नेपालगन्ज : नेवार समुदायको संस्कार अनुसार आज विधिवत रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुको सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
नेवा पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष वसन्त पञ्चामीको अवसर पारेर सोमबार पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्यतापूर्वक सामूहिक बेल विवाह र व्रतबन्ध सम्पन्न गरिएको हो ।
बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवा पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको अनिवार्य संस्कार मानिने बेल विवाह विधिवतरुपमा आइतबार सुरु गरी सोमबार सम्पन्न गरिएको हो । सामूहिक बेल विवाह र व्रतबन्धमा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाडौंका १२ जना बालिकाहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी हिन्दु धर्मावलम्वीहरुको अनिवार्य संस्कारको रुपमा मानिने व्रतबन्ध कार्यक्रममा ७ जना बालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा करीब ३ सय जनाको उपस्थिति रहेको थियो ।
नेवा पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवा देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः देय् दवूः, भृकुटीनगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, राँझा गुठी, भीमसेन गुठी कोहलपुर लगायतको सहकार्यमा सम्पन्न सो कार्यक्रममा काठमाडौंबाट आएका नेवाः व्राम्हण मूल गुरु विजय राजोपाध्याय र अर्का गुरु विरु राजोपाध्यायबाट दुई दिनसम्म नेवारी संकार र परम्परा अनुसार विधिवत रुपमा गरिएको थियो । मूल गुरु विजय राजोपाध्याय नेवाः देय् दवूका केन्द्रीय सचिव हुन् ।
उक्त कार्यक्रम सफल पार्नका लागि अध्यक्ष जीतेन्द्र कुमार जोशी, संयोजक चन्द्र बहादु श्रेष्ठ, उपाध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, सचिव विवेक श्रेष्ठलगायत समितिका सदस्यहरु सक्रियता रहेको थियो ।
नेवा पुचः बाँकेका पार्षद् पूर्णलाल चुकेले नेवार समुदायमा अनिवार्य संस्कारको रुपमा लिइने सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) का लागि बाँके र छिमेकी जिल्लाहरुबाट नेवा पुचः स्थापना हुनुपूर्व यस भेगमा विधिवत पूजा गर्ने पुजारी नपाइने भएकाले काठमाडौं, बुटवल, पाल्पामा जानुपर्ने बाध्यता भएकाले नेवा पुचःले नेपालगन्जमा यसरी सामुहिक कार्यक्रमको आयोजना गर्न थालेको बताए ।
वरिष्ठ पत्रकार नेवा पुचः बाँकेका पार्षद् चुकेले भने– 'नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये पृथक र विशिष्ट खालका संस्कृति, संस्कार रहेको नेवार जातिको नेवार शब्दको अर्थ नेपालका बासिन्दा भन्ने हुनाले नेपाल देशसँग पनि यस जातिको प्रत्येक्ष परोक्ष सम्बन्ध रहेको छ । नेवार जातिको आफ्नै भाषा, लिपि, सम्वत्, संस्कार र संस्कृतिहरू छन् भने व्राम्हणदेखि सरसफाइ गर्ने (स्वीपर) अलग अलग जातिहरु छन् ।
सात वर्ष भएपछि बालिकाको बेललाई साक्षी राखेर सिन्दुर हालिने बेलविवाह संस्कार (ईही) संस्कार प्राचीनकालदेखि चलिआएको छ । नेवारी भाषामा ‘ईही’ को अर्थ ‘विवाह’ हो । यो संस्कारले नेवार महिलाहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ । ईही एउटा समारोह हो, जसमा किशोरावस्थाका वालिकाहरूलाई भगवान विष्णुको प्रतीक सुवर्ण कुमारसँग विवाह गरिन्छ । त्यसैले विवाहित महिलाको श्रीमानको मृत्यु भएमा विष्णुसँग विवाह गरिसकेकी हुनाले विधवा मानिँदैन र यसरी पहिलेदेखि नै पति जीवित रहेको विश्वास गरिन्छ ।
त्यसैगरी नेवार समुदायका बालक अर्थात् बटुकका लागि गरिने अनिवार्य संस्कार व्रतबन्धलाई ‘कय्ता पूजा’ भनिन्छ । ‘कय्ता’ को अर्थ लगौँटी हुन्छ । लगौँटीलाई विधिवत् पूजा गरेर बटुक अर्थात् बालकलाई लाज छोप्न सिकाइन्छ । बालकका फुपूहरूले सात टुक्रा कपडा जोडेर सिलाएको लगौँटीले सातै लोकमा आफ्नो लाज जोगाउनु भन्ने सन्देश दिन खोजेको आभास हुन्छ । यो संस्कारमा बालकको मामा र फुपुको प्रमुख भूमिका रहेको हुन्छ ।
नेवार समुदायमा व्रतबन्ध (कय्ता पूजा) को बारेमा ऋग्वेद (ब्रम्ह गायत्री मन्त्र) र ऋग्वेद (शिव गायत्री मन्त्र) मा उल्लेख भए अनुसार नेवारहरूले ब्रह्मचर्यको अनुष्ठान पालनको रूपमा कयेता पूजा भनिने उपनयन समारोह गर्छन्, यो जीवनको परम्परागत चार चरणहरूमा पहिलो चरण हो । अनुष्ठानको समयमा, जवान केटाले ब्रह्मचारी धार्मिक जीवनको लागि परिवार र वंश त्याग्छ । उसको टाउको माथिको टुप्पी बाहेक पूरै खौरिइन्छ, उसले पहेँलो÷सुन्तला रंगको लुगा लगाउनु पर्छ, उसले आफ्ना आफन्तहरूबाट चामल मागेर संसारमा घुम्न तयार हुनुपर्छ ।
यो तपस्वी आदर्शलाई प्रतीकात्मक रूपमा पूरा गरिसकेपछि, उसलाई आफ्नो परिवारले घरधनीको जीवन, पति र पिताको रूपमा अन्तिम कर्तव्य ग्रहण गर्न फिर्ता बोलाउन सक्छ । दुई पटक जन्मेका (ब्राह्मण र क्षेत्रीय) नेवारहरू राजोपाध्याय र छ थरिया नेवार ब्राह्मणहरूले थप रूपमा उपनयन दीक्षा गर्छन् जहाँ केटाले आफ्नो जनै (संस्कृतः यज्ञोपवित) र गुप्त वैदिक मन्त्रहरू प्राप्त गर्दछन् । त्यसपछि केटालाई पूर्ण रूपमा द्विजको रूपमा आफ्नो जातिय हैसियतमा सम्मिलित गरिन्छ र अबदेखि सबै सामान्य नियमहरू र अन्य जातीय दायित्वहरू पालन गर्ने दायित्व तथा कर्म चलेको मानिन्छ ।