देवेन्द्र थुम्केली, कलालेखक
कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले काठमाडौं विश्वविद्यालयबाट दक्षिण एसियाली कला अध्ययन र त्रिभुवन विश्वविद्यालयबाट चित्रकलामा स्नातकोत्तर गरेका छन् । कार्टुनिस्ट क्लब अफ नेपालका उपाध्यक्ष तथा नेपाल ललितकला पत्रकार समाजका महासचिवसमेत रहेका थुम्केलीले चार दर्जन बढी दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिकामा कार्टुन बनाइसकेका छन् । उनको हालसालै ‘कलाकार जीवनवृत्त’ पुस्तक प्रकाशित भएको छ । कलाकार तथा कलालेखक थुम्केलीसँग कला र यससँग सम्बन्धित विषयमा केन्द्रित रही मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेकोे कुराकानीको सम्पादित अंश :
केमा व्यस्त हुनुहुन्छ ?
कलालेखन, कलाकर्म र पत्रकारितामा दिन बितिरहेका छन् । पछिल्लो समय नेपाली कलाका विविध पक्षका बारेमा खोज–अनुसन्धानमा पनि समय बितिरहेको छ ।
हालै ‘कलाकार जीवनवृत्त’ कृति सार्वजनिक गर्नुभयो, यो कृतिले समाजमा के सन्देश दिन्छ ?
यो कृति मूलतः जीवनीपरक हो । नेपालमा परम्परागतरुपमा हजारौं वर्षदेखि प्रचलित कलाका रुपमा परिचित थाङ्का तथा पौभाकलामा साधनारत् अग्रजदेखि नवपुस्ताका कलाकारको कलायात्रा र कलाका बारेमा यस पुस्तकमा विविध पक्षलाई उठाउने कोसिस गरिएको छ । साथै, सधैं राज्यको नजरमा पर्न नसकेको नेपालको मौलिक कलामा सक्रिय कलाकारको योगदानलाई हामी सबैले सम्मान गर्नुपर्दछ भन्ने भाव पैदा गर्दछ भन्ने मेरो बुझाई हो । यस्तै, नेपाली कला र कलाकारप्रति केही भए पनि सकारात्मक दृष्टिकोण निर्माणमा सहयोग पुग्ने अपेक्षा र आशा राख्न सकिन्छ ।
अन्य विषयमा थुप्रै पुस्तक प्रकाशनमा आए पनि ओझेलमा परेको थाङ्का एवं पौभाकला र कलाकारका बारेमा पुस्तक लेख्नुपर्छ भन्ने सोचको जन्म कसरी भयो ?
वास्तवमा नेपाली कलाका बारेमै लेखिएका कृति नै कम छन् । त्यसमा पनि परम्परागत थाङ्का÷पौभाकलाका बारेमा नगण्य नै छ । अझ यस क्षेत्रमा काम गर्ने कला र कलाकारका बारेमा यथोचित ढंगले लेखिएको पनि निकै कम छ । यही परिवेशमा मेरो अध्ययनको क्षेत्र पनि दक्षिण एसियाली कला रहेको र त्यसमा पनि नेपालका परम्परागत कला, लोककला तथा अन्य सिर्जनात्मक कलालाई मूलधारमा जोड्दै चिनाउनु पर्छ भन्ने अभिप्रायले पनि लेखनमा उत्प्रेरणा मिल्यो । साथै नेपाललाई कलाका दृष्टिले विश्वमै चिनाउन सक्ने कला पनि यिनै हुन् । यी कलाले हाम्रो सभ्यता, वैभवता र जीवनपद्धति तथा सामाजिक अवस्था बुझाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि लेखनकार्यमा जोडिन पुगें ।
तपाईं ललितकलाको विद्यार्थी यो क्षेत्रको भविष्य छैन भन्छन् नि ?
राम्रो गर्ने जोकोहीका लागि यो क्षेत्रमा भविष्य अन्य क्षेत्रमा भन्दा सहज र सुरक्षित छ । कलाबाट कुनै पनि मानव सभ्यता र समुदाय अलग रहन सक्दैन । हुनत मानिसले भौतिक रुपमा बनाउने या निर्माण गर्ने वस्तुको रुपपक्ष नै कलासँग अन्तरसम्बन्धित हुन्छ । हरेक वस्तुको एउटा रुप हुन्छ । त्यो रुपलाई कलाले नै निर्धारण गर्दछ । अर्थात् मानिसले कुनै पनि समान लिँदा आहा कति राम्रो भन्ने भाव प्रकट हुनु नै कलाको कारण हो । तसर्थ कला क्षेत्रमा लागेर मानिसले नाम, दाम र परिचय निर्माण गर्न सक्छ । यो सिर्जनात्मक क्षेत्र पनि भएकाले कला सिकेका वा कलाचेत भएका अन्य विषय या विधा पढेका मानिस बढी सिर्जनशील हुन्छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको यो विषयमा कस्तो भूमिका हुनुपर्छ ?
प्रतिष्ठानले नेपालका कलाको बारेमा खोज अनुसन्धान गर्ने, तिनको तथ्यमा रहेर पैरवी तथा प्राज्ञिक महत्वलाई उजागर गर्ने काम गर्नुपर्दछ । कला क्षेत्रमा गर्नुपर्ने कार्यको राज्यसँग समवन्य गर्दै यसको महत्वलाई आममानिससमक्ष लैजान पहलकदमी लिनुपर्दछ ।
कलासँग सम्बन्धित प्रतिष्ठान राजनीतिक भर्तिकेन्द्र र शैक्षिक योग्यता नपुगेकालाई प्राज्ञको उपाधि भिराएर राज्यको ढुकुटी स्वाह गर्ने ठाउँ बन्यो भन्छन् नि ?
यसमा राज्य सचेत हुँदै सम्बन्धित विज्ञ र प्राज्ञिक क्षमता राख्ने व्यक्तित्वलाई लैजाने वातावरण निर्माण गरिनुपर्दछ । अन्यथा परिणाम कम आउने र त्यसले कला क्षेत्रलाई पछाडि धकेल्ने काम गर्दछ ।
नेपाली कलाकारका सिर्जनालाई दस्तावेजका रूपमा संग्रह गर्न सरोकारवालाको भूमिका कस्तो पाउनुभएको छ ?
यो निकै अहम् प्रश्न हो । नेपाली कलामा योगदान दिनुभएका विशिष्ट प्रतिभालाई राज्य वा सरोकारी संघसंस्थाले सम्मान गर्दै उहाँहरुको कदर गर्नुपर्दछ । जस्तो कि अग्रज वा प्रतिभाशाली कलाकारले रचना गरेका कलालाई सकेसम्म राज्यले संवद्र्धन तथा प्रवद्र्धन गर्ने वातावरण बनाउनु पर्दछ । यस्तै कलाकारका कलाकृतिको दस्तावेजीकरण गर्दै तिनलाई आममानिससमक्ष ल्याउने काम गरिनुपर्दछ । साथै कलाकारको व्यक्तित्व र कृतित्व झल्किने प्रकाशन, दृश्य तथा श्रव्य सामग्री संकलन तथा प्रकाशनमा ध्यान बढी केन्द्रित गरिनुपर्दछ ।
भविष्यमा कला र कलाकारको अवस्था कस्तो देख्नुहुन्छ ?
अहिले परिस्थिति अलि फरक छ । कोरोना महामारीले अन्य क्षेत्रजस्तै कलाक्षेत्र पनि प्रभावित छ । तर, नेपालमा कलाको भविष्य निकै सुन्दर रहेको छ । यो सीप र सिर्जनासँग जोडिएको रचनात्मक कर्म भएकाले र मानिसको कलाप्रति अनुराग भनौं या अभिरुचि पनि बढिरहेको छ । यो निकै सुखद पक्ष हो । कला ग्यालरी, संग्रहालय, पार्क, आदि बनाउनुपर्छ भन्ने सोचको विस्तारै विकास भइरहेको छ । यसैगरी कला शैक्षिक संस्था पनि बढिरहेका छन् । स्थानीय तहका सरकारले कला तथा संस्कृतिप्रति केही गर्नुपर्छ भन्ने धारणाको विकास गरिरहेका छन् । प्रादेशिक सरकारले पनि संस्थागत ढंगले काम गर्ने गरी संरचना निर्माण गरिरहेका छन् । समग्रमा हेर्दा नेपालमा कलाक्षेत्र निकै प्रभावकारी ढंगले अगाडि बढिरहेको छ ।
कलालेखन तथा अनुसन्धानका विषयमा राज्यको तर्फबाट कस्तो सहयोग चाहनुहुन्छ ?
पहिले त खोज–अनुसन्धानको महत्व र यसको आयामलाई राज्यले बुझ्नुपर्दछ । यसमा राज्यले लगानी बढाउनुपर्दछ । खोज–अनुसन्धानका लागि उचित वातावरण निर्माण गर्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने अवस्था सिर्जना गरिनुपर्दछ । साथै, विभिन्न वृत्ति उपलब्ध गराएर, विभिन्न परियोजना निर्माण गरी तथा सम्मान, पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गरेर राज्यले कलाक्षेत्रको खोज–अनुसन्धानका क्षेत्रमा अधिक काम गर्नुपर्दछ । साथै अधिकभन्दा अधिक कलाका बारेमा लेखिएका पुस्तक प्रकाशनमा ध्यान दिनुपर्दछ ।
शैक्षिक पाठ्यसामग्रीमा कलाले स्थान नपाउनुको कारण ?
समग्र राष्ट्रको मनोभावनालाई नबुझ्नु यसको मुख्य कारण हो । पढेका कतिपय विज्ञको टेक्नोक्रयाक्ट मानसिकताले कला संस्कृतिका विषय पाठ्यसामग्रीका रुपमा आउन नसकेको अनुभूत भइरहेको छ । खासगरी अनिवार्य नेपाली तथा अंग्रेजी विषयका पाठ्यसामग्रीमा नेपाली कलाको विषय अत्यन्तै न्युन मात्रामा रहेको छ । विद्यालय तथा विश्वविद्यालयका अनिवार्य विषयमा कला र संस्कृतिका पक्षलाई कम समेट्नु, साहित्यको हावी हुनु र खोज–अनुसन्धानको पाटो कमजोर हुनु यसको मूल कारण हो जस्तो लाग्छ । साथै कति त बाह्य प्रभाव पनि परेको हुनुपर्छ ।
नेपालमा पाठ्यक्रम तयार पार्ने विज्ञहरुले स्वदेशका विषयभन्दा पनि विदेशका विषय राख्न रुचाउनुको कारण के होला ?
खोज–अनुसन्धान गर्नुपर्ने झन्झट व्योहोर्न नपर्ने तथा अन्य व्यक्तिगत फाइदा पनि हुन सक्लान् । जे भए पनि नेपालका कला, संस्कृति तथा मानव निर्मित सम्पदाका विषयलाई पाठ्यक्रममा समेटेर नयाँपुस्तामाझ नेपालको कला तथा सांस्कृतिक पहिचानलाई स्थापित गरिनुपर्दछ ।
प्रतिभाशाली कलाकारको दस्तावेजीकरणसँगै योगदानको उचित मूल्यांकन गर्नका लागि के गर्नुपर्ला ?
खासगरी अग्रज स्रष्टाका कलाकृतिका साथै उहाँहरुले दिएको योगदानको कदर गर्न सरोकारी संस्थाले संग्रहालय स्थापना गर्ने, कलाकारको कृतित्व र व्यक्तित्व झल्किने विभिन्न प्रकाशन गर्नुपर्छ । सम्मान, पुरस्कार तथा विद्वतवृत्ति प्रदान गरिनुपर्दछ । सद्भावनादूत बनाई नेपालको कला र संस्कृतिलाई विश्वमा चिनाउने वातावरणको निर्माण गर्न राज्य अग्रसर हुनुपर्छ ।
कलाको परिभाषा कसरी दिनुहुन्छ ?
कला एक सिर्जनात्मक अभिव्यक्ति हो । कला रेखा वा रङ वा आकृतिबाट भावाव्यक्त गर्ने एक सशक्त सिर्जनात्मक माध्यम पनि हो ।
तपाईंको कृतिमा अटाएका कलाकारमध्ये केही छुटेजस्तो लाग्दैन ?
हो, पुस्तकमा थुप्रै अग्रज र योगदान दिएका कलाकार छुटेका छन् । त्यसलाई आगामी प्रकाशनमा समेट्दै जाने योजना छ ।
यो क्षेत्रमा आउन चाहनेहरुको लागि के भन्न रुचाउनु हुन्छ ?
कला आफैंमा एक स्वाभलम्बी बन्ने विधा हो । राम्रो काम गर्ने जोकोहीले भोकै बस्नुपर्दैन । तसर्थ कला क्षेत्रमा आउन चाहनेले निर्धक्क अध्ययन गर्न आउँदा हुन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
कला सिर्जनात्मक क्षेत्र भएकाले यसको सवलीकरण, सिर्जनाकर्म तथा बजारीकरणमा राज्यले चासो राखिदिए मात्रै पनि धेरै राहत मिल्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies