२०८२ भदौ १४ गते शनिवार / Aug 30 , 2025 , Saturday
२०८२ भदौ १४ गते शनिवार
Ads

कविता : गरिबका आँशु पुछिदिन्छ कसले ?

shivam cement
२०८२ भदौ १४ गते ०६:००
कविता : गरिबका आँशु पुछिदिन्छ कसले ?

–खिमराज गिरी

जसको धन छ, उसैको हाईहाई भएको यो समाजमा,
जसको रवाफ, उसैको कवाफ अनि फलिफाप ।
दीनदुःखी, गाँस, बास र कपासको खातिर,
जीवन जिउन वाध्य हुनेहरूको लागि बोल्दैन कोही यहाँ ।
बलेको आगो तापिदिन्छन् सबैले,
तर गरिबका आँशु पुछिदिन्छ कसले ?

भोक र पिरले तातेका करङहरू,
चिसो र रित्तो भाँडामा बजेका धुनहरू,
धनको पहाड बनेको त्यो पापी सहरभित्र,
‘मै खाउँ, मै लाउँ’को भावनाले बगेका तनहरूले,
खेद प्रकट गर्छन् कहिलेकाहीँ ती निरीह मनहरूले,
तर गरिबका आँशु पुछिदिन्छ कसले ?

खाली खुट्टाले धुलो चुम्छ, पानी अनि घामले घमाउँछ,
तर पनि पसिना बेचेर अरूको खुशी सजाउँछ ।
उसकै परिश्रममा बाँच्ने र हाँस्ने सबैले,
नाच्छन्, गाउँछन् अनि रमाउँछन्,
स्वार्थका बादलहरू मडारिइरहँदा,
तर गरिबका आँशु पुछिदिन्छ कसले ?

एकाविहानै मन्दिरमा घण्टी बज्छ,
आस्थाले बज्छ या लोक रिज्याइँले ?
धनले पोलेर या मनको डढेलोको गम्भीरताले ?
तैपनि ढोका बाहिर भिख माग्ने खाली हातहरू देख्दा,
ईश्वरले सुन्छन् या सुन्दैनन् —
तर गरिबका आँशु पुछिदिन्छ कसले ?

अपमानको ढुकुटीमा अनेक छन् यस्ता पीडाहरू,
राजनीतिक भाषणमा भने चुम्छन् आश्वासनका पोकाहरू ।
सपना जस्तै खोक्रो नारा, अनि वासनाका वाचाहरू,
विश्राम लिने ठाउँ कतै छैन गरिबको,
जताततै ढाकिएको छ अल्मलिएको गोरेटोले,
तर गरिबका आँशु पुछिदिन्छ कसले ?
तर गरिबका आँशु पुछिदिन्छ कसले ?

ADV

सम्बन्धित खबर

Advertise