काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले २१ पुसमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो । यसअघि २ पुसमा केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको थियो ।
नेताहरूका अनुसार केन्द्रीय समिति बैठक सर्नुको कारण पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राजनीतिमा पुनरागमन खोज्नु हो । पासाङले राजनीतिमा पुनरागमन खोजेसँगै माओवादी केन्द्रमा तरंग पैदा भएको छ । नेताहरूका अनुसार त्यही तरंगले २ पुसका लागि तय भएको केन्द्रीय समितिको बैठक नै स्थगित गराएको हो ।
यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले २ पुसका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । त्यसबेला ढिलो गरी बैठक राखेको भनेर पार्टीभित्र आलोचना भएको थियो । फेरि केन्द्रीय समितिको बैठक सर्न पुगेको हो ।
२०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि पासाङ माओवादीबाट अलग भएका थिए । २०७९ सालको निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय थिए ।
यहीबीचमा माओवादीमा चलेको अन्तरसंघर्षसमेतलाई मध्यनजर गर्दै पासाङ राजनीतिमा फर्किन लागेका हुन् । यो विषयमा प्रचण्ड र पासाङबीच पटकपटक छलफल भएको छ । त्यस आधारमा उनलाई उपाध्यक्ष बनाउन लागिएको छ ।
२ कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारी एमाले पार्टीको राजनीतिमा फर्किन लागेको चर्चा चलिरहेका बेला पासाङ माओवादीको राजनीतिमा सक्रिय हुन लागेका हुन् । हाल माओवादीमा उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ गुट नै बनाएर अगाडि बढिरहेका छन् ।
यो बेला प्रचण्डले पासाङलाई राजनीतिमा ल्याएर आन्तरिक अन्तरसंघर्षमा आफैंलाई प्रभावशाली बनाई राख्न खोजेको नेताहरूको बुझाइ छ । यही बुझाइका कारणले पनि माओवादीमा पासाङको राजनीतिमा फर्किने तयारीले तरंग ल्याएको हो ।
पासाङ स्वयं पनि राजनीतिप्रति आफ्नो चासो रहेको बताउँछन् । हालै निकटस्थहरूसँगको भेटमा उनले भनेका छन्, ‘म राजनीति गरेरै आएको व्यक्ति हुँ । उमेरले सक्दासम्म र योगदान गर्न सक्छु भन्ने लाग्दासम्म पार्टीको सक्रिय राजनीतिमा संलग्न हुन पाउनु मेरो अधिकार पनि हो ।’
पासाङ २०७० सालमा काठमाडौं क्षेत्र– ४ बाट प्रत्यक्षमा उम्मेदवार थिए । तर, पराजित भए । २०७२ सालमा उपराष्ट्रपति बने । २०७४ सालको चुनावपछि पासाङ पुनः उपराष्ट्रपति भए । त्यसयता राजनीतिमा सक्रिय नरहेका उनी फेरि सक्रिय हुन लागेका हुन् ।
रोल्पा राङ्सीमा २०२२ सालमा जन्मेका पासाङ विक्रमको २०४० को दशकबाटै राजनीतिमा लागेका थिए । विद्यार्थीकालमै प्रहरी यातना पाएका उनी २०५० सालसम्म पुग्दा अनेकन सार्वजनिक मुद्दा खेपिरहेका थिए, जो राजनीतिक आस्थाका कारण तत्कालीन सरकारले दुःख दिन मुद्दा लगाएको थियो ।
माओवादीले सशस्त्र संघर्ष घोषणा गरेपछिको पहिलो आक्रमण होलेरीदेखि दुनै, म्याग्दीको बेनी आक्रमणको कमान्ड पासाङले नै गरेका थिए ।
२०५५ सालमा गठित टास्कफोर्स र २०५६ सालमा गठन भएको लडाकु छापामारहरूको पहिलो कमान्डर पासाङ थिए । त्यसपछि बनेको लडाकुहरूको बटालियन कमिसार र कमान्डर, बिग्रेड कमान्डर, डिभिजन कमान्डर हुँदै शान्ति प्रक्रियामा आउने बेला पासाङ डेपुटी कमान्डर बनेका थिए ।
यसरी सशस्त्र संघर्षकालमै पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका पासाङ उपराष्ट्रपति बने । तर, उनलाई संवैधानिक जिम्मेवारी सम्हालेपछि पनि पार्टी राजनीतिमा फर्काउन खोजिएपछि माओवादीभित्रै हलचल पैदा भएको हो ।