क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आयोजनामा हरितालिका तिज विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । परम्परागत रूपमा मनाइँदै आएको नेपाली संस्कृति र मौलिक चाडपर्वलाई सम्बर्धन गर्दै विगतका वर्षमा झैं यसपटक पनि हरितालिका तिज विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए मलेसियाले जनाएको छ ।
हरितालिका तिज विशेष सांगीतिक कार्यक्रममा नेपालबाट नायिका तथा मोडल मिशेल घिमिरे, नायिका एन्जिला रेग्मी, नायिका तथा मोडल झरना रिजाल, डान्सर वर्षा राई र डान्सर सोमा देवानसहित चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ ।
च्यारिटी साँझबाट संकलित सहयोग रकम मलेसियामा जेलमा परेका तथा अस्पतालमा उपचारको अभावमा अलपत्र परेका नेपालीहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको छ ।
एनआरएनए मलेसियाले मलेसियामा रहेका नेपाली चेलिबेटी र नेपाली दूतावासका महिला कर्मचारीलाई सहित कार्यक्रममा उपस्थित भई तिजको सांगीतिक माहोल र सांस्कृतिक एकताको मजा लिन आह्वान गरेको छ । कार्यक्रम मलेसियाको राजधानीमा अवस्थित होटल ग्रान्ड कन्टिनेन्टल, क्वालालम्पुरमा बेलुकी ६ बजेदेखि राति १० बजेसम्म हुने तय भएको छ ।