रश्न हो,’ स्थानीयहरूले औंल्याएका छन् । पीडित रौनियारले शीघ्र न्याय र दोषीमाथि कडा कारबाहीको माग गरेकी छिन् ।