काठमाडौं : चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेसँगै अब नेपाली उद्योगीहरूले उत्पादन गर्ने चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावानीमूलक चित्र र शन्देश छाप्नुपर्ने भएको हो ।
निर्देशिकाअनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरूमा मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश छाप्नुपर्ने हुन्छ । यसअघि भने सो भागमा ९० प्रतिशत मात्रै चेतावनीमूलक चित्र र शन्देश छाप्ने व्यवस्था थियो ।
निर्देशिकाअनुसार चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्ननुपर्ने हुन्छ । निर्देशिकाले चुरोटको लागि ६ वटा घातक फोटो स्वीकृत गरेको छ भने बिडीको बट्टाको लागि २ वटा फोटो स्वीकृत गरेको छ ।
‘उत्पादक लगायत कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तिजन्य पदार्थको प्रवद्र्धन हुने गरी कुनै सन्देश, सामग्री, रंग, चित्र आदि राखेर प्याकेजिङ वा लेबल गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार उत्पादकले अबको ६ महिनाभित्र बजारमा रहेका ९० प्रतिशत चेतावनीयुक्त प्याकेट तथा प्याकेजहरू हटाइसक्नुपर्नेछ । यो निर्देशिका पारित भएको मितिले १८० दिनपछि लागू हुने उल्लेख छ ।
नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांक छ । नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।
सरकारले चुरोट तथा बिडीमा चेतावनीमूलक सामग्री छाप्नेसम्बन्धी गरेको व्यवस्थामा भने सम्बन्धित नेपाली उद्योगीले असहमति जनाएका छन् । उनीहरूले केही गैरसरकारी संस्थाको आवाज सुनेर सरकारले सो निर्णय गरेको भन्दै सरकारले गरेको निर्णयले स्वदेशी उद्योगीलाई अप्ठ्यारोमा पार्ने उनीहरूको भनाइ छ ।