एजेन्सी : पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका विस्फोटमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ ।
पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पंक्तितमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले कडा शब्दमा त्यस हमलाको निन्दा गरेका छन् । एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको इस्लामसँगको कुनै साइनो नहुने बताएका छन् । उनले भनेका छन्, ‘पूरा देश आतंकवादको त्रासविरुद्ध उभिएको छ ।’
पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले यस हमलाको निन्दा गर्दै चुनावअघि भएको यो विस्फोट निन्दनीय रहेको बताएका छन् । उनले आतंकवादी र तिनका सहयोगीलाई कडा कारबाही गरिने बताए ।
बिलावल भुट्टो जरदारीले एक विज्ञप्तिमा भने, ‘नेशनल एक्सन प्लान नै आतंककारीहरूको उपचार हो, यसलाई कडाइका साथ लागू गरिनेछ । पीपीपी कार्यकर्ता र अधिकारीहरूले रक्तदान गरेर घाइतेहरूको जीवन बचाउनु पर्छ ।’
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतंकवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन् । इमरान खानले भने, ‘पेशावर पुलिस लाइन्सको मस्जिदमा भएको विस्फोटको कडा निन्दा गर्दछौं । पीडितका परिवारप्रति समवेदना । आतंकवादको खतरासँग लड्नका लागि हामीले हाम्रो खुफिया तन्त्रमा सुधार गर्न र हाम्रा प्रहरीहरूलाई पर्याप्त हतियारहरूले सुसज्जित गर्न आवश्यक छ ।’
लेडी रिडिङ अस्पतालका एकजना प्रवक्ताले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै त्यसलाई आपत्कालीन अवस्था बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू पुगेका छन् ।
राजधानी इस्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहरबाट पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ ।
गत मार्च महिनामा समेत पेशावरको एक सिया मस्जिदमा भएको शक्तिशाली विस्फोटनमा परेर दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies