२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

रोचक यात्रा कथा : जिगमिषा

hardik ivf
२०८१ माघ १२ गते ०६:२०
रोचक यात्रा कथा : जिगमिषा

–रत्न प्रजापति

दर्शक, श्रोता अथवा पाठकमाझ कृष्णमुरारि ढुङ्गेल अपरिचित नाम होइन । विगतमा लामो समय पत्रकारिता, रेडियो कार्यक्रम, रङ्गमञ्च र टेलिश्रृंखलादेखि ठूलो पर्दाका चलचित्रसम्म अभिनय, पटकथा लेखन र निर्देशनमा सक्रिय र पछिल्लो समय नियात्रा लेखनमा समेत सक्रिय ढुङ्गेल विदेशमा बसोबास गर्छन् । देशमा विद्यमान बेथिति र त्यही बेथितिले सिर्जना गरेको अवसरको अभावले गर्दा धेरै महत्वाकांक्षी युवालाई अवसरको खोजीमा विदेश पलायन हुनुपर्ने बाध्यता छ । त्यही बाध्यता कृष्ण मुरारी ढुङ्गेलले पनि भोगेका हुन् भन्दा अतिशयोक्ति नहोला । 

विदेशमा रहँदाकै अवस्थामा समय समयमा यात्रामा निस्कँदाका अविस्मरणीय क्षणहरूलाई शब्दहरूमा लिपिबद्ध गरेर नियात्रा सिर्जना गर्ने ढुङ्गेलको यसअघि नियात्रा कृति ‘होहाहोला’ (२०७८) प्रकाशित छ । उनै नियात्राकार ढुङ्गेलको हालै अर्को नियात्रा कृति ‘जिगमिषा’ (२०८१) प्रकाशित भएको छ । यसलाई शिखा बुक्सले प्रकाशन गरेको हो । 

यसो त ‘जिगमिषा’मा विभिन्न देशको यात्राको क्रममा सँगालिएका अनुभव र अनुभूतिलाई अभिव्यक्त गरेको भए पनि लेखकले यो कृतिलाई नियात्रा नभनी यात्रा कथा भनेका छन् । नियात्रामा कथाको स्वाद भरिएकाले यसलाई यात्रा कथा भन्नुमा कुनै अस्वाभाविकता पनि देखिँदैन । यो संग्रहमा अमेरिकाको डेनभरदेखि सानफ्रान्सिस्को र सिङ्गापुर (ट्रान्जिट मात्रै) हुँदै इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा आधारित १३ वटा यात्रा कथा संग्रहीत छन् । अमेरिका र सिंगापुरसँग सम्बन्धित दुई वटा, इन्डोनेसियासँग सम्बन्धित चार वटा, अस्ट्रेलियासँग सम्बन्धित पाँच वटा र न्युजिल्याण्डसँग सम्बन्धित दुई वटा यात्रा कथा छन् ।

हरेक मान्छेमा जिगमिषा हुन्छ । त्यही जिगमिषाले डो¥याएर मान्छे कहाँ–कहाँ पुगिरहेको हुन्छ, रमाइरहेको हुन्छ र आनन्द प्राप्त गरिरहेको हुन्छ । जिगमिषा भनेको कुनै ठाउँमा जाने इच्छा वा पुग्ने चाहना हो । लेखक ढुङ्गेललाई जिगमिषाले डो¥याएर आफू बस्दै आएको देशबाहेक अरू तीन वटा देशहरूका विभिन्न सहरहरू, विशेषगरी इन्डोनेसियाको बाली, अस्ट्रेलियाको सिड्नी, क्यानबेरा, मेलबर्न र तासमानिया अनि न्युजिल्याण्डको अकल्याण्डलगायत पुगेका छन् । त्यहाँ पुगेर रमाएका छन् र आफ्नै देश सम्झेर टोलाएका पनि छन् । उनी जहाँ पुगे पनि आफ्नो देशलाई सम्झेका छन् । यात्रामा उनी एक्लै पनि छैनन् । यात्रामा उनलाई धर्मपत्नी सरिता, साथी मोहन मिश्र, जसलाई उनी दाइ भनेर सम्बोधन गर्छन्, र मोहनकी धर्मपत्नी अनुराधाले साथ दिएका छन् । सबै यात्रामा ती चारै जना सँगसँगै छन् । 

केही वर्षअघिसम्म स्रष्टा दिनेश सत्यालले नियमित निबन्ध कथा लेख्थे । अहिले त्यति लेखिएका छैनन् । तर, निबन्ध, नियात्रा र कथालाई फ्युजन गरेर अथवा यी तीनै वटाको स्वाद भरेर निकथा लेख्ने प्रचलन भने सुरु भएको छ । कथाकार विक्रमभक्त जोशीले ‘चोभारब्लुज’ शीर्षकमा निकथा संग्रह नै प्रकाशित गरेका छन् । यसैगरी विनोद दीक्षितको ‘तमसोमा ज्योतिर्गमय’, समिर नेपालको ‘नबिर्सने यात्रा’ लगायतका यात्रा कथा संग्रह पनि प्रकाशित छन् । संसारका अरू विभिन्न भाषामा यात्रा कथा लेखिएका छन् र प्रसिद्ध चलचित्र पनि बनेका छन् । यस्तै, मध्येको एक चलचित्र हो ‘नोम्याडल्याण्ड’ । एक ६० वर्षीया विधवा फिरन्ते महिला फर्नको यात्रा कथामा आधारित सो चलचित्रले सन् २०२० को अस्कर अवार्डमा तीन वटा विधामा अवार्ड प्राप्त गरेको थियो ।

नेपाली साहित्यमा पछिल्लो पटक नियात्राकार ढुङ्गेलको यात्रा कथा संग्रह ‘जिगमिषा’ प्रकाशित भएको छ । यसो त साहित्य परिचय अथवा साहित्य सिद्धान्तमा निकथा र यात्रा कथाबारे खासै उल्लेख भएको पाइँदैन । लेखकले स्वविवेकले नै आफ्नो सिर्जनालाई कुनै विधा विशेषका रूपमा चिनाउने प्रयास गर्दै आएका छन् र त्यस्तो विधा स्थापित हुने क्रममा पनि छ । नेपाली साहित्यमा विभिन्न उपविधाहरू जन्मिने क्रम जारी छ । 

यात्रा कथा ‘जिगमिषा’मा लेखक ढुङ्गेलले आफ्नै यात्राको बारेमा वर्णन गरेका छन् । तर, ती नियात्रा जस्ता छैनन्, होइनन् । नियात्राकारले लेखेको नियात्रा जस्ता लाग्दैनन् । बरु कथा जस्ता लाग्छन्, कुनै कथाकारले लेखेको कथा जस्तो । सम्भवतः यात्राको वर्णन अथवा नियात्रा जस्तो नभएकाले नै लेखकले यात्रा कथा भनेका हुन् । वास्तवमा यो संग्रहभित्रका नियात्राहरू यात्रा कथा नै हुन् । किनभने त्यसमा यात्राको वर्णन, यात्राको भोगाइ, यात्राको अनुभव र यात्राको अनुभूतिभन्दा पनि यात्रामा मनले महसुस गरेका र भावनाले लेखिएका भावनात्मक अभिव्यक्ति छन् । आख्यानात्मक शैलीमा लेखिएका छन्, यात्राबारे बुनिएका कथानक छन् र तिनै कथानकले आकार दिएका कथा छन् । 

भूमिका लेखक डा. लक्ष्मणप्रसाद गौतमका शब्द सापटी लिएर भन्नुपर्दा विदेशमा घुमिरहँदा त्यहाँका मान्छेहरूमा र सरकारमा पनि आफ्नो सभ्यता, इतिहास, धर्म, संस्कृति, परम्परा, प्रकृति, मौलिकता आदिको संरक्षण गर्ने सचेतता देखिएको र नेपालमा नेता र जनतामा त्यो नदेखिएकामा खिन्नताको अनुभूति छन् यात्रा कथामा । विदेशका भौतिक उन्नति, राम्रो व्यवस्था, नैतिकता, अनुशासन देख्दा नेपालमा विपुल सभ्यता, प्रकृति र संस्कृति हुँदाहुँदै पनि अव्यवस्था र विसंगति मात्र भोग्नुपरेको दुर्नियतिलाई लेखकले गहिरो रूपमा देखाएका छन् । लेखक आफू डुल्दा पनि नेपाललाई साथै लिएर डुलेका छन्, घुमेका छन् । यात्रा कथामा देश प्रेमको भावना छचल्किएको पाइन्छ । 

यात्राको रोमाञ्चभन्दा कथाले छोड्ने भावनात्मक छाप बढी छन् यात्रा कथामा । कतै गलत पत्रकारिताप्रति व्यंग्य छ । कतै राष्ट्रियताप्रतिको गौरवानुभूति छ । कतै हर्ष छ र कतै विष्मात छ । कतै संवेदना छ त कतै संवेग पनि छ । कतै हास्य छ त कतै व्यंग्य पनि छ ।

नियात्रामा स्थानीय भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विषयवस्तुका बारेमा यथेष्ट तथ्यपरक सूचना र जानकारी दिने प्रयत्न गरिएको हुन्छ । तर, ढुङ्गेलका यात्रा कथामा त्यस्तो सूचना वा जानकारी दिने प्रयत्न गरेका छैनन् अथवा दिनु आवश्यक ठानेका छैनन् । त्यसैले यात्रा कथामा सूचना र जानकारीभन्दा लेखकको भावना, कल्पना र पूर्व स्मृति बढी हाबी भएको छ । यसो त लेखकले नै यात्रा कथा भनिसकेपछि लेखन पनि कथानक बुन्नमै केन्द्रित भएकाले यात्रा कथाको पठनबाट आनन्द भने प्राप्त गर्नेछन् । 

लेखकले यात्राभरी दर्शकको आँखा मात्रै प्रयोग गरेका छन् । अन्वेषकको आँखा प्रयोग गरेको महसुस हुन्छ । उनी जहाँ जता पुगे पनि जे–जस्तो कुरा देखे पनि त्यसलाई एउटा दर्शक अथवा अवलोकनकर्ताको आँखाले मात्रै हेरेका छन् र जे देखेका छन् । त्यसैको सपाट वर्णन गरेका छन् । अन्वेषकको आँखाले हेर्ने र थप खोजीनिती गर्ने प्रयास भएको छैन अथवा अत्यन्तै कम भएको छ । त्यसैले पाठकहरू यथेष्ट उपयोगी सूचना र जानकारी पाउनबाट वञ्चित भएका छन् । 

साँच्चै भन्ने हो भने नियात्रामा पाठकहरू यात्राको वर्णन वा लेखकको गन्थन मात्रै पढ्न चाहँदैनन् । लेखकसँगै यात्रामा हिँडेको अनुभूति सँगालेर पठनको आनन्द लिनुका साथै, स्थानीय भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक आदि विषयवस्तुका बारेमा यथेष्ट जानकारी पनि हासिल गर्न चाहन्छन् । यसको कमी महसुस हुन्छ । यद्यपि, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । किनभने यो यात्रा कथा संग्रह हो । 

विदेशमा अल्पसंख्यक हिन्दुहरूले आफ्नो धर्म, संस्कृति र संस्कार कायम राखेका छन् । तर नेपालमा हिन्दुहरूको बाहुल्य भइकन पनि राजनीतिक उद्देश्यले नेताहरूको स्वार्थपूर्तिका लागि मात्रै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको र आधुनिक बन्दै गरेका नेपालीले हिन्दु परम्परालाई त्याग्दै विदेशी परम्परालाई अपनाएकोमा दुःख व्यक्त गरिएको छ । अदूरदर्शी नेताप्रति कसिलो व्यङ्ग्य पनि प्रहार गरिएको छ । सानो देशलाई सङ्घीयतामा बाँडेर नेता पोस्ने र कार्यकर्ता पाल्ने काम गरेकोमा पनि नेताहरूप्रति असन्तुष्टि पोखिएको छ ।

सरल भाषा शैलीमा लेखिएको यो यात्रा कथा अत्यन्तै बोध गम्य छ । यद्यपि, सपाट वर्णन र उस्तै लाग्ने कथाको बाहुल्यताले कतैकतै पट्यार पनि लाग्छ, तर त्यसलाई प्रस्तुतिमा भएको मिठासले तुरुन्तै मेटिदिन्छ । भावना र मानवीय संवेदना पक्ष निकै सबल भएकाले पाठकहरू कतैकतै भावुकतामा डुब्नेछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise