२०८२ भदौ १४ गते शनिवार / Aug 30 , 2025 , Saturday
२०८२ भदौ १४ गते शनिवार
Ads

कथा : किसान रोएको साँझ

shivam cement
२०८२ भदौ १४ गते ०६:१०
कथा : किसान रोएको साँझ

–शम्भू पनेरू

भोजकुमार उमेरले पचास नाघेका छन् । घरमा वृद्ध आमा, श्रीमती र दुई नानीहरू छन् । एउटा छोरो विदेश गएको तीन वर्ष भइसक्यो, तर उसले पठाएको पैसा गाउँसम्म आइपुग्दा ऋण तिर्नेभन्दा बढी केही बाँकी रहँदैन । त्यसैले भोजकुमारको भर खेतीपाती र गाईपालनमै छ ।

बिहान उठ्ने गाईको घाँस र दुधको काम गर्ने अनि दिउँसोभर तरकारी खेतीको काम गर्ने । यसरी नै बित्छ भोजकुमारको दिन । तर, सबैभन्दा गाह्रो उनले उब्जाएका वस्तुको मूल्य छैन । 

परिवारमा नुन अनि तेलको सबैभन्दा बढी जोहो गर्ने दूध छ । तर, दूधको मूल्य निकै थोरै छ । खाँटी दूध, मुस्किलले ६० रुपैयाँमा बिक्छ । बजारमा दुई बोतल पानी बराबर एक लिटर दूधको मूल्य । तर, भोजकुमारलाई हार मानेर पनि उपाय छैन ।

भोजकुमार दूधले नपुगेपछि तरकारी खेतीतर्फ पनि जोडिए । उनले गाउँको माथिल्लो डाँडामा पाँच रोपनी जग्गामा बन्दा, काँक्रो, टमाटर, गोलभेँडा, खुर्सानीलगायतको खेती पनि गरे । तर, महिनौं मेहनेत गर्‍यो, उस्तै...।

बाली राम्रै हुन्छ । तरकारीको खेत हेर्दा उसको मनमा आशा पलाउँछ– यो पटक त ऋण तिर्छु, नानीहरूको पढाइको खर्च पनि चल्छ, आमालाई औषधि पनि किनिदिन्छु ।

मुस्किलसँग बजारसम्म तरकारी पु¥यायो । घण्टौं हिँडेर लग्यो । तर, मूल्य नपाउने ।

काठमाडौंबाट व्यापारी ट्रक लिएर तरकारी लिन आउँथे । तर, मूल्य असाध्यै कसेर लैजान्थे । गोलभेँडा जम्मा १५ रुपैयाँ किलो भन्थे । 

“ए हैन, यो त कम्तीमा ३० रुपैयाँ पर्छ नि” भनेर भोजकुमारले आग्रह गर्‍यो । तर, व्यापारीको हाँसोयुक्त जवाफ आयो, “तपाईंलाई महँगो लाग्छ भने लैजानुस् न घरै, हामीलाई किन चाहियो ?”

मन त दुख्थ्यो तर के गर्ने ? ‘तरकारी घरै लगेर बिगार्नुभन्दा सस्तोमै बेच्नु सही’ भन्दै बेच्यो । केही तरकारी त सस्तो पनि नबिक्ने । खेतमै सुकेर अनि गुहिएर जाने ।

तरकारी बेचेर घर फर्किँदा सधैँ भोजकुमारको खुट्टा सधैँ भारी भएका हुन्थे । काँधमा बोकेको तरकारीभन्दा भारी हुन्थ्यो उनको मन । श्रीमतीले मुख हेर्दै सोध्थिन्, “के भएन त, कति पैसा आयो ?” भोजकुमारले झोली देखाउँथे– जम्मा पाँच सय । त्यो रकमले महिनाको नुनतेल त आउँदैन ।

घाटाको खेतीले भोजकुमारलाई निद्रा लाग्दैन । त्यही दिन खोरमा गाईहरू ‘राँव राँव’ गर्छन् । पेटभर घाँस खाएर बसिरहे पनि, बजारमा दुधको मूल्य सम्झिँदा उसलाई गाई नै बोझ झैँ लाग्छ । “यी बेचिदिऊँ कि ?” भन्ने विचार पनि आउँछ । तर फेरि लाग्छ, “यी नभए त बालबालिकाले बिहान दूध कहाँ पाउँछन् र ?”

कुमरी गाउँको आकाशमा चन्द्रमाले उज्यालो फैलाउँदा भोजकुमार आँगनमा हुन्छन् । उता गाउँका अरु किसान पनि उस्तै पीडामा छन् । कसैको आलु बिग्रेको, कसैको मकै हिलाम्मे, कसैको तरकारीमा डढुवा लागेको । सँगै, बजार र मूल्यले पनि सताइरहेको छ ।

“हाम्रो पसिनालाई कसैले कदर गर्दैन”, भोजकुमारले साथीलाई भन्यो । “२ किलो गोलभेँडाले बेच्दा पनि एक कप चिया आउँदैन । यो के न्याय हो ?”

साथीले शिर हल्लायो, “के गर्ने र भोजे दाइ, सरकारलाई त हामीजस्ता किसान कहाँ देखिन्छ र ? शहरतिरका व्यापारीले जति भने पनि हामीलाई त्यहीँ मान्नुपर्छ ।”

त्यो साँझ भोजकुमारको आँखाबाट अश्रु बग्यो । उसको आँसुमा खेतमा बगाएको पसिना मिसिएको थियो । त्यो आँसु केवल उसको व्यक्तिगत पीडा थिएन, त्यो त सम्पूर्ण किसानको दुखाइ थियो ।

बालबालिका निदाइसकेका थिए । श्रीमती पनि थाकेर पल्टिएकी थिइन् । तर, भोजकुमार आँगनमा चुपचाप रोइरहेको थियो । उसको मनमा हजार प्रश्न घुम्थे, “के यो खेतीपाती छोडेर विदेश लाग्नुपर्छ ? के गाउँमा मेहनत गरेर पनि बाँच्नै नसकिने हो ?”

तर फेरि उसको हृदयले भन्यो, “यो माटोले नै हामीलाई जन्म दिएको हो । यही माटोमा पसिना हालेर बाँच्नुपर्छ ।” तर पेटले के गर्ला ? माटोले भोक मेटाइदिँदैन ।

भोलिपल्ट बिहान सबेरै भोजकुमार फेरि खेततिर लाग्यो । आँसु पुछ्यो, खोरमा गाईलाई घाँस हाल्यो । बालबालिकाको भविष्य सम्झेर उसले फेरि कोदालो हातमा समात्यो । गाउँको घाम जस्तै उसको आशा फेरि टल्कियो ।

तर त्यो साँझ, जब बजारमा पुगेको तरकारी फेरि नबेचिएर कुहिन थाल्यो, भोजकुमारको मन फेरि ढलेर आयो । गाउँको डाँडामा बसेर उसले टाढै काठमाडौंतिर हेर्दै भन्यो, “शहरका बत्तीहरू चम्किँदै छन्, तर यहाँ गाउँमा किसानका आँखामा मात्र आँसुको उज्यालो छ ।”

कुमरी गाउँको आकाशमा रातको छायाँ झर्दै थियो । त्यो साँझ फेरि भोजकुमार रोएको थियो— आफूले होइन, किसान भएर जन्मिनु पर्ने नियतिको कारण ।

ADV

सम्बन्धित खबर

Advertise