नेपालगन्ज : नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष पनि बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतबन्ध तथा उपनयन संस्कार) कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम यही माघ २० र २१ ग्तेका दिन पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा आयोजना गर्न लागेको हो ।
बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्रकुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको विधिवतरुपमा हुने उक्त अनिवार्य संस्कारमा पश्चिम नेपालका धेरै जिल्लाहरुबाट नेवार समुदायका बालबालिकाहरुको सहभागिता हुँदै आएको छ ।
नेवाः पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवाः देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः पुचः, भृकुटी नगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, राँझा गुठी, भीमसेन गुठी कोहलपुर लगायतको सहकार्यमा हुने उक्त संस्कार कर्ममा पचास जनाभन्दा बढी बालक तथा बालिकाहरु सहभागी हुने अनुमान गरिएको छ ।
उक्त कार्यक्रमको तयारीका लागि प्रचार प्रसार उपसमितिको संयोजकमा सचिव विवेक श्रेष्ठ तथा अन्य उपसमितिमा उपाध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, शीला श्रेष्ठ लगायत रहेका छन् ।
नेवार समुदायमा अनिवार्य संस्कारको लिइने सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतबन्ध तथा उपनयन संस्कार) का लागि बाँके र छिमेकी जिल्लाहरुबाट नेवाः पुचः स्थापना हुनुपूर्व यस भेगमा विधिवत पूजा गर्ने पुजारी नपाइने भएकाले काठमाडौं, बुटवल, पाल्पामा जानुपर्ने बाध्यता भएको नेवाः पुचः बाँकेका पार्षद् पूर्णलाल चुकेले बताए । यस वर्ष पनि काठमाडौंबाट राजोपाध्याय समाजका अध्यक्ष संजय राजोपाध्याय र अर्का एक जना पुजारी आउने निश्चित भएको नेवाः पुचः बाँकेका अध्यक्ष जोशीले जानकारी दिए ।
नेपालका आदिवासी जनजातिहरूमध्ये पृथक अर्थात् विशिष्ट खालका संस्कृति, संस्कार रहेको नेवार जातिको ‘नेवार’ शब्दको अर्थ ‘नेपालका बासिन्दा’ भन्ने हुन्छ । नेपाल देशसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको नेवार जातिको आफ्नै भाषा, लिपि, सम्वत्, संस्कार र संस्कृतिहरू छन् ।
सात वर्ष भएपछि बालिकाको बेललाई साक्षी राखेर सिन्दुर हाल्ने बेलविवाह संस्कार (ईही) संस्कार प्राचीनकालदेखि चलिआएको मानिन्छ । ‘ईही’ को अर्थ ‘विवाह’ हो । यसले नेवार महिलाहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ । ईही एउटा समारोह हो, जसमा किशोरावस्थाका बालिकाहरूलाई भगवान विष्णुको प्रतीक सुवर्ण कुमारसँग विवाह गरिन्छ । त्यसैले विवाहित महिलाको श्रीमानको मृत्यु भएमा विष्णुसँग विवाह गरिसकेकी हुनाले विधवा मानिँदैन र यसरी पहिलेदेखि नै पति जीवित रहेको विश्वास गरिन्छ ।
त्यसैगरी नेवार समुदायका बालक अर्थात् बटुकका लागि गरिने अनिवार्य संस्कार ब्रतबन्धलाई ‘कय्ता पूजा’ भनिन्छ । ‘कय्ता’ को अर्थ लगौँटी हुन्छ । लगौँटीलाई विधिवत् पूजा गरेर बटुक अर्थात् बालकलाई लाज छोप्न सिकाइन्छ । बालकका फुपुहरूले सात टुक्रा कपडा जोडेर सिलाएको लगौँटीले सातै लोकमा आफ्नो लाज जोगाउनु भन्ने सन्देश दिन खोजेको आभास हुन्छ । यो संस्कारमा बालकको मामा र फुपुको प्रमुख भूमिका रहेको हुन्छ ।