रौतहट : रौतहटमा आज पनि कर्फ्यूलाई निरन्तरता दिइएको छ । अवस्था सामान्य बन्दै गएपनि सम्भावित जोखिमलाई ध्यान दिँदै स्थानीय प्रशासनले कर्फ्यू आदेशलाई निरन्तरता दिएको हो ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारि विनोद खड्काले अवस्था सामान्य बन्दै गएपनि सम्भावित परिस्थितिलाई ख्याल गर्दै कर्फ्यूलाई निरन्तरता दिएको बताए । उनले भोलि बिहानको अवस्थालाई विश्लेषण गर्दै यस बारेमा थप निर्णय लिइने बताए । नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन गरिएको बताउँदै उनले आम नागरिकलाई अत्यावश्यक काम बाहेकको अवस्थामा घरबाट ननिस्कन अपिल गरे ।
जेनजी आन्दोलन उग्र बनेपछि रौतहट प्रशासनले भदौ २४ गते १२ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।
गौर कारागारबाट फरार १३ कैदी भारतमा पक्राउ
गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीबन्दीमध्ये १३ जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेको छ । पक्राउ परेका १३ जनामध्ये १२ जनालाई नेपालमा बुझाइएको छ ।
राति भारततर्फ भागिरहेको अवस्थामा उनीहरुलाई भारतीय सीमा सुरक्षा बलक जवानहरुले पक्राउ गरी बैरगीनिया प्रहरीलाई बुझाएको थियो । नेपाल र भारतीय पक्षको समन्वयमा १२ जनालाई नेपाल ल्याइएको गौर कारागार प्रमुख मनिष झाले बताए ।
पक्राउ पर्नेमा गौर नगरपालिका-४ का २७ वर्षीय जितेन्द्र गिरी, गरुडा नगरपालिका–५ का ३० वर्षीय गणेश साह, गडीमाई समनपुर–१ का २४ वर्षीय सन्तोष राम, गरुडा–५ का २३ वर्षीय रणधीर यादव, गौर–५ का २८ वर्षीय विवेक मिश्र, ईशनाथ–औरैया–२ का २५ वर्षीय राजन साह सोनार, छतौना–४ का २४ वर्षीय अजय यादव, गौर–४ का १७ वर्षीय राजेश पटेल र देवाही गौनाही–५ का ४३ वर्षीय मोहन साह रहेका छन् ।