काठमाडौं : आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक नतिजाको रुझान हेर्दा मुख्य प्रतिस्पर्धी शक्ति नेपाली कांग्रेस र नेकपा एमाले नै देखिएका छन् । आइतबार राति अबेरसम्म झण्डै एक दर्जन वडा अध्यक्षको अन्तिम मत परिणाम आएको छ । अन्तिम मत परिणाम सार्वजनिक भएकामध्ये कांग्रेसले धेरै जितेको छ ।
कांग्रेस उम्मेदवारले दार्चुलाको दुुँहु गाउँपालिका– ५, जाजरकोटको कुशे गाउँपालिका– ७, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४, रोल्पाको सानीभेरी गाउँपालिका– ५, डोटीको पूर्वचौकी गाउँपालिका– ६ लगायत पालिका अध्यक्ष जितेका छन् । यी सबै वडामा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी छन् । एमालेका उम्मेदवारले दैलेखको दुल्लु नगरपालिका– १३, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, महोत्तरीको रामगोपालपुर गाउँपालिका– २ लगायत वडा अध्यक्ष जितेका छन् ।
गोरखाको गोरखा नगरपालिका– ५ मा माओवादीले जितेको छ । यसअघि यो वडामा एमालेले जितेको थियो । कालीकोटको तिलागुफा नगरपालिका– ४ मा भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले वडाध्यक्ष जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर माओवादीका नैशोभा शाहीलाई हराएका हुन् । यसअघि यो वडामा माओवादीले जितेको थियो ।
यद्यपि, दलहरूको परीक्षण भने पालिका पदाधिकारीमा हुने छ । कीर्तिपुर नगरपालिकाको मेयर, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्षसहित ८ जना पालिका पदाधिकारीका निम्ति यो उपनिर्वाचन भएको छ ।
यसअघि जितेको स्थिति हेर्दा कांग्रेसले जितेको २७ स्थान, एमालेले जितेको ७ र माओवादीले जितेका ८ स्थानमा उपनिर्वाचन भएको छ । प्रारम्भिक नतिजा हेर्दा कांग्रेस, एमाले र माओवादीको स्थिति देखिने अनुमान लगाउन सकिन्छ ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको उपनिर्वाचनमा ६२ प्रतिशत मतदान भएको हो । आयोगले सबै स्थानमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जनाएको छ ।
१/१ जना उम्मेदवारी कायम भएकाबाहेक नगरपालिकाका मेयर १ जना, उपमेयर १ जना, गाउँपालिकाका अध्यक्ष २ जना, उपाध्यक्ष ४ जना तथा वडा अध्यक्ष ३/३ जना गरी जम्मा ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार थिए । उपनिर्वाचनमा २५ राजनीतिक दल दर्ता भएकामा २० वटा दलका उम्मेदवारमा चुनावी मैदानमा थिए ।
ओखलढुंगा र कैलाली जिल्ला समन्वय समितिको मेयरमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका– २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो । उनीहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा संकलन गरिएको छ । एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुने छ । आयोगका अनुसार जाजरकोट र काठमाडौं महानगरपालिका– १६ मा कम मतदान भएको छ ।
आयोगले केही मतदान केन्द्रमा बढीमा ८५ प्रतिशतसम्म मतदान पनि भएको छ । सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा–१६ मा खसेको छ । आयोगले उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकेको थियो ।
कीर्तिपुरमा ६७ प्रतिशत मतदान
काठमाडौंको कीर्तिपुर नगरपालिकामा ६७ प्रतिशत मतदान भएको छ । २०७९ सालको निर्वाचनमा यस नगरपालिकामा ७९ दशमलव २४ प्रतिशत मतदान भएको थियो ।
कीर्तिपुर नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । यस पटकको उपनिर्वाचनमा यहाँ जम्मा ३१ हजार १२२ मतदाता थिए । तर, करिब २० हजार हाराहारीमा मात्र मत खसेको आयोगको प्रारम्भिक अनुमान छ । २०७९ सालको निर्वाचनमा ३० हजार ३२२ मतदाता थिए । त्यसमा २४ हजार ३२ ले मतदान गरेका थिए । २०७९ सालको भन्दा यहाँ १२ प्रतिशतले कम मतदान भएको हो । कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । २०७९ सालमा कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए ।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्यलाई ३ हजार ५३६ मतान्तरले पराजित गरेका थिए । यस्तै, काठमाडौंको १६ नम्बर वडामा पनि करिब ५० प्रतिशत मात्र मत खसेको छ । यहाँ २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष पदको मत १० हजार ६० थियो । यो पटक कम मत खसेको हो । कतै सुरु, कतै आज मतगणना स्थानीय तहको उपनिर्वाचनमा मतदान सम्पन्न भएका ४१ मध्ये कम्तीमा २० तहमा आइतबार नै मतगणना सुरु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकासहितका केही स्थानमा आइतबार रातिदेखि मतगणना सुरु भएको छ । अन्य केही स्थानमा भने सोमबार बिहान मात्र मत गणना हुने छ । गुल्मीको मुसिकोट नगरपालिका– १ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् । यहाँ मतगणना पौदीअमराई वडा कार्यालयमा गरिने छ । तर, हुम्लाको सर्केगाड गाउँपालिकामाा भने मतपेटिका पुग्न ढिला हुने भएपछि सोमबार बिहानदेखि मात्र मतगणना गरिने मुख्य निर्वाचन अधिकृत शम्भु बरालले बताए ।
दोलखाको गौरीशंकर गाउँपालिकामा ५० प्रतिशतभन्दा कमले मात्र मतदान गरेका छन् । यहाँ सोमबार मात्र मतगणना हुने भएको छ । वडा– ९ को मतपेटिका हेलिकोप्टरबाट ल्याइएपछि मतगणना हुने छ । जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर र कुशे गाउँपालिका– ७ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदानमा ६५ प्रतिशत मत खसेको छ । यहाँ सोमबारदेखि मतगणना गरिने छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को मतगणना सोमबार बिहानदेखि हुने छ ।
उपनिर्वाचन भएको गण्डकी प्रदेशको एक मात्र स्थान गोरखाको गोरखा नगरपालिका– ५ मा मतगणना सुरु भएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना पनि सोमबार नै हुने छ ।