२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

रविविरुद्धको मुद्दा अन्तिम चरणमा, ५ पुसमा अदालतमा दर्ता गर्ने तयारी

ADV
दिवाकर अधिकारी
२०८१ मंसिर २७ गते ०६:४५
रविविरुद्धको मुद्दा अन्तिम चरणमा, ५ पुसमा अदालतमा दर्ता गर्ने तयारी

काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा अन्तिम चरणमा पुगेको छ । 

२ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका रविले ५ फरक जिल्लाका ५ वटा सहकारीको रकम अपचलनबारे बयान दिएका छन् । कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सा जिल्ला अदालतमा उनीविरुद्ध उजुरी छन् ।

गितेन्द्रबाबु राई (जी. बी.)समेत संचालक रहेका सूर्यदर्शन सहकारी, सुप्रिम सहकारी, सहारा सहकारी, हाम्रो सानो पाइला सहकारी र स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा रविलाई ५ जिल्लामा घुमाएर बयान लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले रविलाई बिहीबार म्याद थपका लागि अदालत लगिने बताएका छन् ।

उनी ३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कास्कीबाटै उनलाई विभिन्न जिल्लामा लगेर बयान लिने क्रम अब सकिएको छ ।

लामिछानेबारे अनुसन्धान सकिएपछि अब कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गर्न थालेको छ । बिहीबार म्याद थपपछि केही दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी प्रहरीले गरेको छ ।

प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

५ वटा सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयान रवि अनि उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीको पनि बयान सकिएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने, उनका साझेदार जोशी, लीला पछाई र नेचर हब्र्स इन्टरनेसनलका संचालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।

रविसहित हिरासतमा रहेकाहरूलाई सहकारी ठगीसम्बन्धी ऐनमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको छ । त्यससँगै संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनअनुसार ९० दिन हिरासतमा राख्न पाइने कानुनी प्रावधानअनुसार उनीहरूलाई तीनै कसुरमा अनुसन्धान गरिएको हो ।

सम्पत्ति शुद्धीकरणमा प्रहरीले अभियुक्तलाई ९० दिन हिरासतमा राख्न सक्छ । त्यही कारण रवि र छवि दुवैलाई लामो समय हिरासतमा राखिएको हो । छवि पक्राउ परेको मंगलबार ८० दिन पूरा भएको छ । अब छवि पक्राउ परेको समयअनुसार नै अबको १० दिन अर्थात् ९० दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालत लैजानुपर्ने चुनौती प्रहरीलाई छ ।

५ पुसभित्र मुद्दा दर्ता गरिने

प्रहरीका अनुसार अनुसन्धान टुंग्याएर ५ पुसभित्र जिल्ला अदालतमा मुद्दा दर्ता गरिने तयारी छ । उनको अनुसन्धानमा संलग्न कास्की प्रहरीका १ अधिकृतले ५ पुससम्म आफूहरूले अनुसन्धान प्रतिवेदन फाइल गरिसक्ने जानकारी दिए ।

लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

‘९० दिनभित्र अनुसन्धान प्रतिवेदन अदालतमा पठाउनुपर्ने स्थिति छ, तोकिएकै अवधिमा प्रतिवेदन बुझाइसक्नेगरी प्रहरीले काम गरिरहेको छ’, एक उच्च प्रहरी अधिकृतले भने ।

लामिछाने पक्राउ परेको ५५ दिन भए पनि एउटै मुद्दामा ६ असोजमा पूर्वडीआईजीपी छविलाल जोशी पक्राउ परेकाले म्याद मिलान गर्दा ५ पुससम्म मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुर्‍याइएको जनाएको छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन उनको अनुसन्धानमा संलग्न १ अधिकृतले जानकारी दिए ।

कास्कीका एसपी ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।’

प्रहरीले लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक बरामद गरेपछि यसलाई सहकारी ठगीमा संलग्न बलियो प्रमाणका पेस गर्ने तयारी गरेको छ । गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक प्रहरीले फेला पारेको थियो ।

लामिछानेले भने बयानका क्रममा गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि खालि चेक काटेर घर्रामा छाड्ने गरेको बताएका थिए ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जी. बी.को नाममा २ पटक गरेर गाडी खरिद गर्न ४६/४६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको थियो ।

संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रा. लि.मा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्वडीआईजी जोशी पक्राउ परेका थिए । उनी ६ असोजमा पक्राउ परेका हुन् । 

सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका– ४ घर भएकी लीला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ । अनुसन्धानमा संलग्न १ जना अधिकृत भन्छन्, ‘पक्राउ परेका ५ जनाबाहेक ३५ जना फरार प्रतिवादी हुन्छन् ।’

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्र गोरखा मिडियामा ५ करोड ५८ लाख रुपैयाँ ल्याएको भेटिएको छ ।

कसरी अघि बढ्छ मुद्दा ?

पोखराबाट रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुने छ ।

सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि अदालतमा हुने थुनछेक बयान र बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउने छ ।

रविविरुद्ध सुरुमा कास्की जिल्ला अदालतमा मुद्दा दायर हुने छ । सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि रविको बयान र त्यसपछि थुनछेक बहस हुने छ । थुनछेक बहसपछि उनलाई साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि कारागार चलान भन्ने आदेश आउने छ ।

यदि उनी साधारण तारेख तथा धरौटीमा छुटेको अवस्थामा अन्य जिल्लाहरूमा पनि मुद्दा रहेकाले पुनः हिरासतमा रहने/नरहने भन्ने यकिन छैन ।

अब दोस्रो चरणको अनुसन्धानमा कति जना प्रतिवादी बन्छन् भन्ने यकिन हुन बाँकी नै रहेको कास्की प्रहरीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise