
काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।
प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु हुने भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म १६ वटा रिट दायर भएका छन् । ती सबै रिटमाथि संवैधानिक इजलासमा एकैपटक सुनुवाइ हुनेछ ।
अधिवक्ताहरू शेरबहादुर रोकाया, विमल पोखरेल, आभाष पोखरेल, दलबहादुर धामी, खड्कबहादुर शाहलगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्री नियुक्ति तथा संसद् विघटन बदर गर्दै संसद् पुनर्स्थापना गर्न माग गरिएको रिटमाथि आजदेखि प्रारम्भिक सुनुवाइ हुने भएको छ ।