काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्याहरु हल गर्ने बताएका छन् ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सहकारीहरुलाई व्यवस्थित रुपले परिचालन गर्नको लागि हाल सहकारी विभाग सक्रिय रुपले लागेको उनले जानकारी दिए । विभागले विभिन्न निर्देशन गर्ने, हिनामिना गर्नेहरुको सम्पती रोक्का राख्ने लगायतका काम गरिरहेको उनले बताए । सहकारसँग आवद्ध दुई वटा केन्द्रीय निकायहरु नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र राष्ट्रिय सहकारी महासंघलाई पनि गाउँसम्म पुगेर सहकारीको डाटा संकलन गर्न आग्रह गरेको उनले जानकारी दिए । सहकारीहरुको वास्तविक तथ्याङ्क संकलन गरी बिग्रेको सहकारीहरुलाई नियमन गरेर जाने उनले बताए ।
उनले भने, ‘सहकारीहरुलाई व्यवस्थित रुपले परिचालन गर्नको निम्ति अहिले विभाग पनि सक्रिय रुपले लागेको छ । विभिन्न निर्देशनहरु गरेको छ । हिनामिना गर्नेहरुका सम्पती रोक्का राखेको छ । अरु कहाँ के के छन्, खोजी गर्ने काम गरेको छ । सहकारीसँग आवद्ध दुई वटा केन्द्रिय तहका निकायहरु छन् । नेफ्स्कुन भन्छ एउटा वचत तथा ऋणको कारोबार गर्ने, अर्को सम्पूर्ण सहकारी हेर्ने राष्ट्रिय सहकारी महासंघ छ । उहाँहरुलाई पनि हामी तलसम्म गएर तपाईहरु गाउँतहसम्म पुगेर कुन सहकारी कस्ता छन्, त्यसको डाटा बनाएर ल्याउने र त्यसलाई त्यही किसिमको परिभाषित गरेर राम्रोलाई राम्रो छ भन्ने हिसावले सन्देश दिदैँ जाने र बिग्रेकोलाई त्यही हिसाबले नियमन गरेर त्यसलाई अगाडी बढाउने कुराहरुमा सक्रिय रुपमा लाग्नुस् भनेर भनेका छौँ । उहाँहरु पनि लाग्नुभएको छ । मलाई के विश्वास छ भने यहाँहरु सबैको सहयोग भयो भने हामी एक/डेढ वर्षभित्रमा सहकारीले देखिएका समस्याहरु हल गर्यौँ भन्ने सन्देश दिन सक्छौँ ।’
मन्त्री अधिकारीले हालसम्म समस्याग्रस्त सहकारीका ६ हजार ७ सय व्यक्तिहरुको रकम पूर्ण भुक्तानी गरिसकेको जानकारी दिए । ५६ हजार व्यक्तिहरुको आंशिक भुक्तानी गरेको र ४ हजारभन्दा बढीको हिसाव मिलान र नगद भुक्तानी गरिसकेको उनले बताए । एक वर्षको अवधिमा भएको यो काम महत्वपूर्ण उपलब्धि रहेको उनको दाबी छ । समस्याग्रस्त सहकारीहरुको सम्पती रोक्का राखेर, रोक्का राखेको सम्पत्तिलाई परिचालन गरी प्रक्रिया मिलाएर, बैंकमा धितो भएकोलाई बैकबाट मिलाएर पुँजी ल्याउँदा एक/डेढ वर्ष लाग्ने उनको भनाइ छ ।
समस्याग्रस्त घोषणा गरेका २४ वटा सहकारीहमध्ये ३ वटाको राफसाफ भएको उनले जानकारी दिए । यस्तै २ वटा सहकारीको राफसाफ हुने क्रममा रहेको उनको भनाइ छ । ४ लाख रुपैयाँ हिसाव मिलान गर्न बाँकी रहेकोले ती दुई सहकारीको पनि छिट्टै हिसाव राफसाफ हुने उनले बताए । उनले यो वर्षभित्रमा अरु ५/७ वटाको राफसाफ गर्ने र अर्को वर्षमा समस्याग्रस्त घोषणा गरिएका सबै सहकारीको समस्या समधान गर्ने जानकारी दिए ।