२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

एउटै सामुदायिक विद्यालयका १८ विद्यार्थीले पाए एमबीबीएसमा पूर्ण छात्रवृत्ति

Nada
२०८३ मंसिर ४ गते १७:५०
Shares
एउटै सामुदायिक विद्यालयका १८ विद्यार्थीले पाए एमबीबीएसमा पूर्ण छात्रवृत्ति

बुटवल : रूपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका १८ विद्यार्थीले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा उनीहरूले सफलता हासिल गरेका हुन् । विद्यालयका विद्यार्थी शिशिर मल्ल उत्कृष्ट १० भित्रसमेत पर्न सफल भएका छन् ।

एसईई परीक्षामा ४ जीपीए ल्याएका मल्लले कक्षा ११ र १२ को अध्ययन पनि सोही विद्यालयमा गरेका थिए । उनीसँगै निश्चल जीसी, आयुष पाण्डे, सम्राट मरासिनी, अजयकुमार चौधरी, आकाश मिश्र र आदित्य भण्डारीले एमबीबीएस छात्रवृत्तिमा नाम निकालेका छन् ।

त्यस्तै, ईशान ज्ञवाली, गणेश पन्थी, बिपिशा अर्याल, शिवनाथ यादव, दीपक केसी, सम्पदा गौतम, बालकृष्ण कोहार, अर्जुन रिजाल, राजीव अग्रहरि, इन्द्रबहादुर भुजेल मगर र अंकित तिवारी पनि छात्रवृत्तिमा छनोट भएका छन् ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीका अनुसार देशभर उपलब्ध ४०० पूर्ण छात्रवृत्ति कोटामध्ये एउटै सामुदायिक विद्यालयका १८ विद्यार्थी छनोट हुनु गौरवपूर्ण उपलब्धि हो । विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणका कारण यो सफलता सम्भव भएको उनले बताए ।

उनले यस उपलब्धिले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको उल्लेख गरे ।

विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्यांकन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गराउने व्यवस्था गरिएको छ ।

अन्य क्लस्टरबाट छनोट भएका विद्यार्थीसमेत जोड्दा प्रवेश परीक्षामा सफल हुने विद्यालयका विद्यार्थीको संख्या ३५ भन्दा बढी पुगेको अधिकारीले जानकारी दिए ।

करिब आठ हजार विद्यार्थी अध्ययनरत कालिका मानवज्ञान माध्यमिक विद्यालय देशकै सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालयका रूपमा परिचित छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर