२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

बेमौसमी काँक्रा खेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

ADV
रासस
२०८१ मंसिर १६ गते १३:१७
बेमौसमी काँक्रा खेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

कन्चनपुरः बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गरेका छन् । तीन कठ्ठा जग्गामा चौधरीले काँक्रा खेती गरेका छन् । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ ।

काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । ‘स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्’, चौधरीले भने, ‘व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्‍याएर बिक्री गरिँदै आएको छ ।’ अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए । 

गत वर्ष उनले रु दुई लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गरेका थिए । पिपलाडी गाउँमा व्यावसायिक तरकारी खेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेका छन् । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउँछन् ।

भारतीय तरकारी खेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारी खेती गर्ने तौरतरिका सिकेको बताए । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्छन् । 

काँक्रा खेतीबाट रु तीन लाख र अन्य तरकारी खेती गरी वर्षमा उनले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आएका छन् । तरकारी खेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौंमा डेरामा राखेर मेकानिकल इन्जिनियर पढाउँदै आएका छन् । उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् । 

‘तरकारी खेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ’, चौधरीले भने, ‘बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।’ पिपलाडी गाउँमा तरकारी खेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरी एक दशक अघिदेखि तरकारी खेतीमा संलग्न रहँदै आएका छन् । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise