काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपस्थित भएका छन् ।
यसअघि पदाधिकारी बैठकमा मात्र उपस्थित हुने गरेका पुन बिहीबार बसेको स्थायी समिति बैठकमा सहभागी भएपछि धेरैले असहज महसुस गरेका थिए । स्थायी समितिको बैठकमा उनको उपस्थितिले उनी सक्रिय राजनीतिमा फर्किएको अड्कल लगाएको छ ।
२१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि बिहीबार स्थायी समिति बैठक बसेको हो ।
१९ मंसिरमा गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रममा पुनले आफू सक्रिय राजनीतिमा आउन लागेको संकेत गरेका थिए ।
जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत रहेका पासाङले व्यवस्थाको रक्षाका लागि आफू फेरि ‘रातो मान्छे’ बनेर उभिन तयार रहेको बताएका थिए ।
पुन आफैंले पनि आफू सक्रिय राजनीतिमा आइसकेको र त्यसबारे द्विविधा नराख्न भन्दै आएका छन् ।
सक्रिय राजनीतिमा फर्किन ‘वार्मअप’ गरिरहेका पुनलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सक्रिय राजनीतिमा ल्याएर उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई ‘साइज’मा राख्न खोजेको पनि चर्चा चलिरहेको छ ।
अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि पार्टीमा भित्र्याएर शक्तिशाली महासचिव बनाउने र पार्टीलाई थप गति प्रदान गर्ने तयारी गरेका थिए ।
तर, विप्लवसँग एकताको सम्भावना टरेपछि प्रचण्डले अन्ततः पुनलाई पार्टीमा प्रवेश गराउन लागेका हुन् ।
बिहीबार बसेको स्थायी कमिटी बैठक सुरु हुनुअघि पुनको प्रवेशबारे नेताहरूबीच कानेखुसी भएको थियो । उनलाई दिइने जिम्मेवारीबारे माओवादीभित्रै चासोका साथ हेरिएको छ ।
‘स्थायी समिति बैठकमा पुन उपस्थित हुँदा धेरै नेताहरूले मुखामुख गर्नुभएको थियो । उहाँलाई पार्टीमा दिइने जिम्मेवारीबारे सबैले चासो व्यक्त गनुर््भएको छ’, एक स्थायी समिति सदस्यले भने ।
जिम्मेवारी दिने विषयमा विवाद !
पुनलाई दिइने जिम्मेवारीका विषयमा पार्टीभित्र भने मतभेद उत्पन्न भएको छ । माओवादीभित्र अहिले अध्यक्षको उत्तराधिकारी को भन्ने विषयमा विवाद छ । त्यसमा जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरूको दाबी छ । त्यसलाई रोक्नका लागि प्रचण्डले नै पुनलाई अघि सारेको अनुमान गरिएको छ ।
प्रचण्डको यो तयारीप्रति शर्मा र वर्षमान पनि असन्तुष्ट छन् । पासाङ विद्या भण्डारी राष्ट्रपति भएका बेला २ कार्यकाल उपराष्ट्रपति भएका थिए । उपराष्ट्रपति हुनुअघिसम्म उनी अध्यक्ष प्रचण्डका विश्वासपात्र थिए ।
माओवादीमा पासाङ, शर्मा र चन्द्रदेव खनाल लडाकुको डेपुटी कमान्डर थिए । ७ कात्तिक २०२२ मा रोल्पाको राङ्सीमा जन्मिएका पासाङ २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं– ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित भएका थिए ।
उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो । यसयता डेढ वर्ष उनी कुनै राजनीतिक कार्यक्रममा सहभागी भएका थिएनन् ।
एजेन्डा तय
स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ ।
केन्द्रीय समितिमा प्रस्तुत हुने ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरेको हो ।
त्यस्तै, अध्यक्षलगायत प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने, अगामी कार्ययोजनाका एजेन्डासमेत तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा बैठकमा अध्यक्ष प्रचण्डको जोड थियो । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको प्रवक्ता सापकोटाले बताए ।
माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने निर्णय पनि गरेको छ । मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने छ ।
माओवादी केन्द्रले राष्ट्रिय समस्याहरूको समाधान गर्न सबै दल एक ठाउँ उभिनुपर्ने पनि बताएको छ । बैठकले संविधान संशोधनका अन्तर्वस्तु, देशमा देखिएका समस्या र अन्तर्राष्ट्रिय संकटमा दलहरूबीच साझा दृष्टिकोण निर्माणको पहल गर्ने निष्कर्ष निकालेको हो ।