अर्घाखाँची : अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ढिकुरा घर भएकी सपना भुसाल अहिले नियमित स्वास्थ्य परीक्षणका लागि अर्घाखाँची अस्पताल पुग्ने गर्छिन् । सोमबार उनी पाँचौँ पटक अस्पतालको सेवा लिन पुगेकी थिइन् । बुटवल, पाल्पा र काठमाडौंंका ठूला अस्पताल चहारिसकेकी उनलाई अहिले आफ्नै जिल्लाको सरकारी अस्पतालको सेवा निकै मन परेको छ । आधा घण्टाको यात्रापछि अस्पताल पुग्न सकिने, दुई घण्टामै सबै चेकजाँच गरेर घर फर्किन सकिने भएकाले उनले बारम्बार यहाँको सेवा लिइरहेको बताइन् ।
एक समय अर्घाखाँची जिल्ला अस्पतालमा समयमा औषधि नपाइने, डाक्टर उपलब्ध नहुने, सबै रोगको परीक्षण नहुने र सामान्य समस्या लाग्दा समेत बुटवल पुग्नुपर्ने बाध्यताले बिरामीहरू आकर्षित नभएकामा पछिल्लो तीन वर्षमा अवस्था उल्लेख्य रूपमा सुधार भएको छ । दक्ष जनशक्ति थप्दै सबै रोगको नियमित परीक्षण गर्न थालेपछि बिरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले बताए ।
शीतगंगा–५ की चन्द्रकला न्यौपाने भन्छिन्,‘ठूला अस्पताल जाँदा दिनभर कुर्नुपर्छ, शुल्क महँगो हुन्छ र अनावश्यक परीक्षणको झन्झट पनि हुन्छ । अहिले अर्घाखाँची अस्पतालमै स्तरीय र नियमित परीक्षण हुने भएकाले धेरै सहज भएको छ ।’
सन्धिखर्कका कृष्णबहादुर अधिकारीले पनि ओपीडीदेखि ल्याब रिपोर्ट समयमै आउने भएकाले ढुक्क भएर उपचार गर्न सकिने बताए ।
हाल अर्घाखाँची अस्पतालमा नयाँ प्राविधिक सेवा थपिँदै गएको छ । विशेषज्ञ डाक्टरसहितका सबै विशेष सेवा सुरु गरिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले जानकारी दिए । बिरामीको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा दैनिक रूपमा स्त्रीरोग विशेषज्ञ डा. सुजन शर्मा र हाडजोर्नी विशेषज्ञ डा.अनुपकुमार गुप्ताले नियमित चेकजाँचसहित शल्यक्रिया सेवा सुरु गरेपछि बिरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको उनले बताए ।
जिल्ला अस्पतालमा मुटुको भिडियो एक्स–रे, इको, ईसीजी, रंगीन भिडियो एक्स–रे, आँखाको जाँच र चश्मा वितरण सेवा, साथै एमडिजिपी विशेषज्ञ डाक्टरमार्फत २४ घण्टा ओपीडी र आपतकालीन सेवा उपलब्ध भएको छ। मृगौला रोगीका लागि डायलासिस सेवा थप्ने, ल्याब तथा विशेषज्ञ सेवा अझै विस्तार गर्ने योजना रहेको पनि डा.तिवारीले जानकारी दिए ।
२०४५ सालमा सन्धिखर्कमा १५ बेड क्षमतासहित स्थापना भएको अस्पताल अहिले ५० बेड क्षमतामा प्रस्तावित भए पनि हाल ६१ बेडमा सेवा दिइरहेको छ । अस्पतालका ल्याब टेक्निसियन प्रमुख राजकुमार बन्जाडेका अनुसार ११ औँ तहका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा ६६ जनाको स्वीकृत दरबन्दी भएपनि स्थायी, करार, छात्रवृत्ति र अन्य कार्यक्रममार्फत १०१ जना कर्मचारी रहने व्यवस्था छ । हाल २ जना अध्ययन विदामा रहेकाले ९९ जना कर्मचारी सेवा दिइरहेका छन् ।
अस्पतालमा व्यवस्थापन र संगठन सर्वे नभएको, भवन जीर्ण भएको, नयाँ भवन निर्माण ढिलो भएको, ब्लड बैंक नहुँदा निःशुल्क रक्तदान सेवा दिन नसकिएको, विशेषज्ञ चिकित्सक अभाव जस्ता चुनौतीका कारण अपेक्षित सेवा दिन कठिनाइ भए पनि दैनिक २००–३५० बिरामीलाई चेकजाँच र उपचार सेवा दिइँदै आएको छ ।
अस्पतालले २४सैं घण्टा आकस्मिक सेवा, अन्तरंग, बहिरंग, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी लगायतका सेवा निरन्तर सञ्चालन गरिरहेको छ ।