२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

त्रियुगामा नेपालकै पहिलो ‘हिलस्टेशन’ बन्ने

hardik ivf
मध्यान्ह
२०८१ माघ १२ गते १८:१७
त्रियुगामा नेपालकै पहिलो ‘हिलस्टेशन’ बन्ने

उदयपुर :  उदयपुरको त्रियुगा नगरपालिकामा नेपालको पहिलो ‘हिलस्टेशन’ बन्ने भएको छ । त्रियुगाको प्राकृतिक सौन्दर्यलाई पर्यटन विकाससँग जोड्ने उद्देश्यले त्रियुगा नगरपालिका–१४, १५, र १६ नम्बर वडामा हिलस्टेशन बन्न लागेको हो ।

माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला हिलस्टेशन निर्माणका लागि सुनिश्चित भएपछि यो बहुवर्षीय योजना सुरु भएको हो । संघीय सांसदसमेत रहेका किराँतीले हिलस्टेशनको शिलान्यास गरेका छन् ।

किराँतीले ७ वटा हिलस्टेशन निर्माण गर्ने सरकारको योजनाअन्तर्गत पहिलो हिलस्टेशन उदयपुरमा सुरु गरिएको बताए । ‍‘यो परियोजनाका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ । निर्माण कार्य सुरु भएकोमा निकै खुसी छु,‍’ उनले भने ।

उनले आफ्नो निर्वाचन क्षेत्र भोजपुरको टेम्केमा हिलस्टेशन बनाउने योजना रहे पनि उदयपुरका नेताहरूको आग्रहमा योजना यहाँ स्वीकृत गरिएको पनि बताए ।

भारतमा ब्रिटिस साम्राज्यकालमा सुरु भएको हिलस्टेशन अवधारणालाई नेपालमा पहिलो पटक लागू गरिएको उनले बताए । ‘तराई र भावरका सहर बजारका मानिसलाई गर्मी छल्न, चिसो हावापानीमा रमाउन, बस्न, खेल्न र घुमफिर गर्न सबै सुविधा उपलब्ध गराउने ठाउँ नै हिलस्टेशन हो । यो अवधारणा नेपालमा पहिलो पटक ल्याइएको र सुरुमै योजना पार्ने उदयपुरवासी भाग्यमानी पर्नुभयो,‍’ किराँतीले भने ।

त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले हिलस्टेशनले नगरका ३ वडा मात्र नभई समग्र त्रियुगालाई फाइदा पुग्ने बताए । 

हिलस्टेशन १४ र १५ नम्बर वडाको सिमानामा पर्ने बैथुम्की डाँडामा केन्द्रित हुनेछ । त्रियुगा–१६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार यस योजनाले क्षेत्रका ऐतिहासिक, पर्यटकीय, र धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धन गर्नेछ ।

निर्माणका लागि संघीय सरकारको पर्यटन विभागले चालु वर्षमा ३ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा ‘धर्तिमाता बिकेरकालिका जेभी, बालाजु काठमाडौं’ कम्पनीले लिएको छ ।

परियोजनाका लागि सरकारी तथा निजी जमिनको व्यवस्थापन, खानेपानी, विद्युत्, र सडक निर्माणमा स्थानीय तहले अग्रसरता लिनेछ । संघ तथा प्रदेश सरकारले पार्क, पिकनिक स्पट, पदमार्ग र साना सडक निर्माण हुनेछ । निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, बन्जी जम्प, साइकल ट्रेल र मनोरञ्जनमूलक खेलकुदमा लगानी गर्ने योजना छ ।

त्रियुगाको बैथुम्की डाँडालाई प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्रका रूपमा चित्रण गरिएको छ । स्थानीय शिक्षक कुमार राईका अनुसार घना जङ्गलले घेरिएको यो ठाउँ चारैतिर हरियाली र कुहिरोले ढाकिने सुन्दर वातावरणका कारण पर्यटकको रोजाइमा परेको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise