–प्रकाशचन्द्र खतिवडा
बंकर भत्काएर
लास गणना गरिँदै छ
गाजा नब्युँझँदै ।
गाजामा पानी बग्दैन
रगत बग्छ
रगतले मुछिएको घाइते हमास युवा
आत्म समर्पण नगरी
मोर्चाको अग्रभागमा तैनाथ छ
उ लड्नेछ
गाजा रक्षार्थ
अन्तिम सास रहुन्जेल
इजरायलको ज्यादती विरुद्ध ।
गाजाको आकाश
धुवाँले ढाकिएको छ
उड्न छोडिसके चराहरू
उड्छन् ड्रोनहरू
मृत्युका साइरन बजाउँदै
यत्र तत्र छरिएका लासहरू बटुल्ने
मलामी छैनन्
शवयात्रा निकाल्ने कोही नभएपछि
चिहानसम्म पु¥याइदैनन् लासहरू ।
भत्किएका छन् भवनहरू
ध्वस्त छन् मिनारहरू
भग्नावशेष रगतले पोतिएको छ
त्यतै कतै
एक वृद्ध आमा
रोइरहेकी छन्
भग्नावशेषले किचिएर
उद्धार टोली त्यहाँ पुगेकै छैन
भोक र तिर्खाले मर्ने छिन् आमा ।
तोता मैनाको कथा
कसैले भन्दैन त्यहाँ
आमाहरू लोरी गाउँदैनन्
शिशुहरू बम माथि सुताइएका छन्
शिशुहरूको चिच्याहट सुनेर
आमाहरू तर्सिरहेछन्
बम पड्कन्छ
शिशुहरू क्षत विक्षत हुन्छन्
शिशुहरूको शरीर
धुलो र धुवाँले पुर्छ
आमाहरू धुवाँ र धुलो पन्छाई
आफ्ना शिशुको
पहिचान खोज्न तल्लीन छन्
ठिक त्यही बेला
ड्रोन आक्रमण हुन्छ
आमाहरू समेत मारिन्छन् ।
शरणार्थी शिविरमा
एक वृद्ध बा
ह्वील चेयरमा बसेर
युद्धमा गएका छोरा छोरीको
जीवन रक्षार्थ प्रार्थना गर्दै
नाति नातिनीलाई भनि रहेछन्
देशको माया गर्न सिक
युद्ध सकिन्छ जब
रोप्नु पर्छ बिरुवा
र फलाउनु पर्छ अन्न ।
आकाश शून्य छ
शून्यतालाई चिर्दै
प्यालेस्टाइन अर्चना गर्दै छ
बाँच्ने हुटहुटी लिएर
नजिकै भग्नावशेषमा
पुरुष आवाज साउती मारिरहेछ
सायद मृत्युलाई जितेर
उद्धारको प्रतीक्षामा छ ।
जीवनको त्यान्द्रोमा
उ अल्झिएको होला
उसमा जीवनको आशा पलाएको हुन सक्छ
उ सम्झन चाहँदैन
मृत्युमय रात
उ देख्न चाहन्छ
सुनौलो बिहानी
जहाँ रक्तिम सूर्य उदाएको हुन्छ ।
म गाजाको कविता लेख्न बसेको छु
म निहत्था मान्छे
मात्र कलम छ मेरो साथी
कलम कविता लेख्न मान्दैन
कलम रुन्छ
म रुन्छु
गाजा र मानवता
रोइरहेको छ पीडाले
पीडाकै कविता लेखूँ भन्छु
मेरो कलम विद्रोह गर्दै
मसी हैन
रगत छाद्छ
गाजामा नरसंहार भए पछि ।