काठमाडौं : गाजामा इजरायल र हमासबीच युद्धविराम लागू भएको छ । आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताअनुसार दुवै पक्षले बन्दी बनाएकाहरूलाई रिहा गर्न थालेका छन् ।
१५ जनवरीमा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता भएको थियो ।
युद्धविराम लागू भएपछि इजरायलका राष्ट्रिय सुरक्षामन्त्री बेन–गिभिरले राजीनामा दिएका छन् । गिभिर युद्धविरामका कटु आलोचकका रूपमा रहँदै आएका छन् । प्रधानमन्त्री नेतन्याहुको नाममा लेखेको राजीनामापत्रमा उनले सरकार ढाल्न कुनै काम नगर्ने तर युद्धविराम आतंकवादीहरूका लागि पूर्ण जित भएको टिप्पणी गरेका छन् ।
इजरायल–हमासबीच युद्धविरामसँगै १५ महिनापछि जारी युद्ध पनि अन्त्य भएको छ । ३ चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आइतबारदेखि सुरु भएको हो ।
सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गरेको छ । रिहा हुनेहरूमा इजरायली सैनिक, महिला, बालबालिका, वृद्धवृद्धा र घाइते छन् । यस्तै, इजरायलले १९ सय प्यालेस्टाइनी बन्दी र कैदीहरू रिहा गर्ने छ ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्या गरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
युद्धविरामको पहिलो चरण ६ साताको हुने सम्झौतामा उल्लेख छ ।
इजरायलले पनि प्यालेस्टाइनी बस्तीबाट सेना फिर्ता सुरु गर्ने तथा प्यालेस्टाइनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिइने र ती स्थानमा मानवीय सहायताका लागि हरेक दिन करिब ६०० ट्रकलाई प्रवेश अनुमति दिने सम्झौतामा उल्लेख छ ।
दोस्रो चरणमा इजरायली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता हुने भनिएको छ । यस्तै, हमासले आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकलगायत थप बन्दी रिहा गर्ने सम्झौता छ । तर, त्यसअघि पहिलो चरणको युद्धविरामको समीक्षा हुने छ ।
युद्धविरामको तेस्रो चरण गाजाको पुनर्निर्माणसँग बढी सम्बन्धित छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएअनुसार यो चरणमा ३ देखि ५ वर्षे पुनर्निर्माणको योजना कार्यान्वयन अघि बढ्ने छ । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा गाजा पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने छ । त्यसअघि हमासले बाँकी बन्धक र बन्दी अवस्थामै मृत्यु भएकाहरूको शव फिर्ता गर्ने छ ।
१५ महिने युद्धको क्रममा इजरायलको आक्रमणबाट गाजामा रहेका ६० प्रतिशत संरचना ध्वस्त भएका छन् भने २३ लाखभन्दा बढी विस्थापित भएका छन् । युद्धमा परेर मृत्यु भएका करिब ४८ हजारमध्ये १८ हजारभन्दा बढी बालबालिका छन् । युद्धका कारण १ लाखभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् ।
युद्धविराम सम्झौतासँगै हमासले मुक्त गरेका ३३ बन्धकमा नेपाली विद्यार्थी विपीन जोशी भने छैनन् ।
सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विद्यार्थी जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरायल गएका थिए । उनी गाजाको सीमा नजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।
अध्ययनको क्रममा इजरायलमा रहेका जोशीलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।
हमासको आक्रमणमा कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो भने जोशीसहित २५० जनालाई बन्धक बनाएर लगेका थिए ।
जोशीसँग फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए । तर, पछि उनलाई हमास लडाकुले लगेको थियो ।