२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

लघुकथा : अस्तायो च्याङ्बा...

shivam cement
२०८२ भदौ २१ गते ०६:०५
Shares
लघुकथा : अस्तायो च्याङ्बा...

–प्रदीप सेवा

उसको पनि एउटा बेग्लै अनि छुट्टै संसार छ । बेवास्ता, न धन थुपारेर महल बनाउँछु भन्ने अभिलाषा छ, न त सन्तानका निम्ति केही गर्छु भन्ने सपना ।

एक छाक त जता पनि खाइहाल्छ नि !

खोइ ! उसलाई न गर्मीको टन्टलापुर घामले नै सताउँछ, न त हिउँदको त्यो कठ्यांग्रिने चिसोले नै पिरोल्छ । कस्तो हो, उसको शरीर बाध्यतामा झेलिएको ।

गाउँघरमा सबैको प्यारो छ त्यो च्याङ्बा, आज उसकोमा काम गर्‍यो, भोलि उसकोमा भारी बोक्यो, बस ! जिन्दगी चलिरहेछ ।

ऊ सबैको प्यारो छ, केवल कामको निम्ति । एउटा कमारो बनिदिए ।

उसको नाम सबैको मुखमा छ– ए च्याङ्बा ! तर सबैले आफ्नो स्वार्थका लागि मात्रै ।

जताततै फाटेको कपडामा उसको आधा जीवन जाने भयो ।

न कसैले दया नै देखाउँछ, न त माया नै गर्छ, सहानुभूतिबाहेक ।

‘आ ! जेसुकै होस्, आफूलाई त आफ्नो काम निकाल्नुसम्म न मतलब छ,’ सायद सबैको यही मन्तव्य छ उसको प्रति ।

आफ्नो कामका निम्ति केही क्षणको माया अनि दयाको बीजारोपण गरिदिन्छ उसको मनमा, च्याङ्बा फुरुक्कै ।

मान्छे सारै सोझो हुनु पनि हुँदैन सायद ।

उसको पनि त्यही गाउँलेबाहेक आफन्त भन्ने कोही छ जस्तो लाग्दैन ।

पहिला नै आएर बसेका थिए अरे भन्नेचाहिँ सुनेको, खोइ !

आज त ठिहिरो जाडोमा नालीमा लडिरहेको रहेछ ।

सधैं सिउ सिउ गर्दै काम्ने त्यो डाँडाको चप्लेटीमा काँडै काँडा भएको शरीर सेकाउँदै गरेको देख्थें तर आज आज यो हालतमा ?

मेरो नजर अचानक त्यहाँ पुग्यो, अचल छ उसको शरीर । हिउँजस्तो चिसो भइसकेको छ ।

विचरा ! सायद रातिको त्यो कठ्यांग्रिने जाडोको ताप सहन नसकेको हुनुपर्छ ।

सकोस् पनि कसरी ? शरीरमा एक झुत्रो फाटेको कपडाबाहेक केही थिएन बा !

तर त्यो निश्चल, निर्मल, सबैको कामदारको मर्म अनि व्यथा कसले बुझ्ने ?

सबैलाई आफ्नो काम गरिदिए हुन्थ्यो भन्ने मात्र थियो ।

खोजी त भई नै बस्थ्यो, उसको केवल भरियाका निम्ति ।

एक छाक गाँसको आसमा विचराले के–कस्तो दुःख गरेन होला ?

भगवानको नियतिको अघि कसैको केही नलागेपछि सायद त्यस्तै हुँदो हो ।

आज खुसी लागेको छ, उसले यो दुखी अनि निर्दयी संसारलाई त्यागी अनन्तमा विलीन हुन पुगेछ, तर थप दुःखको कुरा चाहिँ अब गाउँमा एउटा कामदार, जसलाई सबैले ‘च्याङ्बा’ भनी सम्बोधन गर्ने गर्थे, उसको लोप भएको ।

तर मानिसलाई चिन्ता उसको होइन, अब उनीहरूको काम कसले गरिदिन्छ भन्ने फिक्रीले सताइरहेको छ ।

हे दैव ! अबको जुनी उसलाई यस्तो नदिनू है !

आज उसको गति के छ, कहाँ छ ? कसैलाई सरोकार छैन ।

उसको त्यो शरीर, जसले सधैं सबैको सेवा गर्‍यो, आज उसलाई हातसम्म लगाउने सामथ्र्य कसैमा रहेन ।

सम्बन्धित खबर