२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

माधव–विप्लवको साझा निष्कर्ष : ‘प्रचण्डले अलमल्याउन मात्र खोजे’

ADV
दिवाकर अधिकारी
२०८१ पुष ४ गते ०८:०६
 माधव–विप्लवको साझा निष्कर्ष : ‘प्रचण्डले अलमल्याउन मात्र खोजे’


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नहुने निष्कर्ष निकालेका छन् । एकीकृत समाजवादीको स्थायी समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले माओवादीसँग एकता गर्न नहुने बताएका थिए ।
एकताका नाममा अध्यक्ष प्रचण्डले आफूहरूलाई अलमल्याएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । एकताका लागि यसअघि नै दुवै पार्टीले वार्ता समिति बनाएका थिए । 

माओवादीको वार्ता समितिका संयोजकमा कृष्णबहादुर महरा थिए । वार्ता समिति सदस्यमा गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत थिए । माओवादीसँग एकता गर्न एकीकृत समाजवादीले बेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

सदस्यमा प्रकाश ज्वाला र विजय पौडेल थिए तर दुवै पार्टीको वार्ता समिति सक्रिय हुन सकेन । यसको कारण एकीकृत समाजवादीले प्रचण्डलाई देखाउँदै एकताको पक्षमा नरहेको सन्देश दिएको हो । तर, मोर्चाको रूपमा भने अगाडि बढ्ने एकीकृत समाजवादीको नीति छ । 

ठीक यही निष्कर्षमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि पुगेको छ । कपिलवस्तुको शिवगढीमा २ दिनसम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई ‘एकताविरोधी’को संज्ञा दिएको छ । 

यसअघिको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको र त्यसअनुसार महासचिव विप्लवले प्रचण्डसँग छलफल गरे पनि एकता हुन नसकेको निष्कर्षमा नेकपाका नेताहरू पुगेका हुन् । 

नेकपाले एकता गर्ने निर्णय गरिएको तर प्रचण्डले एकताको विषयमा गम्भीर ढंगले छलफल नै गरेको निष्कर्षमा नेकपाका नेताहरू पुगेका हुन् । नेकपाले पनि माओवादीसँग तत्काल एकता नभए तापनि सहकार्य जारी राख्ने भनेको छ । 

अर्थात्, पार्टी एकताका नाममा प्रचण्डले आफूहरूलाई अलमल्याएको साझा निष्कर्षमा माधव नेपाल र विप्लव पुगेका हुन् ।  ३ पार्टी सम्मिलित समाजवादी मोर्चा भने जीवित छ तर पछिल्लो समय समाजवादी मोर्चा क्रियाशील छैन । यहीबेला एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले प्रचण्डले एकताका नाममा आफूहरूलाई अलमल्याएको निष्कर्ष निकालेका हुन् ।

तर, माओवादी केन्द्रका महासचिव देव गुरुङ सकेसम्म सबै वामपन्थी दलहरूको ध्रुवीकरणको पक्षमा आफूहरू रहेको बताउँछन् । वामपन्थी दलहरूलाई एकीकृत गर्ने प्रयास केही लामो भए तापनि निरन्तर जारी रहने उनको जबाफ छ । उनी भन्छन्, ‘वामपन्थी एकता वा ध्रुवीकरण माओवादीको नीति हो । यो प्रयास निरन्तर जारी रहने छ ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise