काठमाडौं : स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुँदै छ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
नगर प्रमुख र पालिका प्रमुखका लागि ४ स्थानीय तहहरू काठमाडौंको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मतदान हुने छ ।
त्यसैगरी उपप्रमुखका लागि पनि ४ स्थानीय तहहरू जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र हुम्लाको सर्केगाढ गाउँपालिकामा उपनिर्वाचन हुँदै छ ।
यी ८ वटा पालिकामध्ये २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले ६ र माओवादी केन्द्रले २ वटा जितेका थिए ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् ।
कहाँकहाँ हुँदै छ उपनिर्वाचन ?
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरीशंकर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।
यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३, झापाको कन्काई नगरपालिका– ६, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका– १, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, रौतहतको ईशनाथ नगरपालिका– ७, रौतहटका राजपुर नगरपालिका– ६ र गढीमाई नगरपालिका– ८ मा आज मतदान हुँदै छ ।
काठमाडौंको काठमाडौं महानगरपालिका– १६, कीर्तिपुर नगरपालिका– १ र ४, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।
यसैगरी, दैलेखको दुल्लु नगरपालिका– १३, जाजरकोटको कुशे गाउँपालिका– ७, कालीकोटको तिलागुफा नगरपालिका– ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कंचनपुरको भीमदत्त नगरपालिका– ६ मा आज मतदान हुँदै छ ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रका गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका– २ मा माओवादी केन्द्रका जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने पालिका र वडाहरूमा मतदानका लागि सार्वजनिक बिदा दिइएको छ । सम्बन्धित पालिका र वडाहरूले सूचना निकालेर बिदा दिएका हुन् ।
पालिका र वडाभित्र निजी क्षेत्रबाट संचालित औद्योगिक, शैक्षिक वा अरू प्रतिष्ठानमा बिदा दिइएको हो ।
जनमत बोधको आधार
यो उपनिर्वाचन दलहरूका लागि जनमत जाँच गर्ने आधार बन्ने छ । आवधिक चुनाव पाँच÷पाँच वर्षमा हुन्छ । करिब आधा कार्यकाल सकिएपछि स्थानीय तहको उपचुनावलाई दलहरूको मध्यावधि मत परीक्षणको रुपमा समेत लिन सकिने सरोकारवालाहरू बताउँछन् ।
विगतका केही निर्वाचनमा गठबन्धन गरेर लडिरहेका दलहरू यस पटक केही सीमित स्थानमा गठबन्धन गरेर तथा धेरै स्थानमा एकल लडेका छन् । यसकारण पनि उनीहरूको जनाधार के कस्तो र कति छ भनेर उपचुनावको परिणामले सम्झाउने छ ।
एक जना राजनीतिक विश्लेषकका भनाइमा यो उपनिर्वाचनको परिणामले आगामी २०८४ सालमा हुने निर्वाचनको परिणामलाई पनि आँकलन गर्न सहयोग पुग्ने छ । उनी भन्छन्, ‘उसो त नेपालीहरूको मत एकनास छैन, उनीहरू अस्थिर मतदाताका रूपमा देखिँदै आएका छन् । यस उपनिर्वाचनमा भने मतदाताको मनोविज्ञान अनुमान गर्न सकिन्छ ।’