२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

विपद् व्यवस्थापनलाई सुदृढ बनाउन छलफल

ADV
मध्यान्ह
२०८१ मंसिर १४ गते १६:५१
विपद् व्यवस्थापनलाई सुदृढ बनाउन छलफल

धनगढी : सुदूरपश्चिम प्रदेश बाढी, पहिरो, आगलागी र चट्याङजस्ता प्राकृतिक प्रकोपहरूबाट बढी प्रभावित भइरहेको छ । विशेषगरी मनसुनको समयमा बाढी र पहिरोले जनधनको ठूलो क्षति पुग्ने गरेको छ । अनियमित वर्षा र खडेरीले खाद्य सुरक्षा र जीविकोपार्जनमा नकारात्मक प्रभाव पारिरहेको छ । 

प्रकोपको जोखिम न्यूनीकरणका लागी तयारीमा जोड दिने उद्देश्यले प्रतिद्ध तेस्रो कार्यक्रम सुरु भएको आज धनगढीमा आयोजित परियोजना शुभारम्भ कार्यक्रममा जानकारी दिइएको छ ।  

यूरोपियन यूनियनको सहयोगमा पिपुल ईन निड, सेभ द चिल्ड्रेन र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले प्रतिवद्ध तेस्रो कार्यक्रम सञ्चालन गर्नेछन् । 

कार्यक्रम वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको १० स्थानीय तहमा कार्यान्वयन हुनेछ । प्रदेश तहमा पनि नीति सवलीकरण, जनशक्ति व्यवस्थापन आदि कार्यमा सहकार्य हुनेछ । 

प्रकोप जोखिम न्यूनीकरणका लागि समुदाय र स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । जोखिममा रहेका बस्तीहरूको वर्गीकरण गरी पहिरो न्यूनीकरण र पुनर्निर्माणको कार्यलाई सहज बनाउने प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग पुलको रूपमा काम गर्नुपर्ने गैरसरकारी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालले बताए । 

चालु आर्थिक वर्षमा सुदूरपश्चिममा विपदका घटनाबाट ४० जनाको मृत्यु र १० करोड बढीको क्षती भएको तथ्याङ्क छ । 

विपदका घटनामा परेर सबैभन्दा बढी आगलागीबाट ११ जनाको मृत्यु भएको छ । त्यस्तै सर्पदंश र चट्याङका कारण ७÷७ जना, हावाहुरी र बाढीका कारण ४÷४ जना, जंगली जनावरका कारण ३ जना, पहिरोका कारण २ र भुकम्प, लेक लागेर १ ÷१ जनाको मृत्यु भएको छ । सो अवधिमा ५७८ वटा विपदका घटना भएका छन् ।

ती घटनामा परेर १८९ जना घाइते भएका छन् । जसमा सबैभन्दा बढी सर्पदंशका कारण ५६ घाइते जना भएका छन् । त्यस्तै बाढीका कारण ४७ जना, आगलागी र भुकम्पका कारण २९÷२९ जना, चट्याङका कारण ८ जना, पहिरोका कारण ६, हावाहुरी र लेक लागेर ४÷४ जना, जंगलमा आगलागीका कारण ३, जनावरको आक्रमणका कारण १ र अन्य कारणले २ जना घाइते भएका छन् ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका प्रमुख हृदयश्वर पण्डितले जोखिममा रहेका वस्ती तथा समुदायको विपद बिमा जरुरी रहेको बताए । उनले स्थानीय सरकारले विपद बिमा कार्यक्रम विस्तार गर्न चासो नदेखाएको अवस्थामा प्रतिबद्ध परियोजनाले सहयोग गर्नुपर्ने र सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राखे । 

यस्तै कार्यक्रममा युनिसेफ नेपालका सुदूरपश्चिम कार्यालय प्रमुख इन्द्र पन्तले स्थानीय सरकारहरूलाई सबल बनाउनुपर्ने तथा विपदसँग जुध्न तथ्यांकमा काम गर्नुपर्ने बताए ।

प्रतिबद्ध तेस्रो परियोजनाले विपद् जोखिम न्यूनीकरणका लागि तयारीमा जोड दिइएको, समुदायको क्षमता अभिवृद्धि, भूउपयोग योजना तर्जुमा आदि कार्यलाई प्राथमिकतामा राखेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताए । उनले प्रकोपसँग जुध्न व्यापक सहकार्य आवश्यक रहेको र मिलेर काम गर्न जरुरी रहेको धारणा राखे ।

पिपुल इन निडका परियोजना प्रवन्धक शालिकराम घिमिरे, अनुज तिवारी र चेतन खड्काले प्रतिबद्ध १ र २ मा हासिल भएका सिकाई तथा प्रतिबद्ध ३ को उद्देश्य र प्रमुख कार्यक्रम जानकारी गराएका थिए ।  

प्रस्तुतीकरणमा पूर्वसूचना प्रणालीको विकास र विपद् उत्तरदायी सामाजिक सुरक्षा योजना निर्माण, प्रभावित क्षेत्रका लागि नमूना कार्ययोजना तयार गरी परीक्षण, पुनर्निर्माण र पुर्नस्थापना जस्ता क्षेत्रमा काम गर्ने लक्ष्य रहेको बताए । 
 

ADVADV

सम्बन्धित खबर

Advertise