कपिलवस्तु : कपिलवस्तुको कृष्णानगर सीमा क्षेत्रमा प्रहरीकै संलग्नतामा तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णानगर अन्तर्गत बेदर्मी प्रहरी चौकीमा दरबन्दी भएपनि सहायक हवलदार (घुमुवा) भगत चौधरीको इशारामा दैनिक रूपमा कपडा, हार्डवेयर, मोटर पाट्र्ससहितका विभिन्न सामानहरूको तस्करी हुने गरेको आरोप लागेको हो । स्थानीयका अनुसार यसरी हुने तस्करीका कारण करोडौं रुपैयाँ बराबरको राजस्व चुहावट भइरहेको छ ।
स्थानीय स्रोतका अनुसार सहायक हवलदार चौधरी ड्युटीमा उपस्थित नभइ मोटरसाइकलमै तस्करीका सामान भित्र्याउनेमा सक्रिय रहन्छन् । कुशहवा बढनी बोर्डरदेखि ठकुरापुर बोर्डरसम्म दैनिक अनिवार्य पुग्ने गरेको र सुरक्षाकर्मीहरूको आँखा छलेर तस्करी सजिलै हुने गरेको बताइएको छ ।
जिल्लाभर घुमुवा परिचालन गर्ने नाममा प्रहरी प्रशासनकै प्रत्यक्ष संलग्नता रहेको र यसमा जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रमुखको समेत महत्वपूर्ण भूमिका रहेको आरोप स्थानीयहरूले लगाएका छन् । कृष्णानगर बजार, लक्ष्मीनगर, सिर्सिहवा, हथियागढसहितका नाकाहरू तस्करीका मुख्य मार्ग बनेका छन् ।
व्यापारीहरूसँग मासिक असुली
स्थानीय व्यापारीहरूसँग मासिक दरमा रकम असुली गर्ने र सो रकम प्रहरी अधिकारीसम्म पुर्याइने प्रणाली लामो समयदेखि चल्दै आएको खुलेको छ । स्रोतका अनुसार दर्जनौँ व्यापारीहरूबाट महिनैपिच्छे रकम असुली हुने गरेको छ ।
संकलित हुने रकम प्रहरी घुमुवा भगत चौधरीमार्फत उच्च अधिकारीसम्म पुग्ने गरेको स्थानीयको आरोप छ ।
कपिलवस्तुका स्थानीय बासिन्दाले प्रहरीकै संरक्षणमा भइरहेको तस्करीले राज्यको राजस्व चुहावट भइरहेको भन्दै तत्काल नियन्त्रण गर्न माग गरेका छन् । उनीहरूले प्रहरी संगठनभित्रै सुधार गर्दै सीमा नाकामा देखिएको अव्यवस्था अन्त्य गर्न सरकारसँग अपील गरेका छन् ।